बजारको अनुगमनमा निरन्तरता देऊ

0

नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ आइसकेको छ । चाडपर्वहरुको पूर्व सन्ध्यामा बजारमा सामानको भाउ आकाशिदै गएको छ । लत्ताकपडा र खाद्यान्नको भाउ झन् बढी आकासिदो अवस्थामा छ । त्यहाँ माथि चाडपर्व व्यापारिका लागि दशैँ र उपभोक्तालाई दशा हुने गरेको छ । चितवन नवलपरासीका विभिन्न बजार क्षेत्रका केही व्यापारीहरुले उपभोक्तालाई सामानै पिच्छे ठग्ने गरेको पाइएको छ । तीजको सन्दर्भमा नारायणगढका पसलहरुमा गरिएको अनुगमनमा एक हजारका सामानलाई दशौँ हजारसम्म मूल्य राखेर उपभोक्ता ठगी गर्ने गरेको पाइएको थियो । राजधानीमा मात्रै केही दिन अघि गरिएको बजार अनुगमनमा ३ हजारका जुत्तालार्य पाँचगुणा बढी मूल्य राखेर बेच्ने गरेको पाइएको थियो ।

चितवनको नारायणगढ, भरतपुर, टाँढी, लगायतका शहर र पूर्वपश्चिम राजमार्ग अन्तर्गतका, नारायणगढ काठमाडौँ सडकखण्डका होटल रेष्टुरेन्टहरुमा बढी ठगी हुने गरेको विगतका दिनहरुका नजिर हामी सबै सामु रहेको छ । नवलपरासीको गैँडाकोट क्षेत्र, दलदले, प्रगतिनगर, कावासोती, चोरमारा, परासी क्षेत्रका सहरी क्षेत्रमा अनुगमनलाई बढाउनु आवश्यक छ । चाडपर्वको एक महिनाका लागि सम्बन्धित निकायहरुले अनुगमनलाई निरन्तरता दिन सकिने हो भने उपभोक्ताहरु ठगीनबाट केही राहत पाउने थिए । चाडबाडको सन्दर्भमा बढी कामउने प्रलोभनमा व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी म्याद गुज्रीएको दैनिक उपभोग्य सामान बेच्ने गरेको विगतका अनुगमनमा पाइएको थियो । केही समय अघि नवलपरासीका मेडिकलहरुमा गरिएको अनुगमनमा चिकित्सकको प्रेसकिप्सन बिना नै नशा बढ्ने औषधीहरुको विक्रि वितरण गरिएको पाइएको थियो । नवलपरासीमा होटल तथा खाद्यान्न विक्रि गर्ने पसलहरुमा कम मात्रामा अनुगमन हुने गरेको छ । यसले उपभोक्तालाई ठग्न सजिलो भइरहेको समाजिक सञ्जालमा गुनासो समेत आइरहेको छ ।

अधिकांश व्यापारीले मूल्यसूचि नै नराखेको समेत देखिन्छ । खुद्रा पसलदेखी होलसेल पसलसम्म चाडबाडको बेलामा म्याद सकिएको सामान विक्रि गर्ने सम्भावना बढी देखिन्छ । म्याद सकिएका मिट मसला, दालमोठ, अचार, सुर्ती, जिरा सेञ्चुरी, सुनपापडी, चिउरा, भुजा, पापड, बिष्कुट लगाएतका सामानहरुमा उपभोक्ताहरु बढी ढगीन सक्ने देखिन्छ । चाडबाडको बेलामा खाद्यान्न खरिद गर्दा सोच विचार गरेर मात्रै सामान खरिद गर्नु पर्दछ । सरकारले पनि विभिन्न सहरमा सस्तो सुलभ दरमा पसल सञ्चालन गरेको छ । यस्ता पसलहरुमा पुगेर पनि आवश्यक खाद्यान्न जुटाउन सक्छौँ । चाडबाडका बेलामा माग धेरै बढ्ने हुनाले समानको मूल्यमा समेत बृद्धि गर्ने चलखेल व्यापारिहरुको हुन्छ । खाद्यान्न बाहेक इलेक्ट्रोनिक्स सामानहरुको सन्दर्भमा त्यस्ता सामानहरुको मूल्यका बारेमा पूर्व जानकारी लिएर मात्रै खरिदका लागि निस्कनु पर्ने हुन्छ । अनलाइनमा समेत आफूले खरिद गर्ने सामानको मूल्य हेर्न सक्दछौँ । तसर्थ सचेत भयौँ भने ठगीबाट पनि बच्न सकिन्छ । उपभोक्ता आफू सचेत रहने कुरा त रह्यो तर सरकारी निकायबाट हुने अनुगमनका लागि एक महिनासम्म निरन्तरता दिनु पनि उत्तिकै आवश्यक छ ।

Share.

Leave A Reply