भरतपुर मुद्दाको बहस सकियो, आइतबार फैसला आउन सक्ने

0

साउन १२ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिएको छ ।

मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गरेर सकेका छन् । आज रिट निवेदकको विपक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरे भने पक्षमा महादेव यादवले बहस गरेका थिए । बहस सकिए पनि प्रतिरक्षा बहस बाँकी भएकाले आज फैसला भने आउने छैन । प्रतिरक्षा बहस आजै सुरु हुने र आइतबार सकिने सम्भावना रहेको सर्वोच्चले जनाएको छ ।

गएको मंगलबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएको थियो । पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुँदै आएको छ ।

भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

Share.

Leave A Reply