पश्चिम नेपालको प्रवेशद्वार गैँडाकोट हो, यहाँबाट चिनको कोरला नाका जोड्ने राजमार्ग बनाउने मेरो सपना छ

0

 

संघ तथा प्रदेशको चुनावको मिति नजिकिएसँगै सरगर्मी तातिरहेको छ । नवलपुर जिल्ला क्षेत्र नं १ को चुनाव पनि रोचक बन्दैछ । नेपाली काँग्रेस र वामगठबन्धनबीच नै यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । दुईपटक यसै क्षेत्रवाट चुनाव जित्नुभएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला काँग्रेसका तर्फबाट पुन चुनावी मैदानमा उत्रनुभएको छ । प्रस्तुत छ १० वर्ष यो क्षेत्रवाट प्रतिनिधित्व गरिसक्नुभएका कोईरालासँग अबको चुनावी एजेन्डा र यो क्षेत्रका लागि उहाँका योजनाका विषयमा गरिएको कुराकानीको सम्पादित अंश ः
डा. कोइराला, यहाँलाई स्वागत छ 
धन्यवाद छ, यहाँलाई र यस क्षेत्रको लोकप्रिय पत्रिका विजय खबर पत्रिकालाई ।
चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
जोडतोडका साथ अघि बढिरहेको छ । म आइतबारदेखि चुनावी अभियानमा जुटेको छु । आइतबार यस क्षेत्रको पहाडी इलाकाका विभिन्न कार्यक्रममा सहभागी भए । गोरखामा पनि चुनावी सभामा सहभागी भएर फर्किएको छु । सोमबार पनि यस क्षेत्रका आधा दर्जन कार्यक्रममा सहभागी हुँदैछु । घरदैलो अभियान पनि जारी छ । अब चुनावी अभियान तीव्ररुपमा अगाडि बढिरहेको छ ।
अलि ढिलो अभियानमा लाग्नुभयो नि किन ?
पक्कै पनि अलि ढिलो भएको हो । पार्टीको महामन्त्री भएका हिसाबले पार्टीका जिम्मेवारीहरु पनि छन् । देशका अन्य जिल्ला र क्षेत्रहरुमा पनि पुग्नुपर्ने भएकाले केही ढिलो भएको हो । अब भने आफ्नै क्षेत्रमा चुनावी अभियानमा केन्द्रित भएर लाग्ने छु ।
यसपटकको चुनावको मुख्य एजेन्डा के हो ?
अहिले मुख्य एजेन्डा भनेको संविधान कार्यान्वयन र समृद्ध राष्ट्र निर्माण गर्ने हो । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रमा पनि काँग्रेसको नेतृत्वमा शान्ति र संविधान काँग्रेसको नेतृत्वमा समृद्धिको अभियान भन्ने मूल नारा बनाएको छ । त्यसैले अब नेपाली काँग्रेस समृद्ध देश बनाउने मुख्य एजेन्डा बोकेर चुनावमा होमिएको छ ।
यहाँको क्षेत्रका लागि यहाँको एजेन्डा के हो ?
हेर्नुस्, यो क्षेत्रको लागि त मुख्य कुरा विकास नै हो । विकासभन्दा बित्तिकै बाटोघाटो, विद्युत्, अस्पताल, खानेपानी र शिक्षाको कुरा आउँछ । समग्र क्षेत्रको विकास गर्ने र यो क्षेत्रलाई नमुना क्षेत्र बनाउने मेरो विशेष सपना छ । मैले राखेका अधुरा सपनाहरु पूरा गर्नु मेरो मुख्य एजेन्डा हो ।
सपना भन्नुभयो, त्यो सपना के हो ?
