भुजेल गाउँको व्यथा,चालीस घर, चार शौचालय/ गाउँबासी जंगलमा दिसापिसाब गर्दै

0


श्रीधर उपाध्याय÷पवित्रा पराजुली, गैँडाकोट, २२ पौष ।

गैँडाकोट नगरपालिकाको वाड नं. ३ भुजेल गाउँमा करिब ४० घरपरिवार रहेका छन् । भुजेल गाउँमा शौचालयको समस्या छ । चार जनाको घरमा मात्रै शौचालय रहेको छ । अधिकांश गाउँबासी जंगलमा दिसापिसाब गर्ने गरेका छन् ।
भुजेलका बासिन्दाको आर्थिक अवस्था कमजोर छ । जेनतेन शौचालय बनाए पनि पानीविनाको शौचालयको अर्थ देख्दैनन् स्थानीय । खानेपानी लिन एकाध घण्टा हिँडेर कुवामा जानुपर्ने समस्या छ । खानेपानीसमेत सापटी मागेर खाने गरेका छन् ।

साविक गाविस छँदै गैँडाकोट खुल्ला दिसामुक्त भएको थियो । तत्कालीन समयमा केही थान रिङ र प्यान वितरण गरिएको थियो । केही अस्थायी प्रकृतिको शौचालय निर्माण गरिएको थियो । जुन हावाहुरीका अघि धेरै समय टिकेन । पानी नहुँदा पनि शौचालय बनाउने कामले निरन्तरता नपाएको वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।
भुजेल गाउँ खानेपानी योजनाअन्तर्गत मोटरले पानी तानेर खानेपानीको वितरण गरिएको थियो । अहिले मोटर बिग्रँदा पानी वितरणमा समस्या आएको तिवारीले बताउनुभयो । यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको स्थानीयको गुनासो रहेको छ ।

स्थानीय सुस्मा भुजेललाई गाउँमा शौचालय नहुँदा समस्या भएको बताउनुहुन्छ । भुजेल भन्नुहुन्छ “शौचालय नै छैन । करिब ४० घर धुरी छ । ४ घरको मात्र शौचालय छ । अरु सबै जंगलतिर दिसापिसाब गर्न जान्छन् । इट्टा छैन । बालुवा छैन । काठपात छैन । सामुदायिक वनले काठ दिँदैन । बनाउन सक्नेले बनाए । हामी गरिबले कसरी बनाउने ?” शौचालय नहुँदा हुने स्वास्थ्यका समस्याका बारेमा समेत सुस्मा राम्रै जानकार हुनुहुन्छ “रोगहरु लाग्छ । झाडापखाला लागिरहेको छ । यो गाउँमा प्रायः जसो सबै बिरामी हुन्छन् ।”

४८ वर्षकी गोरीमाया रानामगरलाई घरमा शौचालय नहुँदा जंगल जान डर लाग्छ । उहाँ भन्नुहुन्छ “बाघको पनि डर छ । तर के गर्नु शौच आएपछि जानै प¥यो । बाध्यता हो । अहिलेसम्म वन्यजन्तुको सामना गर्नुपरेको छैन । रोग त कति लाग्छ लाग्छ । झाडापखाला लाग्छ । पेट दुख्ने समस्या हुने गरेको छ । समस्या छ तर पैसा नभएपछि कसरी बनाउने, डोको नाङ्लो बनाएर खानै मात्र ठीक छ । पानी नहुँदा पनि शौचालय बनाउन सकेका छैनाँै । पानीको समस्या छ । खोलामा पुगेर पानी लिएर आउन एक घण्टा लाग्छ । पानी भइदिए चर्पी बनाउन हुन्थ्यो । पानी छैन, चर्पी बनाएर पनि के गर्नु ?”

स्थानीय भुन्टमायालाई पनि शौचालय बनाउन मन छ तर धन नभएपछि मन भएर मात्र केही नहुने उहाँको भनाइ छ । दश वर्षदेखि गाउँमा बस्दै आएका टेकबहादुर रानाले मिस्त्री काम गर्नुहुन्छ । मिस्त्री काम गरेर आएको पैसा घरखर्च धान्न ठीक हुन्छ । शौचालय बनाउनु गाह्रो छ । जोहो गरेर बनाउँथे होला तर पानी छैन । पानी नभएपछि बनाएर मात्र के गर्नु ? रिंग पनि छैन । ब्लक छैन । शौचालय नभए पनि ठूलो जंगलको क्षेत्र छ खासै चिन्ता नभएको रानाको बुझाइ छ ।

२२ वर्षकी अलिसा भुजेललाई भने शौचालय नहुँदा अप्ठ्ेरो हुने गरेको बताउनुहुन्छ । भुजेललाई शौचालय छ भन्ने प्रश्नमा अप्ठेरो मान्दै भन्नुभयो “शौचालय छ” । साँच्ची छ ? भन्ने प्रश्नमा हाँस्दै भन्नुभयो “अहिले छैन । हिानै उठेर जंगल जाने गर्दछौँ ।” शौचालयका लागि नगरका तर्फबाट सहयोगको आवश्यकता रहेको अलिसाले बताउनुभयो ।
अर्की स्थानीय धनमायाले लामो श्वास फेर्दै समस्या धेरै भएको बताउनुभयो “पानीको समस्या छ । शौचालय बनाउन सकेको छैन । बाटोको समस्या छ । सिमेन्ट, ढुंगा, बालुवा किन्न सक्दैन, कहाँबाट शौचालय बनाउनु । दिशा पिसाबका लागि शौचालय चाहिन्छ । अब बल्ल बनाउन पर्दछ जस्तो लागेको छ ।”

