बाघ नियन्त्रणमा लिन सकिन्छ ः साह

0

करणबहादुर साह

नवलपरासीमा पछिल्लो समय बाघको आक्रमण बढिरहेको छ । मान्छेलाई आक्रमण गरेर मार्ने घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । १ महिनाको फरकमा बाघको आक्रमणबाट गैंडाकोटमा मात्रै २ महिलाको ज्यान गयो । यो वर्षमात्रै विभिन्न समयमा नवलपरासीमा बाघले ५ जनाको ज्यान लिएको छ । यसै सन्दर्भमा जंगली जनावरको स्वभाव, बच्ने तरिका र समाधानका विषयमा हामीले वन्यजन्तुका क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आउनुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करणबहादुर साहसँग कुराकानी गरेका छौं । प्रस्तुत छ साहसँग लक्ष्मी पौडेलले गर्नुभएको कुराकानीको

सम्पादित अंश ः

स्वागत छ यहाँलाई विजय खबरमा ।
धन्यवाद छ ।
तपाईंले नवलपरासीमा अध्ययन गर्दैगर्दा नवलपरासीमा कस्ता वन्यजन्तु रहेको पाउनुभयो ?
पक्कै पनि चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले त्यहाँ रहेका सबैखालका जीवजन्तु यहाँ पाइन्छ । अब जंगल वन्यजन्तुको क्षेत्र हो । पाटेबाघ, चितुवा, गैंडा सबै खालका जीवजन्तु छन् । तर अब यो सँगसँगै चाहे त्यो घाँस खाने होस् या मांशहारी होस् उनीहरुका क्षेत्रमा गएपछि त आक्रमण गर्छ नै अहिले मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । यो स्वाभाविक कुरा पनि हो ।
नवलपरासीमा पछिल्लो समय बाघको आक्रमण बढ्दो छ किन यस्तो हुन्छ ?
यो पक्कै पनि सम्बन्धित निकायको कमजोरी हो । किनभने यो पहिलो चोटि भएको घटना होइन । यस्ता घटना भएको ठाउँमा केही जानकारी पक्कै हुन्छ यस्तो कुरा जंगल क्षेत्र आसपासका बासिन्दालाई अग्रिम जानकारी वा सूचना दिने गर्नुपर्छ । त्यस्तो खालको सूचना दिने प्रविधिको विकास गर्नुपर्छ । अर्को घाँस दाउराका लागि मध्यवर्ती क्षेत्रमा जान पाइन्छ र मान्छे जान्छन् पनि । त्यस्तो बेला जनावरसँग भेट हुनसक्छ त्यहाँ आक्रमण हुनसक्छ । यस्तो जानकारी दिइयो भने त्यस्ता घटना कम हुन्छन् ।
कस्तो अवस्थामा बाघले मान्छेलाई आक्रमण गर्छ ?
मान्छेलाई आक्रमण गर्ने विभिन्न कारण हुन्छन् । सामान्य स्वस्थ बाघले मान्छेलाई त्यति आक्रमण गर्दैन । यदि बाघ आफ्नो बच्चा डमरुसँग भएको अवस्थामा खतरा महसुस ग¥यो भने आक्रमण गर्छ । जम्काभेट भयो भने पनि आक्रमण गर्न सक्छ । अर्को कुरा घाँस दाउरा काट्दा वा दिसापिसाब गर्दा मान्छे झुकेको अवस्थामा आफ्नो आहारा हो कि भनेर झुक्किएर पनि आक्रमण गर्छ । बाघ धेरै बूढो भएमा, रोगी अवस्थामा आहार खोज्न नसकेको अवस्थामा पेट भर्नकै लागि पनि मान्छे मार्न सक्छ । किनकि त्यहाँ मान्छे यो मेरो प्राकृतिक आहारा होइन भन्ने त हुदैन । बाध्यता पनि हो ।
अब बाघले मान्छे मार्न थाले पछि श्रृंखलाबद्धरूपमा घटना बढ्छन भन्ने गरेको सुनिन्छ मान्छे मार्न थालेपछि बाघ पल्किन्छ फेरि यस्ता घटना दोहरिन्छ भन्छन् त्यस्तो हुन्छ ?
मानिस बाघको प्राकृतिक आहार होइन । अब मान्छे मारेपछि मान्छेको स्वादले गर्दा पल्केर मार्न थाल्यो भन्दा पनि प्राकृतिक जन्तु जुन यसको आहारा हो त्यो मार्न सकेन भने पनि उसले अगाडि जे पायो त्यही मार्छ । जंगली जानवर धेरै चलाख हुन्छन् केही भइहाले भागिहाल्ने हुन्छ । अब रोगी, बूढो, बच्चासँग भएमा आक्रमण गर्ने सम्भावना हुन्छ अहिलेसम्मको अध्ययनले त्यो देखाएको छ । यसमा जंगल क्षेत्रमा बसोवास गर्नेहरु पनि चनाखो हुनुपर्छ ।
जंगल क्षेत्रमा बाक्लो बसोबास छ जंगलसँग कुनै न कुनै रूपमा सम्बन्ध रहन्छ मान्छे त्रसित छन् यस्तो अवस्थामा कसरी सचेत रहने ?
पहिलो कुरा त जंगल प्रवेश गर्नैपर्ने भए समूहमा मात्रै जाने गर्नुपर्छ । एक्लै जान भएन । समय पनि ख्याल गर्नुप¥यो । जंगली जनावरको वासस्थान सम्भावित क्षेत्रभित्र जान भएन । उसलाई क्षति हुने क्रियाकलाप गर्न भएन । जीउधनको क्षति भयो भने सम्बन्धित निकायप्रति रोष प्रकट गर्नु सामान्य हो । त्यसले पूर्ति त गर्दैन तर केही राहत स्वरूप केही दिन   सकिन्छ । अनि जुन अघि पनि भने मैले त्यो सम्बन्धित निकायले नै अग्रिम जानकारी दिनुपर्छ । कुन जनावर कुन क्षेत्रमा रहन्छ भन्ने केही त थाहा हुन्छ नि । जंगल क्षेत्रमा विद्युतीय झड्का प्रभावकारी छैन । उचित व्यवस्थापन हुन सकेको छैन । अब तारजाली लगाउने पनि हो कि ।
बाघ मार्नुपर्छ भन्ने कुरा पनि आइरहेको छ यो समाधान हो कि होइन ?
त्यो विकल्प त कुनै हालतमा पनि होइन । जुनसकै वन्यजन्तु मारेर सिद्धिने पनि होइन । एउटा मारे त्यहाँ अर्को आइहाल्छ ।
त्यसो गर्न कानुनले पनि   दिदैन । त्यहाँ सम्बन्धित निकायले नै चासो दिनुपर्छ । र त्यो जानकारी स्थनीयले पनि गराउनुप¥यो । नियन्त्रणमा लिन सकिन्छ । के गर्ने भनेर कसरी रोक्ने त्यतातर्फ सोच्न प¥यो ।
हस्,  समय र कुराकानीका लागि तपाईंलाई धेरै धेरै धन्यवाद छ ।
धन्यवाद तपाईंलाई पनि यो लोकप्रिय पत्रिका विजय खबर पत्रिकामा मलाई पनि बोलाएर आफ्ना केही कुरा राख्ने मौका दिनुभएकामा ।
विजय खबर पत्रिकाबाट

Share.

Leave A Reply