बत्तिमुनी अध्याँरो हुने रहेछ, सशस्त्र बेसक्याम्प पछाडि ड्रग्स लिन्छन – कंडेल

0

वि. सं.२०५४ सालमा वडा अध्यक्ष बन्नुभएका देविदत्त कंडेल, अहिले फेरी पनि गैँडाकोट १० को वडा अध्यक्ष बन्नुभएको छ । एक जना सचिव, खरदार र कार्यालय सहयोगी भयो भने अहिले नै वडा कार्यालय चलाउन आफू तयार रहेको कंडेलको भनाई छ । आफूहरुले चिया खाने पैसा कटाएर भएपनि भाडामा वडा कार्यालय खोल्न सकिने बताउने कंडेलले वडाको विकासका लागि कस्ता योजना बनाउनुभएको छ ? कुन कुन बाटोका लागि कति बजेट छुट्याउनुभएको छ ? यीनै जिज्ञासाका साथमा वडा अध्यक्ष देवीदत्त कंडेलसंग कुराकानी गरिएको छ । प्रस्तुत छ सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।
अहिले के काममा व्यस्त हुनुहुन्छ ?
वडाका विकास निर्माणका योजनाहरु परेका छन् । यसका लागि उपभोक्ता समिति बनाउने । विकास गर्नुपर्ने स्थानका विषयमा खोज गर्ने यस्तै काममा व्यस्तता रहेका छन् ।
योजना चाँही के के बनाउनुभएको छ ?
अहिले वडाका कहाँ कहाँ समस्या छ भनेर अध्ययन गरेपछि अहिले वडाका लागि ४३ लाख बजेट परेको छ । पहिलेको १५ लाख बजेट रहेको थियो । थापा चोकलाई तीन लाख बजेट छुट्याएका छौँ, महादेव स्थानका लागि तीन लाख छुट्याएका छौँ, टाँडी गाउँदेखि नारायणीसम्म १५ लाख रुपैँया छुट्याएका छौँ । दुर्गा निम्न माध्यामिक विद्यालय र रत्नराज्य लक्ष्मी माविका लागि १÷१ लाख छुट्याएका छौँ । संयुक्त चोकदेखि माथि जाने बाटोका लागि पहिले ६ लाख ७५ हजार परेको थियो, अहिले फेरी ६ लाख रुपैँया छुट्याएका छौँ ।
अहिले तत्काल निर्माण गर्नै पर्ने बाटोहरु कुन कुन छन् ?
अहिले तत्काल बनाउनुपर्ने देखिएका ५–६ वटा बाटाहरु छन् ।
कुन कुन बाटोका लागि कति बजेट छुट्याउनुभएको छ ?
गोरखा ब्रुअरीको पश्चिम पट्टी नारायणीसम्म जाने बाटो जसलाई टाँडी गाउँ पनि भनिन्छ । यसको निर्माणका लागि १५ लाख रुपैँया छुट्याएका छौँ । अहिले नाला खन्नकालागि नेपाल सरकारको जिल्ला विकासबाट १० लाख रुपैँया आएको थियो । पितौँजी मध्यवर्ती सामुदायिक वनबाट म आफै अध्यक्ष भएकाले पनि एक लाख रुपैँया हालेको थिएँ । अहिलेको १५ लाख रुपैँयाले पिचका लागि तयारी गरेका छौँ ।
झ्याम्परेदेखि रत्नराज्यस्कूल जाने बाटोका लागि पहिले ६ लाख ७५ हजार बजेट थियो । अहिले थप ६ लाख रुपैँया बजेट छुट्याएका छौँ । यस्तै नवज्योती डेरीबाट माथि जाने बाटोका लागि पहिले ६ लाख ७५ हजार छुट्याएका थियौँ, अहिले त्यसमा पनि ६ लाख रुपैँया थपेका छौँ । करिब ६ देखि ७ सय मिटरसम्मको बाटो हो । यसैगरी रत्नराज्य स्कूलदेखि पश्चिमको शव लैजाने बाटोका लागि तीन लाख रुपैँया छुट्याएका छौँ । यस्तै मुकुन्दसेन युवा क्लबका लागि तीन लाख रुपैँया बजेट छुट्याएका छौँ ।
बाटोका लागि जतिपनि बजेट छुट्टिएको छ के सबै प्रयाप्त छ ?
