भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१, टिका लगाउँदा कुन दिशामा फर्कने

0


नवलपुर, ३ कार्तिक । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर ५१ मिनेट जाँदा रहेको जनाएको छ ।
यमपञ्चकको चौथो दिनः आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चागं निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।
तिहारको शुभकामना
तिहारको यस पुनित अवसरमा विजय एफ एम र विजय खबरको संचालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले पनि स्रोताआफन्तमा शुभकामना सन्देश सार्वजनिक गरेको छ । सहकारीका अध्यक्ष गोपीनाथ खरेलले शुभकामना सन्देश जारी गर्दै स्रोता आफन्त, विज्ञापनदाता, व्यवसायि मित्र, सहकार्यमा रहेका संघसंस्था, संचालक समिति तथा कर्मचारीहरुमा सुख शान्ति र समृद्धिका साथ दाजु तथा दिदिबहीनीको सम्बन्ध प्रगाढ बनोस् भनि शुभकामना व्यक्त गर्नुभएको छ ।
विजय मुख्य खबर आज र भोली बन्द
यस्तै सुने जितिन्छ विजय एफ एम १०१.६ बाट प्रसारण हुने विजयमुख्य खबर आज र भोली प्रसारण नहुने भएको छ । दीपावलीको यस सन्दर्भमा आज र भोली प्रसारण गर्न असमर्थ रहेको विजय मुख्यखबरबाट पर्न गएको असुविधा प्रति रेडियो क्षमा प्रार्थी समेत रहेको छ । विहान साढे ५ बजेको विजयखबर, साढे ६ बजेको विजय खबर र साँझ ७ बजेको विजय खबर भने प्रसारण हुने छन् । अन्य समाचार बुलेटिन पनि यथा समयमा प्रसारण हुने छन् । आज र भोली प्रसारण गर्न असमर्थ रहेको विजयमुख्य खबर तिहारको भोली पल्टबाट भने नियमित रुपमा प्रसारण हुने छ ।
तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउदै
तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संबतको नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् । म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ । मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ । मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ । त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ । म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन् । सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ । यो पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ । यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ । नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ । स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आएपनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ । सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिन्छ। मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् भनी यो पूजा गरिन्छ । म्हःपूजाको दिन नेपाल संवत् शुरु हुने दिन पनि हो । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधीले नसताओस् र शरीर सधैँ तन्दुरुस्त होस् भन्ने कामनाले पनि म्हःपूजा गर्ने प्रचलन शुरु भएको हो । आज देखि नेपाल सम्बत ११३८ शुरू भएको हो ।

Share.

Leave A Reply