मानवशास्त्र र संस्कृति

0

पवन सुवेदी गैडाकोट नगरपालिका १, नवलपरासी


मानवशास्त्रमा मानवको उत्पत्ति,उद्विकास र उसले सिर्जना गरेका संस्कृतिको विकासको अध्ययन पाउन सकिन्छ । मानवशास्त्र मानव र उसका व्यवहारहरुको अध्ययनका सबै विधामा सबैभन्दा धेरै विस्तृत रुपमा विश्लेषण गरिएको व्यापक विधा हो । अर्थात मानवका समग्र पक्षको अध्ययन गर्ने विज्ञानलाई मानवशास्त्र भनि बुझिन्छ । त्यही मानवको विकासको क्रममा विकास भएका प्राचीन सांस्कृतिक इतिहास र तिनको अध्ययन प्रागैतिहासिक संस्कृतिमा गरिन्छ । मानवशास्त्रले मानवको उद्विकास र अवस्थाका बारेमा अध्ययन गर्दछ भने प्रागइतिहासले मानव पशुको रुपबाट मानवको रुपमा परिर्वतन भएदेखि लेखन कलाको विकास नगरे सम्मको बीचको समयावधिलाई इङ्गित गर्दछ । जुन बेलाबाट मानवले आफ्नो भाषाको विकास गरि लेखन र पठन कार्यलाई महत्व दिन थाले त्यसपछि मानवले आफ्ना विकसित भएका संस्कृतिलाई लेखनको माध्यमबाट शब्दमा इतिहास लेख्न सुरु गरे । मानवमा साक्षरताको विकासले इतिहास लेखनको उदय गरायो । मानवको स्वभावबाट नै प्रष्ट हुन्छ की मानव सामाजिक प्राणी हो भन्ने भनाई व्यक्त गर्ने पहिला व्यक्ति अरस्तु(३८४ देखि ३२२ बिसि) थिए । उहाँले नै सर्वप्रथम मानवशास्त्री शब्दको प्रयोग गर्नुभएको थियो । मानवशास्त्रले मानवको उद्विकास,विभिन्नता र उसले विकास गरेका संस्कृतिहरुको गहन रुपमा अध्ययन गर्दछ । मानवशास्त्रको केन्द्रिय विषयवस्तु संस्कृति हो भने समाजशास्त्रको समाज हो । एकल व्यक्ति निरिह हुन्छ र आँफु बाँच्नको लागि समाजको निर्माण गर्नमा अग्रसर हुन्छ । मानवशास्त्री हर्बट स्पेन्सर भन्नु हुन्छ – “समाज सदैव सामान्यबाट जटिलता तर्फ उन्मुख रहन्छ ।”
मानवशास्त्र विषय अहिले पनि मानवको संस्कृति र संस्कार प्रति जति संवेदनशील छ त्यति नै उसले आफ्नो विकासको दौरानमा आविष्कार गरेका औजारहरुको प्राचीनतम संस्कृतिको अध्ययनमा प्रागैतिहासिक संस्कृतिको अध्ययन पनि उत्तीकै संवेदनशील छ । प्रागइतिहास भनेको विगतका घट्नाको तिथि,मिति र विवरणहरुको विवेचना गर्नु हो । प्रागैतिहासिक संस्कृतिको प्रकृति र क्षेत्र भन्नु नै मानव र उसका सम्पूर्ण क्रियाकलाप (सामाजिक,सांस्कृतिक) हरुलाई मुख्य तहस् तीन भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ जसअनुसार प्रागैतिहासिक,आद्यैतिहासिक र ऐतिहासिक काल रहेका छन । प्रागैतिहासिक संस्कृतिले धेरै क्षेत्रहरुमा आफ्नो अध्ययनलाई केन्द्रिकृत गर्ने सामथ्र्यता राखेको हुन्छ । जसमा पृथ्वीको सतह,सतहभन्दा मुनि पाइने र पाइएका विभिन्न भग्नावशेष अवशेषहरु,प्रयोगमा आएका प्राचिन औजारहरु,गुफा,भोजन लगाएत सम्पत्ति भण्डार कक्ष अर्थात खाल्डाहरु आदि पर्दछन् । मानव उद्विकासको क्रममा मानवको शारीरिक अवस्था