देवघाट गाउँपालिका वाड नं. ४ का प्रेम भुजेलले वन्यजन्तुले फोहोर गरेको पानी पिउने बाध्यताले स्वास्थ्यको समस्या भएको बताउनुभयो । “पानीको समस्या छ । मोटर किनेर ल्याएको छ । तर राम्ररी काम गर्दैन । जनताका समस्यामा सम्बोधन हुन सकेको छैन । धारामा पानी आउँदैन । कुकुरले चाटेको पानी खानुपर्ने बाध्यता रहेको छ । वन्यजन्तुले खाएको पानी खाँदा रोग त अवश्य लाग्छ नै ।”
डालो बुनेर बस्नुभएकी जमुना भुजेल साविक गाविस हुँदै शौचालयका लागि तीन वटा रिङ पाएको बताउनुभयो । रिङ पाए पनि गाउँमा पर्याप्त पानी नहुँदा प्रभावकारी हुन नसकेको जमुनाले बताउनुभयो । उहाँले समस्यालाई चिन्तित शैलीमा भन्नुभयो “शौचालय छैन । तीनवटा रिङ दिएको थियो । यतिले मात्र के हुन्छ र । जंगलमा जान गाह्रो हुन्छ । गाह्रो भएको छ । बाध्यता हो ।”

पानी नहुँदा सबैभन्दा बढी समस्या महिलालाई हुने गरेको महिलाहरु बताउँछन् । पानीको पर्याप्त सुविधा नहुँदा बिर्चिमाया भुजेललाई पनि अरुलाई जस्तै समस्या परेको छ । उहाँ भन्नुहुन्छ “पानीको समस्या छ । कुवामा जम्मा भएको पानी खानुपर्ने समस्या छ । रोग लाग्दछ नै तर के गर्नु बाध्यता हो । लुगा धुन जयश्री खोला पुग्छु, कहिले कुन खोला पुग्छु ।

पानी खान पनि सापटी माग्नुपर्दछ । एक अम्खरा पानी खान पनि सापटी माग्नुपर्दछ । पानी धारामा ल्याइदिए हुन्छ भन्ने आशा छ । शौचालय छैन, सबै जंगलै जंगल भाग्ने हो, पैसा छैन कसरी बनाउने ?”

भुजेल गाउँको शौचालय र खानेपानी दुबै प्रमुख समस्या भएको वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । विजय खबर पत्रिकासँग कुरा गर्दै तिवारीले भुजेल गाउँमा सबैभन्दा पहिले खानेपानीको समस्यालाई समाधान गर्नुपर्ने र त्यही अनुसार हामी लागिरहेको बताउनुभयो । गाउँमा पर्याप्त खानेपानी पु¥याउन सक्याँै भने शौचालयको पनि समस्या समाधान हुने तिवारीको विश्वास रहेको छ । गाउँमा शौचालय निर्माण अभियानका लागि यसवर्ष कुनै पनि शीर्षकमा बजेट भने छुट्टिएको छैन ।
गैँडाकोट नगरपालिका सरसफाइ र खानेपानीका क्षेत्रमा जति संवेदनशील हुनुपर्ने हो, त्यो संवेदनशीलता अनुसार अघि नबढेको सरसफाइ स्वच्छता समन्वय समिति (वास) संयोजक गीता गौतमले बताउनुभयो । प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइका लागि धेरै कार्यक्रमहरु छन्, यसका लागि नगरले पहल गर्नु आवश्यक छ । यसतर्फ नगरले बढी तदारुकता देखाउनु आवश्यक भएको गौतमको भनाइ छ ।
गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैँडाकोट ३ को पानीको समस्या समाधानका लागि नगर लागिपरेको बताउनुभयो । पौडेलले भन्नुभयो “प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ । हामीले नगरपालिकाबाट पनि केही बजेट विनियोजन गरेका छाँै । यसको दीर्घकालीन समस्या समाधानका लागि एउटा डिपिआर गरेर काम अघि बढ्नेछ ।

रतनपुर पारिपट्टिको डाँडाबाट तीन इन्चको पानी सप्लाइ गर्ने योजना छ । अहिले तत्कालका लागि कालिगण्डकीबाट लिÇट सिस्टमका माध्यमबाट पानी ल्याएर समाधान निकाल्ने सोच बनाएर अघि बढेका छाँै । प्रदेश सरकारबाट करिब ४० लाख छुट्टिएको छ । दीर्घकालीन समस्या समाधानका लागि केन्द्रस्तरीय बजेटको आवश्यकता पर्दछ । अहिले समस्या समाधानका लागि प्रदेश र नगरको बजेटले पुग्छ । छिट्टै त्यहाँका स्थानीयले पानी उपभोग गर्न पाउँछन् ।”

Share.

Leave A Reply