प्रदेश र प्रतिनिधिसभाको चुनावको मतपत्र छपाइ स्थगित

0


काठमाडौं, १० कात्तिकa । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनुपर्ने हो । तर प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै रहने कि छुट्टाछुट्टै भन्ने विषयमा अन्योल बढेपछि मतपत्र छपाइ नै स्थगित भएको छ । आयोगले मतपत्र छपाइ स्थगित भएकोबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन ।
कार्यतालिका अनुसार नै काम भैरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । समानुपातिकतर्फको मतपत्र छपाइको काम थोरै बाँकी भएकाले त्यो सकिने बित्तिकै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने उहाँको भनाई छ । आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ बिहीबार सक्नुपर्ने हो । समानुपातिकको मतपत्र छपाइ सकेर प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी भैरहँदा सर्वोच्च अदालतको आदेशले आयोग नै अन्योलमा परेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका मतपत्र छुट्टाछुट्टै छाप्न बाध्य पार्ने गरी कारण देखाउ आदेश दिएको छ । सर्वोच्चको आदेशबारे आयोगका पदाधिकारीबिच छलफल भएपनि मतपत्र एउटै छाप्ने कि छुट्टाछुट्टै भन्नेबारे निर्णय हुन सकेको छैन । मतपत्र छुट्टाछुट्टै छाप्नुपर्ने अवस्था आएपनि चुनावको मितिलाई असर नपर्ने गरी काम हुने आयोगका पदाधिकारी बताउँछन् । तर सर्वोच्चको पत्र अझै प्राप्त नभएको भन्दै आयोगले मतपत्रबारे के गर्ने भनेर ठोस निर्णय गर्न सकेको छैन । आयोग नै अन्योलमा परेपछि चुनावबारेको आशंका झन् बढेको छ । उज्यालो

Share.

Leave A Reply