पैसाको बहार ल्याउने तरुल

0


पवित्रा पराजुली,गैंडाकोट । पूर्वी नवलपरासीको उच्च पहाडी क्षेत्र गैंडाकोट ३ की हीरामाया सुनारी ७० वर्षकी हुनुभयो । घरमा छोरा, बुहारी, नाति–नातिना छन् । तर यो उमेरमा पनि उहाँ घरमा उत्पादित सामग्री बिक्रीका लागि गाउँघर बजारतिर निक्लनुहुन्छ । दैनिक यी सामग्री बिक्री नगरी उहाँको मनै मान्दैन । सुनारी डोकोभरि तरुल लिएर बिक्रीका लागि गाउँ चाहार्नुहुन्छ । दिनभरि तरुल बेचेर आएको पैसाले नै उहाँ आप्mनो दैनिकी गुजारा गर्दै आउनुभएको छ । घरमा चाहिने नुन, तेल, मसला, लुगाफाटा उहाँ यही तरुल बेचेर आएको पैसाले किन्ने गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “घरमा त्यसै बस्न अल्छी लाग्छ, यसो गाउँ डुल्यो पैसा आईहाल्छ ।”

खासै दुःख गर्न नपर्ने र थोरै लगानीमा पनि राम्रो उत्पादन गर्न सकिने भएपछि उहाँ तरुल खेतीमा लाग्नुभएको हो । अहिले खेर गएको जमिन भिरपाखा कान्ला र बोट बिरुवा भएको ठाउँमा तरुल लगाउन धेरै जना कस्सिएका छन् । थौरै जग्गामा पनि उत्पादन गर्न सकिने भएपछि सुनारीलाई यो पेसा सजिलो लागेको छ । गाउँघरमा पाईने तरुल बेचेर नै सुनारीले राम्रो आम्दानी गर्दै आउनुभएको छ । कुनै पर्व, गाउँमा मेला लागेका बेलामा अझै व्यापार राम्रो हुने सुनारीको भोगाइ छ ।

सुनारीजस्तै गैंडाकोट ३ का धेरैले तरुल खेती गर्ने गर्छन् । धेरै दुःख गर्न पनि नपर्ने भएपछि धेरैको रोजाइ बनेको छ । यहाँका स्थानीयको एउटा राम्रो आम्दानीको स्रोत बन्न सक्ने आधार नै तरुल खेती हो । पानीको समस्या रहेकाले केही उत्पादन कम हुने गरेको भएपनि अहिले सन्तोषजनक नै छ ।

स्थानीय मनमती सिंजाली ६८ वर्षकी हुनुभयो । उहाँ आफना लागि आफै पैसा कमाउनु हुन्छ, त्यो पनि तरुल बेचेर । दिनभरि घरमा खाली बस्नुभन्दा घरमा नै उत्पादन गरेको तरुल बेच्ने सोच गराउनुभएकी उहाँ पैसा पनि आउने भएपछि दंग हुनुहुन्छ ।
गैंडाकोट ३ मा तरुलबाट आएको आम्दानीले घरखर्च चलाउने धेरै छन् । कम मेहेनत, कम लगानीमा गर्न सकिने र थौरै ठाउँ भएपनि उत्पादन हुने तरुल स्वास्थ्यका लागि पनि फाइदाजनक छ । तर यसले राम्रो बजार नपाउँदा भने सोचे जस्तो आम्दानी गर्न नसकेको उनीहरुले गुनासो गरेका छन् । गैंडाकोट ३ की प्रिथिमाया सुनारीले तरुल सबै बिक्री नहुँदा दुःख लाग्ने गरेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “उत्पादन त हुन्छ तर मुल्य छैन् । त्यसमाथि कहिलेकाँही बिक्री पनि हुँदैन ।”

गैंडाकोट ३ को पहाडी क्षेत्रमा तरुल राम्रो उत्पादन हुन्छ तर उत्पादनले बजार नपाउदा काम गर्ने जोस जागर नै हराउने गरेको स्थानीयले गुनासो गर्छन । स्थानीय स्तरमा उत्पादित तरुल, गिठा लगायत स्थानीय खाद्य सामाग्रीको महŒव बुझ्न र बुझाउन आवश्यकता औंल्याएका छन् ।

यहाँ उत्पादित तरुल लगायतका सामग्री बिक्री वितरणका लागि प्रचार प्रसारसँगै मेला महोत्सव आयोजनासमेत गर्ने गरिएको गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीको भनाइ छ । स्थानीय उत्पादनलाई नै प्राथमिकता दिई बजारीकरणको व्यवस्था मिलाउन अझै आवश्यक रहेकामा उहाँ जोड दिनुहुन्छ  । यहाँ उत्पादित नजिकका बजारमा बिक्री वितरण हुने गरेको भएपनि टाढा टाढासम्म पु¥याउन नसकिएको तिवारी बताउनुहुन्छ ।

यहाँ उत्पादित सामग्री बिक्रीका लागि वातावरण बन्यो भने मात्रै पनि गैंडाकोट आर्थिक रुपमा आत्मनिर्भर बन्थ्यो । एक त आम्दानी पनि हुने अनि समृद्ध नगरमा टेवा पनि पुग्ने नगरपालिका स्तरबाट नै विशेष पहल हुनुपर्ने उनीहरुको तर्क छ ।

Share.

Leave A Reply