बाटो बनाउनु नै हाम्रो प्राथमिकता हो – बौदीकाली प्रमुख राना

0

बौदीकाली गाउँपालिकाका प्रमुख दुर्गाबहादुर राना निर्वाचित भएर आएपछि गाउँ सुन्दर बनाउने अभियानमा हुनुहुन्छ । बौदीकालीमा कुनै पनि वडामा विजुली छैन । सहज यातायातको अवस्था छैन । गाउँ विस्तारै रित्तिदै छ । यस्तो अवस्थामा यातायात, कृषि, शिक्षा र विजुलीकरणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ । करिब ७ सय घर धुरी रहेको गाउँपालिकामा दिउँसोमा बत्ति छैन । रातमा लघुविद्युत आयोजनबाट केही समय बत्ति बल्छ । २०४३ सालमा प्रधानपञ्च हुनुभएका राना २०४८ र २०५४ सालमा गाउँविकास  समितिको अध्यक्ष बनिसक्नुभएको छ । लामो समय गाउँको अभिभावक भएर नेतृत्व लिइसक्नुभएका रानाको गाउँमा सहज सडक यातायातको व्यवस्था मिलाउने ठूलो सपना छ ? समग्र गाउँपालिकाको विकास निर्माणका बारेमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानासंग विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।
स्थानीय तहको प्रमुख भएपछि यो दुई वर्षको अनुभव कस्तो छ ?
स्थानीय सरकार भन्छ । नवलपुर जिल्ला सुगम जिल्ला भन्छ । सुगम जिल्लामा बौदीकाली, हुप्सेकोट, बुलिङटार जस्ता दुर्गम गाउँपालिकाहरु छन् । सुगम जिल्लामा परेपछि कर्मचारीहरुलाई दुर्गम भत्ता हुँदैन । नजिकैका जिल्ला पाल्पा, तनहुँमा दुर्गम भत्ता पाउँछन् । सुगम जिल्लाका दुर्गम गाउँपालिकाहरुमा कर्मचारीहरु टिक्न गाह्रो छ । पहाडी क्षेत्रका गाउँपालिकाहरुमा यो चुनौती पूर्ण देखिएको छ । अरु बाँकी विकास निर्माणका कामहरु नियमित रुपमा भइरहेको छ । बजेट विनियोजनमा पनि भौगोलिक अवस्थाका आधारमा बाँड्नुपर्दछ, यसो भएको देखिदैन । नगरपालिकाहरुमा पाँचलाख रुपैँयामा झिलीमिली हुन्छ । यहाँ दुर्गममा गाउँभित्रको सानो गोरेटो कोर्न पनि पुग्दैन । गाह्रो छ । जनसंख्याको आधारमा बजेट विनियोजन गरेर पक्षपात गरिरहेको छ । नगरपालिकाहरुमा आयस्रोत विभिन्न क्षेत्रहरुबाट प्राप्त हुन्छ, यहाँ आन्तरिक आय स्रोत नै हुँदैन । यो दुईवर्षको अनुभवले के भन्छु भने सबैले बुझेर जनसंख्याको आधारमा होइन भौगोलिक अवस्थाले बजेट बिनियोजन गर्नु आवश्यक छ । यस वर्ष २६ करोडको बजेट थियो गाउँपालिकालागि ।

 

विकास निर्माणका क्षेत्रमा के कुरामा जोड दिनुभएको छ ?
हामीले विकास निर्माणका क्षेत्रमा सडकको पूर्वाधार र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेका छौँ । कृषि क्षेत्रको उन्नयनका लागि धेरै ठाउँमा लगानीका लागि पुगेको छु । बौदीकाली गाउँपालिकाको अर्को समस्या भनेको बस्तीहरु तराई तिर विस्थापित बन्दै छ । यसलाई रोक्नका लागि पनि गाउँ फर्कन चाहने घरपरिवारलाई ३० हजार प्रोत्साहन पुरस्कार दिने कार्यक्रम समेत गाउँपालिकाले यस अघि नै गरिसकेको छ । अहिलेसम्म ६÷७ घर परिवार गाउँ फर्किएको छ । अम्रिसो, जुडिबुटी, सुन्तला, अदुवा लगायतका खेतीका लागि पनि गाउँपालिकाले किसानलाई सहयोग गर्ने कार्यक्रमलाई  पनि ध्यान केन्द्रीत गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष यस गाउँपालिकालाई सडक पूर्वाधार हो । यसलाई हामी बढी प्राथमिकतामा राखेका छौँ ।
बौदीकाली गाउँपालिका भित्र विभिन्न बस्ती जोड्न सडकको पूर्वाधारलाई कसरी अघि बढाउनुभएको छ ?
यस गाउँपालिका भित्र मात्र होइन । बाहिर जाने बाटो पनि यहाँ छ । बौदीकालीबाट पाल्पा, तनहुँ, त्रिवेणी जानका लागि बाटो छ । यसको स्तरीकरण गर्न बाँकी छ । हिउँदमा बाटो छ । बर्खामा बाटो समस्या छ । कालीगण्डकी करिडोरको बाटो बन्यो भने पनि हाम्रा लागि फलदायी हुनेछ । प्रदेश स्तरबाट झ्यालबासदेखि डेढगाउँसम्मको बाटोका लागि २ करोड १० लाखको योजना छ ।

