प्राकृतिक विपत्ति र सरकारको दायित्व

0

प्रकाश भण्डारी ‘विवेक’

नेपालको इतिहासदेखि नै बाढीपहिरो जस्ता प्रकोपहरूबाट धेरै घर–परिवारहरू अभिभावक विहीन हुन पुगेका छन् भने कैयौँ घरबारविहीन भई एकल र बाध्यकारी जीवन जिउन बाध्य छन् । विगतका घटनाक्रमहरूलाई आँकलन गर्दा बाढीजन्य प्रकोपहरू बढोत्तरी भएको पाइन्छ । देशका विभिन्न भागमा केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानको चपेटामा परेका छन् भने पहाडी भूभागहरू तथा राजमार्गहरूमा दिनानुदिन पहिरोका कारण मानवीय क्षति र भौतिक नोक्सानीको कुनै लेखाजोखा छैन । बाढी, पहिरो र डुबानग्रस्त क्षेत्रका बासिन्दाहरू चरम पीडाबोधको असामान्य अवस्थामा छन् र राज्य एवं सिंगो मानव समुदायबाट तत्काल राहतको प्रतीक्षामा छन्।
कतिपय पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरोका कारण कैयौंले ज्यान गुमाएको दुःखद अवस्था सिर्जित भएको छ। बाढी, पहिरो र डुबानका लगायतका प्राकृतिक विपत्तिबाट २०७५ साल वैशाख यता असारसम्ममा ११४७ घटना घटिसकेको अवस्था छ भने उक्त घटनाबाट मृत्यु हुनेको संख्या ३३२, घाइते संख्या २१६०, बेपत्ता ६०, प्रभावित घरपरिवार ३३५९ छन् भने पूर्णरूपमा ७३० जनाको घर क्षति भएको छ। साथै करिब ७० करोड बराबरको क्षति भएको तथ्याङ्क राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको बेवसाइटमा उल्लेख गरिएको छ। जसले गर्दा दशौं हजार नागरिक प्राकृतिक विपत्तिको प्रत्यक्ष मारमा परेर गासवासका निम्ति आश्रयस्थल खोज्दै समुचित राहतको व्यग्र प्रतीक्षामा रहेको दारुण स्थिति उत्पन्न भएको छ।
बाढी र डुबानको चपेटामा परेका पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरूमा अहिले डुबानका कारण जुन असामान्य स्थिति सिर्जना भएको छ त्यसका अन्तरनिहित कारणहरू मिहिन रुपमा खोतल्दै जाने हो भने एकातिर भारतले सीमावर्ती क्षेत्रमा अन्तरराष्ट्रिय नियम कानुन र प्रचलनहरू मिचेर जसरी तटबन्ध विस्तार गर्दै गएको छ त्यसले नदीनालाहरूको प्राकृतिक बहाव रोकिने र बगेको पानी नेपालभूमितिरै फर्केर नेपालभूमि डुवाउने गरेको दृश्य प्रत्यक्ष देखिन्छ भने यसरी प्राकृतिक बहाव रोकिँदा नदीनालाहरू उकासिँदै गएर गाउँवस्तीमा प्रवेश गर्ने अवस्था सिर्जित भएको पनि प्रस्ट हुन्छ । तराईमा हरेक वर्ष डुबानको समस्या जुन रुपमा चर्किंदै आएको छ त्यसको स्थायी समाधान भनेको भारतले पानीको प्राकृतिक प्रवाह रोक्न बनाएका संरचनाहरूबाट पानी निकास हुनसक्ने स्थायी व्यवस्था गर्नु नै हो ।