पूर्णताका लागि हामीले स्थानीयलाई के भनेका छौँ भने अहिले तत्काल १२ लाख परेको बाटोका लागि तँपाईहरुले पनि १२ लाख राख्नुस्, यसले पनि पुगेन भने अर्को बर्षको बजेटमा पूर्णता दिनेछौँ भनेर भनेका छौँ । यदि उहाँहरुको साथ रह्यो भने यसै आर्थिक वर्षमा पनि ती बाटोहरुले पूर्णता पाउन सक्छन् ।
दीर्घकालिन रुपमा अघि बढाउनुपर्ने बाटो कुन कुन छन् ?
त्यहाँ दीर्घकालिन रुपमा अघि बढाउनुपर्ने बाटो भनेको एउटा टाँडी गाउँको गोरखा ब्रअरी देखि नारायणीसम्म जुन करिब ८ सय मिटरको रहेको छ । त्यसपछि अर्को कोटीहोमदेखि गोरखा ब्रुअरीसम्मको पल्लो छेउसम्म करिब करिब १ किलोमिटर पर्दछ यो बाटो र रत्नराज्य स्कूलदेखि नारायणीसम्मको बाटो छ, यी बाटोहरु दीर्घकालिन रुपमा पर्दछन् ।
शैक्षिक अवस्था सुधार्न कस्तो प्रयास गर्नुभएको छ ?
गैँडाकोट १० मा दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुर्गा निमावि र रत्नराज्य मावि हुन् । दुर्गा निमावि करिब करिब गोर्खा ब्रुअरीले नै चलाएको छ । ५ – ६ जना शिक्षकलाई ब्रुअरीले नै सहयोग गरेको छ । शैक्षिक विकास र तालिमका लागि रोटरी क्लबका साथीहरुको सहयोग रहेको छ । दुबै विद्यालयलाई अहिले १÷१ लाख बजेट छुट्याएका छाँै । दुर्गा निमाविमा हामीले अंग्रेजी माध्यमको कक्षा चलाएका छौँ । अहिले २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । मेरो वडामा साविक मुकुन्दपुरको वडा नं. ६ मा त ९० प्रतिशत सुकुम्बासी छन् । सबै आफ्ने पेशाव्यवसायमा व्यस्त छन्, विद्यार्थीप्रति विद्यालयको भन्दापनि अभिभावकको हेरचाह कम ठान्छु । रत्नराज्य स्कूलमा अरु व्यवस्थापन राम्रो छ, शिक्षकको चाँही अलिकति अभाव भएको महशुस भएको छ ।
मुकुन्दपुरलाई न्यूजिल्याण्ड भनिन्छ, दुग्ध व्यवसायको प्रवर्धनमा के पहल गर्नुहुन्छ ?
दुग्ध विकासको कुरा गर्दा मुकुन्दपुर दूधको लागि न्यूजिल्याण्डको रुपमा चिनिन्छ । अब यसका लागि गोर्खा ब्रुअरीबाट जुन चोकर निस्कन्छ, यसले दूध बढी मात्रामा उत्पादन भएको देखिन्छ । जौ, मकै र चामलको मात्रा मिसाइएको हुन्छ । म आफू स्वयं त्यहाँको सामुदायिक वनको अध्यक्ष भएकाले पनि एक डेढसय परिवारका लागि घाँसेमैदान भनेर छुट्याएको छु । जाहाँ घाँस लगाएर विपन्न बर्गले पनि लाभ उठाउनुभएको छ ।
क्लीन सिटी अभियान चलिरहेको छ ? गैँडाकोट १० लाई हराभरा बनाउन के गर्नुहुन्छ ?
हाम्रो वडामा ८ वटा टोलविकास संस्थाहरु छन् । हामीले १० गते नै कुर्ने होइन है एक गतेबाट आफ्नो टोलको सफाई गर्नुपर्दछ भनेका छौँ । वडाको सफाई अभियानमा सहयोग नगर्ने, अवरोध गर्ने जो केहीलाई पनि हामीले कार्यवाही गर्ने भनेका छौँ ।
कार्यवाही कस्तो ?
