भरतपुर १७ लगौँटामा श्रीमद्भागवत धनधान्याचल महायज्ञ हुने

0

कम्युनिष्ट सरकार, पैसाको लोभमा क्रिस्चियानिटि बढाउँदैछ – काँग्रेस नेता पौडेल
शरदपुर, १५ मंसिर । भरतपुर १७ लगौँटामा रहेको मनकामना माइ मन्दिर धनेश्वर शिवालयको प्राङ्गणमा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०७५ हुने भएको छ । शनिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा धार्मिक महोत्सव माघ ११ गते देखि १७ गतेसम्म हुने जानकारी दिइएको छ । मन्दिर परिसरमा मुक्तिनाथ धाममा रहेको जस्तै १०८ गौधारा, मन्दिर परिसरमा सत्संग स्थल निर्माण गरिने महायज्ञ आयोजक समितिले जानकारी दिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रदेश ३ प्रदेश सभा सदस्य नेपाली काँग्रेसका नेता बलराम पौडेलले महायज्ञको आयोजनाले हिन्दु धर्मको रक्षा र प्रवर्धन गर्ने बताउनुभयो । हिन्दुधर्मको विरोधमा सरकार लागि परेको हुँदा यस महायज्ञले ठूलो जवाफ दिने प्रदेश सभा सदस्य पौडेलले बताउनुभयो । कम्युनिष्ट सरकारले एनजिओसंग मिलेर पैसा खाएर नेपालमा क्रिस्चियानीटी बढाउने चलखेल गरेको आरोप लगाउनुभयो ।  नेता पौडेलले भन्नुभयो कम्युनिष्ट सरकार, पैसाको लोभमा क्रिस्चियानिटि बढाउँदैछ । नेपालमा हिन्दु धर्मका लागि जनमत संग्रहमा जानु पर्ने सांसद पौडेलको भनाइ छ ।
विशिष्ट अतिथि वडा अध्यक्ष ललितमान प्रधानले यो १७ नम्बरको वडाको मात्रै महायज्ञ नभएर वरीपरिका सम्पूर्ण वडावासीको आस्थाको केन्द्र विन्दु रहेको हुँदा यसको विकासका लागि आफू सहयोगका लागि पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्दिरका समितिका निर्देशक डिल्लीराज काफ्लेले पश्चिम चितवनकै नमुना मन्दिरको रुपमा रहेको मनकामना मन्दिर, गोरखाको मनकामना मन्दिरको आस्था र विश्वासको जगमा स्थापित भएको बताउनुभयो ।
संयोजक रोशनप्रसाद काफ्लेले धनेश्वर धामको रुपमा स्थापित गर्नका लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर थापा, मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राधादेवी चापागाइ, कोषाध्यक्ष मोतीलाल ढकाल, सल्लाहकार सदस्य रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । २०६९ सालमा स्थापित भएको मन्दिरमा लाग्न थालेको महायज्ञमा दीनवन्धु पोखरेलले कथावाचन गर्नुहुनेछ ।
पत्रकार सम्मेलनमा महायज्ञबाट करिब ३० लाख खर्च हुने र करिब साढे ३ करोड आम्दानी हुने प्रक्षेपण गरिएको बताइएको छ ।
प्रचार समितिका संयोजक गोपाल दराईको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दराईले पश्चिम चितवनको चिनारीका लागि मनकामना मन्दिरको प्रवर्धन र संरक्षणको आवश्यकता रहेको बताउनुभयो । मन्दिरको प्रचारप्रसार र संरक्षणले पश्चिम चितवनको संस्कृति, रहनसहन, धर्म, परम्परा र चिनारीका लागि सहयोग पुग्ने भएकोले महायज्ञ आयोजना गर्न लागिएको बताउनुभयो ।

Share.

Leave A Reply