सामान्यबाट जटिलतातर्फ विकास हुँदा शारीरिक संरचनामा आएको परिवर्तनले गर्दा आजको यस अवस्थामा मानवको शारीरिक परिवर्तनका साथै चेतनशील दिमाग,स्पष्ट भाषा र संस्कृतिको विकास भएको,सजिलै निरन्तर दुई पाउले हिँडन सक्ने अन्य पशुपंक्षी भन्दा विशिष्ट र उच्च स्थानमा रहेको पाउन सकिन्छ । मानवको शारीरिक र सांस्कृतिक विकासमा धेरै महत्वपूर्ण चरणहरु पार भएर आए र हालको विकसित मेधावी मानव सम्म आइपुग्यो । धेरै मानवशास्त्रीहरुले मानवको मस्तिष्कको आकार बढनुमा वातावरणीय प्रभाव र प्राकृतिक छनौटलाई आत्मसाथ गरेका छन भने केहीको तर्क अलि फरक छ जसअनुसार युद्ध,शिकार,लामो जीवन र भाषाको कारणले मानवको मस्तिष्कको आकारमा वृद्धि भएको हो भनेका छन् । भौगर्भिक समय तालिका अनुसार,नवजीव महाकल्प ६ करोड ५० लाख वर्षअघि देखि हालसम्मलाई मानिएको छ । यसै अवधिको अतिनूतन कालदेखि मानवको उत्पत्ति भएको मानिन्छ जुन ५० लाख वर्ष अघिदेखि १८ लाख वर्ष अघिसम्मलाई मानिएको छ । नवजीवन महाकल्पको चतुर्थ युगमा अधिकनुतन र आधुनिक काल रहेका छन । जसमा अधिकनुतन काल १८ लाख वर्ष अघिदेखि ५ लाख वर्ष अघिसम्मलाई मानिएको छ जुनबेला पाषाणकालीन मानव,ठुल्ठुला भुत्ले हात्तीहरुको प्रादुर्भाव भएको थियो । आधुनिक काल जुन ५ लाख वर्ष अघिदेखि हालसम्मलाई मान्दै आइएको छ । यसबेला विकसित मानव,धेरै प्रकारका स्तनधारीय जनावरको विकास र प्रादुर्भाव भएको साथै विकसित मानवको प्रभुत्व पनि यसै कालमा नै कायम भएको हो ।
मानवशास्त्रमा संस्कृतिको प्रथम पटक विश्वव्यापी परिभाषा दिँदै मानवशास्त्री ई बी टेलर भन्नुहुन्छ—“संस्कृति एक यस्तो जटिल समग्रता हो जसमा ज्ञान,विश्वास,कला,संस्कार,कानुन,प्रथा,परम्परा र अन्य क्षमता र आदतहरु समावेश भएका हुन्छन जुन मानवले समाजको एक सदस्य हुनुको नाताले प्राप्त गरेका हुन्छन ।” प्राचिन मानवले छोडेर गएका अवशेषका रुपमा रहेका औजारहरु नै प्रागैतिहासिक संस्कृति अध्ययनका महत्वपुर्ण दस्तावेज र प्रमाण हुन । संस्कृतिको विकासमा सर्वप्रथम होमो इर्रेक्टस मानवले आगोको नियन्त्रण गर्न सिकेको कुरा इतिहासमा पाउन सकिन्छ । त्यस्तै आजभन्दा ३०,००० देखि १२,००० वर्ष अघि मानवले कृषिको आविष्कार गरेको मानिएको छ । धेरै मानवशास्त्रीहरुले कृषिको विकास हुनुको प्रमुख कारण जनसंख्या वृद्धि र बढीरहेका यिनका आवश्यकतालाई मानेका छन जसले गर्दा संस्कृतिको जन्म र विकास तीव्र हुन पुग्यो । झन्डै ११,००० वर्ष अघिदेखि मानव शिकारबाट प्राप्त खानेकुराको चलनलाई त्याग्दै घुमन्ते र फिरन्ते जीवनयापनलाई विस्तारै स्थायी जीवन पद्धतिलाई अपनाउँदै कृषि र पशुपालनको युगमा प्रवेश गरे । यिनको स्थायित्वले मानवीय संस्कृति र सभ्यताको विकास गर्नमा महत्वपूर्ण योगदान दियो । हामी आज जसरी जलवायु परिवर्तनको समस्यालाई झेल्दै आएका छौं यो आजभन्दा ७५ हजार वर्ष अगाडि पनि भएको इतिहासमा पाउन सकिन्छ ।