कानुन अनुसारको दण्ड जरिवाना हुन्छ । त्यति मात्र होइन वडाबाट गरिने कुनै पनि सिफारिस रोकिने छ ।
गैँडाकोट १० मा ठूला फ्याक्ट्री छ, यसले सफाई अभियानमा चुनौती आउन सक्ला कि सक्दैन ?
स्पेन ग्रीनको व्यवस्थापनका लागि प्रयास भइरहेको छ । यसको व्यवस्थापनका लागि उसले प्रतिवद्धता पनि जाहेर गरिरहेको छ ।
गोर्खाब्रुअरीले सहयोग गरेको छ भनेर नरम त बन्नुभएको छैन ?
गोर्खाब्रुअरीले मासिक रुपमा विभिन्न संस्थालाई एकडेढ लाख रुपैँया दियो भनेर सफाई अभियानमा असर पुग्ने कुरामा म सहमत छैन । उसको ध्येय के होला त्यो थाहा भएन, तर म आफू भने यस कुरामा सचेत छु । सफाई अभियानमा उसले पनि सहयोग गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो ।
छाडापशु व्यवस्थापनका लागि कान्जीहाउस गैँडाकोट १० मा बन्दै छ ? यसको प्रक्रिाय के भइरहेको छ ?
छाडापशु व्यवस्थापनका लागि म आफै कसरा, कावासोती धेरै ठाउँमा गइयो । छाडा पशुको व्यवस्थापनको विषयमा पनि छलफल भयो । त्यसपछि यस समस्याको समाधानका लागि गैँडाकोटमै केही गर्नुपर्दछ भनेर काम सुरु गरेका छौँ । अहिले दीर्घकालिन रुपमा चाँहि त होइन अल्पकालिन रुपमा कान्जी हाउस निर्माण गरेका छौँ । यसमा कसरी छाडा पशु राख्ने भन्ने कुरामा मापदण्ड छिट्टै बनाउँदैछौँ ।
लागूपदार्थको समस्या कस्तो छ तपाईंको वडामा ?
यो समस्या ठूलो बन्दै जानु, हाम्रो आफ्नै गल्ती हो । आफ्नो सन्तानको हेरचाहमा लापरवाही भएका कारण पनि यो समस्या भएको हो । इलाका प्रहरी कार्यालयसंग समन्वय गरेर अघि बढ्न सकिन्छ नियन्त्रणका लागि । केही दिन अघि गैँडाकोटका मेडिकलमा छापा मारियो खुसी लाग्यो । म पनि दुई जना पुलिस भयो भने सिंगल मुकुन्दपुरका मेडिकलमा अनुगमनमा हिंडन तयार पनि छु । अर्को कुनै रोगको दुखाई कम गर्ने औषधी महङ्गो शुल्क लिएर नशामा डुवेका युवालाई बेच्ने गरेको देखिएको पनि छ । यो समस्या देशभरकै समस्या भएको छ । बत्तिमुनी अध्याँरो हुने रहेछ, सशस्त्र बेसक्याम्प पछाडि ड्रग्स लिन्छन । उहाँहरु भन्नुहुन्छ हाम्रो समातेर लैजाने अधिकार छैन । गोरखाब्रुअरी तलको क्षेत्रमा पनि जक्सनको रुपमा रहेको छ । यी क्षेत्रमा हाम्रो ध्यानाकर्षण भइरहेको छ ।
विजुलीबत्तीको अवस्था कस्तो रहेको छ ?
सबै ठाउँमा बत्ति पुगेको छ । केही स्थानमा बत्ति पुगेको छैन् । अहिले १० वटा जति पोलहरु भयो भने सबै ठाउँमा बत्ति पुर्याउन सकिन्छ । म आफू सामुदायिक वनको अध्यक्ष भएकाले पनि कतिपय स्थानमा सालका लाथ्रा गाडेर पनि बत्ति लैजाने व्यवस्था यस अघि पनि मिलाएका छाँै ।

Share.

Leave A Reply