बाढि र पहिरोका कारण ११ जनाको मृत्यु

0


काठमाडौँ, १९ असार । काठमाण्डौ सहित देशभरी भएको बर्षाका कारण ११ जनाको मृत्यु भएको छ । पहिरो र डुवानका कारण रोल्पा, कैलाली, बाँके, काठमाण्डौ र पर्सामा गरेर हिजो एकैदिन ११ जनाको मृत्यु भएको हो । रोल्पामा अविरल बर्षाका कारण घर भत्किदा १८ दिनकी सुत्केरी आमा छोरी सहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फूँयोलका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैवाङ गाउँमा घर भत्किदा २२ बर्षीया आमा कमला विक, उहाँकी १८ दिनकी छोरी आयूसा विक र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको हो । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेमा ५ वर्षिय बालकसहित ३ जनाको मृत्यु भएको छ । वर्षाले कैलालीको भजनी नगरपालिका लगायतका दक्षिण पूर्वी क्षेत्र पनि डुबानमा परेको छन् । एक सय बढी परिवार विस्थापित भइसकेका छन् । बर्षाले घर भत्किएर एक जनाको मृत्यु भएको छ । पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । दुईजना विद्यार्थीको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता छन् । यस्तै, काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटीको मृत्यु भएको प्रहरीले जनाएको छ । निरन्तर परेको पानीका कारण तराईका विभिन्न जिल्लामा डुवान भएको छ भने पहाडी जिल्लाहरुमा पहिरो गएको छ । ठाउँ ठाउँका राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारण वीरगञ्जको श्रीपुर, पानीट्याङ्की, जिल्ला प्रशासन कार्यालय परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । यसैबीच, अत्यधिक वर्षा र बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको र राहत तथा उद्धारको लागि सरकार तयारी अवस्थामा रहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताउनुभयो । सिआइएन

Share.

Leave A Reply