बालिकाको अधिकारका विषयमा सरोकारवालाहरुको चिन्ता, गैंडाकोटमा ५ बालिका यौन हिंसामा, ५ जना हराए

0

प्रेम क्षेत्री, गैंडाकोट । बालिकाको अधिकारका विषयमा गैंडाकोटमा सरोकारवालाहरुविच छलफल गरिएको छ ।

 

गैंडाकोटमा बालिका हिंसाका घटना नरोकिएको भन्दै उनिहरुले चिन्ता व्यक्त गरेका हुन् । चालु आर्थिक वर्षमा १० जना बालिका हिंसामा परेको घटना सार्वजनिक भएका छन् । बालिका आधिकारका विषयमा सवै सचेत हुनुपर्ने भन्दै उनिहरुले हिंसा रोक्न सवै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।
बालअधिकार र बालिकाहरुको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपाल र सामुदायिक रेडियो प्रसारक संघको संयोजनमा विजय एफएम १०१.६ ले आयोजना गरेको छलफलमा सहभागीता जनाउँदै गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले बारम्बार सजग गराउँदै जिम्मेवार वोध गराएको प्रति खुसी व्यक्त गर्दै किशोरीहरुका लागि यस्ता कार्यक्रमले समाजमा अघि आउन सहयोग पुग्ने बताउनुभयो ।
साथै उहाँले किशोरीहरुको सुरक्षा, बालमैत्री विद्यालय एवं वातावरण बनाउन नगरपालिका यसअघि पनि प्रतिवद्ध रहेको र सधैं लागिरहने बताउनुभयो । उहाँले २०७५ चैत्र मसान्त सम्म गैंडाकोटलाई बालमैत्री नगर घोषणा गर्ने गरि तयारी भईरहेको बताउँदै नगरपालिकाले निति तथा कार्यक्रममा समेत राखेको बताउनुभयो ।
केही किशोरी बलात्कृत भएको र केही हराएका घटना गैंडाकोटमा रहेपनि त्यसको अन्त्यका लागि प्रहरी प्रशासन, सामुदायिक सेवा केन्द्र, न्यायिक समिति, वडा स्तरिय सञ्जाल, वडा कार्यालय, बाल क्लब मार्फत सचेत र सजग गराउँदै सोही अनुरुप परिचालन गरिएको बताउनुभयो । उहाँले तत्कालै किशोरी सुरक्षा तथा बालमैत्री वातावरण निमार्णका लागि नगरसभामा कुरा राख्नुका साथै समिक्षात्मक बैठक डाक्ने बताउनुभएको छ ।
यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिकाकै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दैआउनुभएकी स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख, महिला विकास अधिकृत दिपा घिमिरेले यस्ता चेतनामुलक कार्यक्रमले गैंडाकोट नगरपालिका तथा स्वास्थ्य तथा सामाजिक विकास शाखालाई सघाउ पुग्ने बताउनुभयो ।
आफुले गर्नुपर्ने कार्यक्रम विजय एफएम जस्ता सञ्चारमाध्यमले गर्दा अझ प्रभावकारी हुने बताउँदै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले जो कोही नागरिकले पनि किशोरीलाई गर्ने व्यवहारमा परिवर्तन गर्नुुपर्ने बताउनुभयो । उहाँले भएको कानुन जान्दिन भनेर बस्ने छुट कसैलाई नभएको भन्दै हिंसा अन्त्यका लागि सवै लाग्नुपर्ने बताउनुभयो ।
शारिरिक, मानसिक, यौनजन्य, सामाजिक, भावनात्मकरुपमा दिईने यातना हिंसा भएको उल्लेख गर्दै उहाँले त्यसो गरेमा ६ महिना कैद र २५ हजार वा दुवै सजाय हुन सक्ने बताउनुभयो । त्यसको न्युनिकरण तथा बालिकालाई संगठित गर्न गैंडाकोटमा गत वर्ष ७८ वटा मात्रै बाल क्लब गठन गरिएकोमा त्यो वढेर अहिले १०१ वटा बाल क्लब गठन गरिएको बताउनुभयो । गैंडाकोटलाई बालमैत्री बनाउन केही चुनौती देखिएपनि सवैको सहयोग भए असम्भव नभएको बताउनुभयो ।
गैंडाकोटको बालमैत्री विद्यालय गैंडाकोट ईंग्लिस स्कुलका प्रिन्सीपल हिरालाल अर्यालले हरेक अभिभावकले पनि घरघरबाट व्यवहार शुरु गर्ने हो भने गंैडाकोट छिट्टै बालमैत्री नगर बन्ने बताउनुभयो ।
उहाँले गतवर्ष पनि यस्तै कार्यक्रममा छलफल गरेपछि आफ्ना विद्यालयका बालिकाका लागि महिनावारीबारे सचेतना प्रदान गरेको बताउनुभयो । चिकित्सकलाई विद्यालयमा नै उपस्थित गराएर परामर्श समेत गरिएको उहाँले बताउनुभयो । साथै उहाँले बालिकालाई महिनावारीका समयमा अफ्ठ्यारो नहोस भनेर विद्यायलमा स्टाफ नर्सको नै व्यवस्था गरिएको बताउनुभयो । विद्यालयमा निमार्ण गरिएका संरचना बालमैत्री र बालिकामैत्री रहेको बताउनुभयो । त्यसका लागि सवै आभिभावक सचेत बन्नुपर्ने समेत उहाँको भनाई थियो ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गत वर्ष असोज २५ गते विजय एफएमले गरेको छलफल कार्यक्रमका सन्र्दभमा पुनः सचेत गराएको हो ।
गैंडाकोट नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा १३ वटा बालबालिका सम्वन्धी उजुरी परेका छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरिक्षक दिवस जिसीका अनुसार १० जना बालिका सम्बन्धी र अन्य बालक सम्बन्धी उजुरी दर्ता भएका छन् । जबरजस्ती करणीका ५ वटा रहेका छन् । त्यसमध्ये ३ वटा जबरजस्ती करणी र २ वटा जबरजस्ती करणी उद्योग अन्तगर्त रहेका छन् ।
त्यस्तै चालु आर्थिक वर्ष २०७४÷०४५ को हालसम्म ९ जना बालबालिका हराएको उजुरी दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरिक्षक दिवस जिसीले जानकारी दिनुभयो । जसमध्ये ५ बालिका र ४ बालक रहेका छन् । हराएका ४ बालक मध्ये २ जना फेला परेको समेत उहाँले जानकारी दिनुभयो । अन्यको खोजीकार्य जारीरहेको बताउनुभयो ।

Share.

Leave A Reply