एउटा समृद्ध जिल्लाका रुपमा नवलपरासी र नवलपुर क्षेत्रलाई बनाउने हो । अझै भनौं यो क्षेत्र नं. १ लाई औद्योगिक क्षेत्र बनाउने, अत्याधुनिक कृषि क्षेत्र बनाउने, सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने, युवाहरुलाई विदेश पलाउन हुन नपर्ने अवस्था सिर्जना गर्ने र सुविधायुक्त तथा गुणस्तरीय शिक्षा स्वास्थ्यको ग्यारेन्टी गर्ने मेरो सपना हो । पश्चिम नेपालको प्रवेशद्वार गैँडाकोट हो । यहाँबाट चिनको कोरला नाका जोड्ने राजमार्ग बनाउने मेरो सपना छ । त्यसका लागि प्रारम्भिक काम पनि भइरहेको छ ।
१० वर्ष भयो यो क्षेत्रबाट यहाँले प्रतिनिधित्व गरेको, १० वर्षमा यहाँका यी सपनाहरु कति पूरा भए ?
कामहरु भएका छन् । धेरै महŒवपूर्ण कामका आधारहरु तयार भएका छन् । अघिल्लो कार्यकालमा हामी सरकारमा भएनाँै । त्यसैले धेरै काम हुन सकेन । दोस्रो कार्यकालमा कामले धेरै गति लिएको छ । कालीगण्डकी कोरिडोर, दलदलेदेखि डेढगाँउको बाटो, बाह्रखोलहुँदै बुलि∙टार जोड्ने बाटो बनिरहेको छ । स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि काम भएका छन् । दुईवटा ठूला पुलहरु बन्दैछन् । यो क्षेत्रमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने, दुर्घटना धेरै हुने क्षेत्र भएकाले एउटा ट्रमा सेन्टर बनाउने मेरो योजना छ । अन्य केही ठूला योजनाहरुका आधारभूत कामहरु भइरहेको छ । सानातिना कामहरु त दर्जनौँ भएका छन् । अब यी योजना निर्माणले गति लिनेछ ।
दश वर्षमा पूरा नभएका यी योजना अब पाँच वर्षमा सबै पूरा हुन्छन् त ?
हुनुपर्छ र हुन्छ भन्ने विश्वास छ । मैले बनाएका योजनाहरु कार्यान्वयन मैले नै गर्नुपर्छ भन्ने मेरो मान्यता हो किनकि त्यो काम पूरा गर्न मलाई जति सहज अरुलाई हुँदैन । अर्को कुरा अहिलेसम्म संविधान निर्माण तथा कार्यान्वयनमा धेरै समय खर्चनुप¥यो अब विकासका लागि समय समर्पित गर्ने हो । अहिलेसम्म राजनीतिक कारणले, संविधान निर्माणका कारणले विकासले सोचेअनुरुप गति लिन नसकेको हो । अबको मेरो कार्यकाल पूर्णरुपमा समृद्ध र विकसित क्षेत्र बनाउने कुरामा केन्द्रित हुनेछ ।
अहिले बामगठबन्धन छ, यसबाट काँग्रेस डराएको छ भन्ने पनि सुनिन्छ । यसलाई यहाँले कसरी लिनुभएको छ ?
मैले भन्दा पनि जनताले यस गठबन्धनलाई कसरी लिइरहेका छन् भन्ने कुरा महŒवपूर्ण हो ।यो गठबन्धनले त जनतालाई फाइदा नै भएको छ । मलाई लाग्छ बामगठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजिरहेको छ भनेर जनता त्रसित भएका छन् । दुईतिहाइ मत ल्याएर संविधान संशोधन गरेर देशमा साम्यवाद ल्याउने बामगठबन्धनको कुराले लोकतान्त्रिक जनतालाई काँग्रेसप्रति आकर्षण बढाएको छ । अर्कातर्फ काँग्रेसभित्र पनि यो कुराले केन्द्रदेखि स्थानीय तहसम्म मजबुत एकता कायम गराएको छ । त्यसैले यो गठबन्धनको कुराले समग्रमा फाइदा पुगेको छ । बामगठबन्धनको साम्यवाद ल्याउने सपना पूरा हुँदैन भन्ने मलाई विश्वास छ ।