 


कृषि क्षेत्रमा आकर्षण गर्न के के योजना छन् ?
कृषि उत्पादन गर्दछ । बाटो छैन । यति मात्र होइन, विजुली छैन । विजुली नहुँदा कोल्ड स्टोर हुँदैन । कोल्ड स्टोर सञ्चालन गर्न सकियो भने धेरै उत्पादनलाई बजारीकरणकालागि पक्रिया पुरा गर्न सजिलो हुन्छ । यहाँ विजुलीको समस्या छ । सुन्तलाको पकेट क्षेत्रको रुपमा बौदीकाली गाउँपालिकालाई अघि सारिएको छ । प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत सुन्तलाका लागि, बबङ, जौवारी, रिठ्ठे, राइकोट लगायतका क्षेत्र राम्रो मानिन्छ । कृषि क्षेत्रमा आकर्षण बढाउन पनि सबैभन्दा पहिला बाटो नै पहिला बनाउनु पर्दछ । बाख्रा पालन, बुंगुर पालनका लागि गाउँपालिकाले अनुदान दिइरहेको छ ।
शैक्षिक अवस्था कस्तो छ ?
श्रीमान विदेश जान्छ, श्रीमति छोराछोरी पढाउन तराई झरेको छ । विद्यार्थी संख्या घटेको छ । माध्यामिक विद्यालय ५ वटा छन् । अन्य विद्यालय पनि छन् । विद्यालयहरुको भौतिक पूर्वाधार तर्फ गाउँपालिकाले सहयोग गरिरहेको छ । विद्यार्थी संख्या न्यून रहेका डेढगाउँका विद्यालय मर्ज भइसकेको अवस्थाछ । अन्य विद्यालय पनि मर्ज गर्नुपर्ने अवस्थामा रहेका छन् ।
चुनौती के के छन् ?
चुनौती भनेकै सडकको पूर्वाधार हो । यसका लागि प्रयाप्त बजेटको आवश्यकता छ । जनसंख्याको आधारमा भन्दा पनि भौगोलिकताको आधारमा होस् । सडकको पूर्वाधार नहुँदा गाउँ नै रित्तिने हो की भन्ने आशंका छ । यो आशंकालाई मेटाउनु चुनौती रहेको छ । हिउँदमा बाटो बनायो, बर्खामा फेरी पहिरो जान्छ ।
अबको सपना के छ ?
मेरो इतिहास भन्ने हो भने २०४३ सालमा प्रधानपञ्च भएँ । २०४८ सालमा गाउँविकास  समितिको अध्यक्ष भएँ । २०५४ सालमा पनि गाउँपालिकाको अध्यक्ष भएँ । त्यो जमाना र अहिलेको जमानामा धेरै फरक पाउँछु । पञ्चायतको पालामा विकास खर्च रु ५ हजार थियो । गाविस अध्यक्ष हुँदा विकास खर्च १० हजार आउँथ्यो । २०५४ सालमा अध्यक्ष हुँदा तीन लाख विकास खर्च आयो । अहिले २६ करोड आएको छ । हुँदै नभएको त होइन, तर सुगम जिल्लाको दुर्गम गाउँभएका कारणले भने जस्तो बिकास योजनाका लागि अझै पनि बजेट कम देखेको छु । बाटोघाटोको कामलाई पूर्णता दिन सकेँ भने गाउँपालिकाको विकास हुन्छ कि भन्ने ठूलो सपना लिएको छु ।

Share.

Leave A Reply