बालमैत्री अनुशिक्षण

0

प्रेम क्षेत्री, मंसिर ४ गैंडाकोट । सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने मूल नाराका साथ आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको छ । नेपालसहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका छन् ।

दिवसका अवसरमा गैंडाकोट नगरपालिकाले बालमैत्री अनुशिक्षण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल लगायत नगर कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायत गैंडाकोट वडा नम्बर ५ का बालमैत्री स्थानिय शासन वडा समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । गैंडाकोट ५ मा वडाध्यक्ष नवराज कंडेलको अध्यक्षतामा समिति गठन गरिएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै महिला विकास अधिकृत दिपा घिमिरेले बालमैत्री स्थानिय शासनको संस्थागत संरचना काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नगर कार्यपालिका सदस्य एवं बालमैत्री स्थानिय शासन वडा समितिका उपाध्यक्ष कुमारी रेखा पौडेलले सुचकका विषयमा जानकारी गराउनुभएको थियो ।

यसअघि नै सरोकारवालाहरुले गैंडाकोट नगरपालिकालाई २०७५ चैत्र मसान्तसम्म बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

Share.

Leave A Reply