 

गठबन्धन नै नहुँदा पनि स्थानीय तहको निर्वाचनमा काँग्रेसको नजिता कमजोर देखियो, अब झन् गठबन्धन हुँदा त यसले प्रभाव पार्ला नि ?
हेर्नुस्, मैले भनिहालेँ कार्यकर्तामा बामगठबन्धनले अधिनायकवाद ल्याउँछ कि भन्ने त्रास छ । अहिले नेपाली काँग्रेसमा सबै क्षेत्रमा एकताको भाव छ । अर्कातर्फ नेपाली काँग्रेसले देशको विकासका लागि धेरै काम गरेको छ । आकाशमा जहाज उड्न थालेका छन् । हरेकको हातमा मोबाइल छ । ८ हजार किलोमिटर रहेको बाटो ८१ हजार किलोमिटर बाटो बनायो । राजनीतिक परिवर्तन पनि काँग्रेसकै नेतृत्वमा भयो । त्यसैले काँग्रेसप्रति आकर्षण छ भन्ने मलाई लागेको छ ।
यहाँले काँग्रेसले धेरै ग¥यो भन्नुभयो तर आम जनतामा नेताले केही गरेनन्, देश बिगारे भन्ने गुनासो छ ?
हेर्नुस्, हामीले गरेका कामका प्रचार गर्न नजानेर हो । बामपन्थीहरु सानो कामलाई रटेकोरट्यै गरेर ठूलो काम गरेको जस्तो गर्छन् । हामी आपूmले गरेका काम जनतालाई भन्न सक्दैनौं । देशमा विकासको जग बसालेको काँग्रेसले हो । अहिले नै काँग्रेसले गरेका काम जति मैले भनेँ त्यो यसभन्दा अगाडि यहाँले पनि सुन्नुभएको थिएन होला । यही हो फरक । काँग्रेसले नै बनाएको योजनामा वृद्धभक्ता दिएर अहिले एमालेले जहिले त्यही रटिरहेको छ । वृद्धभक्ता शतप्रतिशत काँग्रेसले नै बढायो तर त्यसलाई आझेलमा पारिन्छ ।

दश वर्षदेखि यहाँलाई यो क्षेत्रका जनताले जिताइरहेका छन् अब पनि फेरि शशांक कोइरालालाई जिताउनुपर्ने आधार के छ ?
मलाई भन्दा पनि नेपाली काँग्रेसलाई जिताउनुपर्छ भन्छु म त । नेपाली काँग्रेसले नै राजनीतिक परिवर्तनको नेतृत्व ग¥यो अब समृद्धिको नेतृत्व पनि काँग्रेसले नै गर्ने हो । मेरो क्षेत्रको कुरा गर्दा अघि नै भनिसकेँ मैले यो क्षेत्रलाई समृद्ध, विकसित र सुन्दर क्षेत्र बनाउने सपना कोरेको छु । केही पूरा पनि भएका छन् भने केही कामका आधारहरु तयार भएका छन् । केही महŒवपूर्ण कामहरुको परिणाम पनि देखिएको छ । अबको कार्यकालमा त्यो सपनालाई पूर्णरुपमा साकार पार्ने मेरो योजना छ । यो क्षेत्रलाई औद्योगिक, कृषिमा आधुनिकीकरण, पूर्ण रोजगारी र विकसित बनाउनका लागि म जनाताका माझमा आएको छु ।

यहाँ नेपाली काँग्रेसको महामन्त्री पनि हुनुहुन्छ ? काँग्रेसले लोकतान्त्रिक गठबन्धन गर्ने भनेर भन्यो तर खास मजबुत

गठबन्धन गर्न सकेन नि किन हो ?
हो हामीले लोकतान्त्रिक शक्तिलाई एक ठाँउमा ल्याउने प्रयास गरेका थियौं । सिट बाँडफाँडमा कति कुरा मिल्न सकेन त्यसैले सोचेजस्तो गठबन्धन बन्न सकेको छैन । तर पनि कतिपय ठाँउमा हामी गठबन्धन गरेरै अगाडि बढेका छौं । अझै पनि गठबन्धनको प्रयास भइरहेको छ ।
अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ ?
हेर्नुस्, चुनाव हुँदैछ । यसमा तपाईंको विवेक प्रयोग गर्नुहोस् । आवेग र उत्तेजनाभन्दा भविष्य सोचेर मत हाल्नुहोस् । आज तपाईंले हालेको मतले दीर्घकालसम्म असर पर्छ । सही र गलत छुट्याउन सक्नुभएन भने भविष्यमा पश्चात्तापमा पर्नुहुन्छ । त्यसैले कहिल्यै नपछुताउने गरी मतदान गर्नुहोस् । नेपाली काँग्रेसमात्र देशको समृद्धि र जनताको स्वतन्त्रताका पक्षमा लड्ने पार्टी हो । सानातिना गुनासो र असहमति छाड्नुहोस् सिंगो देशलाई जिताउनुहोस् । त्यसका लागि काँग्रेसमात्र तपाईंको विकल्प हो भन्न चाहन्छु ।

Share.

Leave A Reply