तसर्थ आजका हाम्रा विकसित संस्कृतिको मुख्य आधार नै विगतका संस्कृतिको देन हो । मानव सामाजिक प्राणी हुनुका साथै संस्कृतिको एउटा सृष्टिकर्ता हो । मानव समाज र संस्कृतिको आधार पात्र हो । मानवद्धारा नै समाज बन्छ र समाजभित्र नै मानव रहन्छन । त्यसैले मानवले आफ्नो विकासको क्रममा संस्कार,व्यवहार,प्रविधि,परम्परा,सामाजिक,सांस्कृतिक आदि धेरै प्रतिभाहरुको विकास गरेको छ । मानवशास्त्रले मानव एवं यिनका समाज र संस्कृतिको वैज्ञानिक तरिकाले अध्ययन गर्ने क्षमता राख्दछ । मानवशास्त्रको सम्बन्ध प्रत्येक युग र समाजका मानवसँग रहेको हुन्छ । यसले सरल,असभ्य समाज र संस्कृतिको पनि अध्ययन गर्दछ । निरन्तर मानवीय परिवर्तन,मानव सामान्यबाट जटिलतामा पार गरेको अवस्था,आस्था सँगै विश्वासबाट जन्मिएका अनेकौं विचार तथा संस्कृतिको थलोका रुपमा मानवशास्त्रलाई उभ्याउन सकिन्छ । त्यसैले त यसको विकासमा सिद्धान्त एवं विभिन्न विचारधाराहरुको विकास भएको पाईन्छ । हरेक मानवले प्रकृतिबाट आफ्ना आवश्यकता पूर्ति गर्नमा र आफ्ना संस्कारलाई पूर्णता दिन संस्कृतिको व्यापक उपयोग गरिरहेका हुन्छन । नेपालमा हालको समयमा विभिन्न क्षेत्रमा यो विषयको ज्ञानको अभावले गर्दा मानवशास्त्र विषय अध्ययन पूरा गरेर रहनु भएका दक्ष युवा वर्गलाई विकास र मानव अनुसन्धानमा लाग्नबाट बञ्चित गरिएको तितो यथार्थ हाम्रा सामु जीवितै रहेको छ । यि युवाहरुको व्यवस्थापनमा राज्यपक्ष र गैरसरकारी क्षेत्रले पनि यिनलाइ्र्र सिरोधार्य गर्न छिटो भन्दा छिटो पहल कदम अगाडि सार्नु आवश्यक छ । कुनै पक्षबाट पनि अनुत्तरदायि भइरहेको यस घडिमा कुशल र दक्ष युवा निराश भई विदेश पलायन भएको अवस्थालाई बेलैमा रोक्न सक्ने क्षमता देखाउन सक्नुपर्दछ । यस्तो परिवेशलाई रोक्न अबपनि अनुभव र विभिन्न बहाना बाजीमा अनुत्तरदायि भूमिका देखाउन खोज्नु परिवर्तन र विकास गर्छु भन्नेहरुका लागि गम्भिर समस्या र चुनौती सामुन्नेमा छ । कुनैपनि क्षेत्रले परिवर्तन र विकासको क्रमलाई अगाडि लैजान इच्छा र लगावलाई जोड्न आवश्यक छ न की अनुभवको पर्खाल बिचमा राखेर विकास र अनुसन्धानमा हामी फड्को मार्न सक्छौं भनी भाषण गर्नु अत्युत्ति नहोला । मानवशास्त्र संस्कृतिसँगै जोडिएको हुनाले धर्म,रीतिरिवाज,प्रथा,परम्परा,संस्कार,सामाजिक नीतिनियमबाट कत्ति पनि टाढा रहन सक्दैन जसरी धर्म र संस्कारलाई विश्वासका आधारमा पूर्ण रुपमा मानिन्छ त्यसरी नै मानवशास्त्रलाई पनि हामीले मानवको विकास र संस्कृतिको अमूल्य अङ्ग सबै क्षेत्रले मान्नुपर्दछ । तब यो विषय हाम्रो समाजको कति मुल्यवान रहेछ भनी सबैले बुझ्न र मनन गर्न सक्छौं ।

 

Share.

Leave A Reply