भारतले तराईमा मधेसवादका नाममा आगन्तुकहरूलाई उचालेर नेतागिरी गराउने र तराईका भूमिपुत्रहरूलाई प्रताडित गर्ने जुन राजनीतिक शृङ्खला चलाएको छ त्यसको प्रतिछाया डुबानको यो प्रकरणमा पनि देखिएको छ । भारतले नेपालसँग असमान सम्झौता गरी निर्माण गरेको कोशी बाँध र गण्डक बाँध होस् वा नेपालको सहमतिविना सीमावर्ती क्षेत्रमा बनाएका लक्ष्मणपुर बाँध लगायतका संरचनाहरू तराई डुबाउने प्रमुख कारण बनेका छन्। हिउँदमा नेपालबाट पानी लैजाने र वर्षामा बाँधका ढोकाहरू थुनेर नेपालभूमि डुबाउने भारतको दुव्र्यवहारको सिकार सर्वाधिक रुपमा तराईवासी नेपाली जनता नै भइरहेका छन्।
यस बारेमा न त सरकारले जिम्मेवारपूर्ण भूमिका निभाउन सकेको छ न सधैँ भारत भ्रमणमा जाने जम्बो टोलीसहितको प्रधानमन्त्री तथा राष्ट्रपतिसहितको दलबलले नै । सान्दर्भिक र समयसापेक्ष जायज विषयमा प्रश्नै उठाइँदैन निरर्थक र बेकम्मा अनौपचारिक भ्रमणमै विगतका भ्रमणहरू सीमित हुन पुगेका छन्, जसका कारण करोडौँ आर्थिक भार जनताले भोग्नुपरेको कारुणिक अवस्था छ ।
दिनानुदिनको भारी वर्षाका कारण कतिपय जिल्लामा सडक सम्पर्कसमेत विच्छेद भएको छ भने हवाइ यातायातसमेत अवरुद्ध हुनपुगेको अवस्था छ । सिड्डो तराई क्षेत्रको भूभाग जलमग्न भएको यस अवस्थामा युद्धस्तर रुपमा उद्धार र राहत कार्य सञ्चालन गर्न सरकारले अहोरात्र पहलकदमी गर्नु अपरिहार्य छ भने सिंगो नागरिक समुदायले पनि आ–आफ्ना ठाउँबाट सेवा र सहयोग जुटाउनु परम कर्तव्य हुनआएको छ । राष्ट्रिय विपत्तिको यो घडीमा विपद् व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती बनेको छ भने सबै क्षेत्र एकजुट भएर यो विपत्तिको सामना गर्नुको अर्को विकल्प छैन । सिंगो तराईमा हरेक वर्ष डुबानको समस्या नियमित आकस्मिकताजस्तै बनेको छ । अधिक वर्षा हुँदा बाढी र डुबानको प्रकोप बढी हुने गरेको छ भने कम वर्षा हुँदा कम ।
सप्तरी र सुनसरीका बासिन्दाले आधा शताब्दीभन्दा लामो समयदेखि कोशी बाँधको पीडा भोग्दै आएका छन् भने नवलपरासीका बासिन्दाले गण्डक बाँधको । यो समस्या र जनतामाथिको लापरवाही न हिजोको सरकारले देख्यो, सुन्यो न अहिले या भोली नै । सदैव यसरी नै अकालमा हजारौँ अबोध बालबालिका तथा युवा र वृद्धहरू टुहुरा भई अभिभावकविहीन बाँच्ने आशामै जीवन त्याग्नुपर्ने कारुणिक बाध्यता छ । राजनीतिक दल र दलको प्रतिनिधित्व गर्दै सरकारमा देश र जनताको हकहितको फुक्का भाषण गर्दै आशाको भुँवरीमा जीवन जिउन बाध्यकारी बनाउने सरकारको यस्तो हेलचक््रयाइँ कहिलेसम्म सही बस्ने जनता ?
सरकारले पहिलो चरणमा डुबानग्रस्त क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिनुपर्छ भने तराईलाई डुबानमुक्त क्षेत्र बनाउन आन्तरिक रुपमा नदीनालाहरूमा तटबन्ध निर्माण गर्दै जाने, भूअतिक्रमणको गति रोक्ने र भारतले बनाएका संरचनाहरूबाट पानीको प्राकृतिक बहाव नरोकिने अवस्थाका लागि भारतसँग दरो मुटु बनाई कूटनीतिक पहल गर्ने गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हो भन्ने हाम्रो ठहर छ । बाढीजन्य प्रकोपलाई पूर्णरूपमा रोक्न त सकिदैँन तर यसलाई व्यवस्थापन गरी बाढीबाट हुने जनधनको क्षतिलाई न्यून भने गर्न सकिन्छ । बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, राहत र उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो । सरकार, गैरसरकारी संघसंस्था, रेडक्रस स्थानीय संघसंस्था र क्लबमार्फत प्राकृतिक विपत्तिको यस घडीमा पीडित परिवारजनमा उचित राहत खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधी र तत्कालका लागि अस्थायी बसोवासको यथाशीघ्र रूपमा प्रबन्ध गर्नु जरुरी छ।
तराईको समग्र समथल भूभाग यति विकराल रुपमा जलमग्न हुनुको कारण केही दिन यतादेखिको अविरल वर्षा नै  हो भन्ने देखिए पनि उत्तरबाट दक्षिण बगेका नदीनालाहरूको प्राकृतिक बहावमा समेत भौतिक संरचनाहरू निर्माण गर्दा उत्पन्न हुँदै गएको व्यवधानले  बाढी र डुबानको प्रकोपलाई तीव्रता दिइरहेको विभिन्न क्षेत्रको स्थलगत अवस्थाले इंगित गरिरहेको छ। अर्कातिर नेपालभित्रै पनि नदीनालाहरूका किनारामा रहेको जमिन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने, चुरे क्षेत्रमा गिटीढुंगाको चोरीनिकासी, पहाडी क्षेत्रमा बढ्दो मानवीय अतिक्रमण, बिना तयारी र अध्ययन बिना डोजरको प्रयोग, अनियन्त्रित वन फडानी र डढेलो, रूखहरूको कटानी र वृक्षरोपणमा कमी, तारजाली पर्खालहरूको समयमै व्यवस्था नहुनु, कमजोर भूभागमा बढ्दो मसिनरी सामानको प्रयोग यिनी नै बाढीपहिरोका प्रमुख कारकतत्त्व हु । यिनको समयमै व्यवस्थापन हुन सके प्राकृतिक नदीनाला र सम्पदाको संरक्षण त हुन्छ नै जसले गर्दा मानवीय तथा भौतिक क्षतिको सामना गर्नुपर्ने छैन ।
आगामी दिनमा सरकारी जिम्मेवार भइकन यस्ता प्राकृतिक विपत्तिबाट जनतालाई राहतमात्र बढ्ने आश्वासन नभई यो स्थितिसम्म आउने वातावरणको सिर्जना नहोस् भन्नका लागि पहलकदमी उपाय चाल्नैपर्ने देखिन्छ । अन्त्यमा, बाढीपहिरो र सडक दुर्घटनामा जीवन बलिदान गर्नुहुने सम्पूर्ण नेपाली बुबा, आमा, दाजु, भाइ, दिदी र बहिनीहरूमा गहिरो समवेदना प्रकट गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् ∕∕

(गैँडाकोट न.पा २, नवलपरासी)

Share.

Leave A Reply