पार्टी एकता घोषणाको एक वर्ष पुग्दा पनि एकीकरणले पूर्णता पाएन

0

अक्कल कुँवर/देवेन्द्र महर्जन

काठमाडौं, असोज १७ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरेर एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेको एक वर्ष पूरा भएको छ ।

घोषणाअनुसार दुई पार्टीले गठबन्धन गरेर चुनावमा भाग लिए । त्यसपछि पार्टी एकता पनि गरे ।

तर, दुई पार्टी एक भएको चार महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रियाको पहिलो औपचारिक घोषणा भएको बुधबार ठीक एक वर्ष पूरा भएको छ ।

गएको वर्ष असोज १७ गते तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले चुनावी तालमेलदेखि पार्टी एकतासम्म पुग्ने घोषणा एउटै मञ्चमा उभिएर गरेका थिए । तर, त्यसको केही दिनमै नयाँ शक्ति नेपाल गठबन्धनबाट बाहिरियो ।

एकता गर्ने उक्त घोषणाअनुसार ८ महिनापछि नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता घोषणा भयो ।

पार्टी एकता घोषणा भएको चार महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन ।

नेकपाका नेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताले पूर्णता पाउन केही ढिलाइ भएपनि उत्साहजनकरुपले पार्टी एकता पूर्णतातिर अग्रसर रहेको दाबी गरे ।

तर, पार्टीका तल्ला तहका एकता प्रक्रियाको विषयलाई लिएर केन्द्रीयस्तरमै नेताहरुबीच मतभेदको शृंखला बढ्दै गएको छ । एकता भएको छोटो समयमै पार्टीभित्र गुटको राजनीति मौलाउँदै गएको छ ।

तल्ला तहका कमिटीको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा पद बाँडफाँटमा नेताहरुबीच रस्साकस्सी चलिरहेको छ ।

नेकपाका नेता विरोध खतिवडाले पार्टी एकताको उत्साहलाई तल्ला कमिटीहरुमा भइरहेको एकता ढिलाइले असन्तुष्टि बढेको टिप्पणी गरे ।

एक वर्षअघि घोषित एकताले साँचो अर्थमा एकीकरणको रुप लिन अझै बाँकी छ ।

 

 

 

 

Source http://imagekhabar.com

Share.

Leave A Reply