भत्किएको हलमा दर्शकको घुँइचो, नेपाली डराउँदा हिन्दीलाई मालामाल

0

शुक्रबार र शनिबार मात्र होइन, आइतबार पनि काठमाण्डौका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाइजान’ले उधुम मच्चाएको छ । चलचित्र हेर्नका लागि दिनभरै दर्शकको भिड हलमा देखियो ।

भुकम्पका कारण दर्शक हलसम्म आउँदैनन् भन्ने नेपाली चलचित्रकर्मीको सोचलाई यो चलचित्रमा देखिएको भिडले थप्पड हानिदियो । चलचित्र हेर्नका लागि दर्शकको भिड भुकम्पले असर पुर्‍याएका हलमा पनि देखियो । चलचित्र हेर्न पुगेका केही चलचित्रकर्मी नेपाली चलचित्रमा यस्तो भिड र क्रेज कहिले आउँछ है भन्दै प्रश्न गरिरहेका थिए ।

भुकम्पका कारण केही समय बन्द भएको काठमाण्डौको बीग मुभिजमा दर्शक खचाखच देखिए । भुकम्पले केही क्षती पुर्‍याएपनि मर्मत गरेर बीग मुभिज संचालनमा आइसकेको छ । सलमान खानको क्रेज र चलचित्रको कथावस्तुको साथमा राम्रो प्रचारले नेपाली दर्शकलाई पनि हलसम्म तान्न सफल भयो ।

सरकारले आइतबार, सोमबार र मंगलबार बिदा दिदा यो चलचित्रलाई नेपालमा किनेको गोपीकृष्ण मुभिजलाई त चिठ्ठा नै पर्‍यो । नेपाली चलचित्रका निर्माताहरु दर्शक भुकम्पका कारण हलसम्म आउँदैनन् भन्ने भ्रमका कारण चलचित्र प्रदर्शन गर्न डराएका थिए । आफ्नो चलचित्रको राम्रो प्रचार, राम्रो कथावस्तुलाई लिएर आउँदा चलचित्र चलाउन डराउन पर्दैन भन्ने उदाहरण देखाइदियो, सलमान खानको ‘बजरंगी भाइजान’ले ।

 

Share.

Leave A Reply