पर्यवेक्षक भनेको पर बसेर यथार्थ चित्रण गर्ने होे – जिल्ला निर्वाचन अधिकारी घिमिरे

0


कावासोती । मंसिर २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षकहरुले स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढंगबाट पर्यवेक्षण गर्न नवलपुरका जिल्ला निर्वाचन अधिकारी भेषराज घिमिरेले बताउनुभएको छ । घिमिरेले पर्यवक्षेकहरुलाई निर्वाचनसंग सरोकार राख्ने सम्बद्ध पक्षहरुसंग निर्वाचनसम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक सम्बाद गर्न समेत आग्रह गर्नुभएको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले शनिबार कावासोतीमा गरेको पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा आसन्न निर्वाचनका विषयमा जानकारी गराउँदै घिमिरेले पर्यवेक्षक भनेको पर बसेर यथार्थ बस्तुस्थितिको चित्रण गर्नुपर्ने बताउनुभयो । निर्वाचन आचारसंहिताका विषयमा जानकारी गराउनुभएका घिमिरेले शनिबारसम्म नवलपुर क्षेत्रभित्र लिखित रुपमा कुनै पनि आचारसंहिता उल्लघंनका निवेदन नआएको र मौखिक रुपमा भने आइरहेको जानकारी गराउनुभयो ।

बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिमका २० जना पर्यवेक्षकलाई अभिमुखीकरण गर्दै जियोकका राष्ट्रिय प्रशिक्षक देवराज अर्यालले पर्यवेक्षकले आम सर्वसाधारणको नजरबाट नै पर्यवेक्षण गरिनुपर्ने बताउनुभयो । अर्यालले जियोकका बारेमा समेत जानकारी दिनुभएको थियो । आसन्न निर्वाचनमा देशभर ५२ वटा भन्दा बढी संस्थाले पर्यवेक्षण गर्दैछन् । यसमध्ये जियोक पनि एक हो । जियोक मध्येभित्र पनि विभिन्न १० संस्था आवद्ध रहेका छन् । अर्यालका अनुसार जियोकले २०४७ पछि सबै भन्दा राम्रो पर्यवेक्षण गर्दै आएको छ । जियोकबाट देशभर ६ सय पर्यवेक्षक मध्ये दाउन्ने सुस्तापूर्व र पश्चिममा मात्रै २० जना रहेको अर्यालले जानकारी दिनुभयो ।


यसैगरी दाउन्ने सुस्ता पूर्व र पश्चिम दुवै क्षेत्रका जिल्ला संयोजक ध्रुवमणि पौडेलले पर्यवेक्षकको भूमिका निर्वाचन प्रणालीका सन्दर्भमा भएका राम्रा र नराम्रा कामको टिपोट गर्नुमात्रै रहेको बताउनुभयो । पौडेलले पर्यवेक्षकले निर्वाचन स्थलभित्र वा बाहिर भएका विसंगति, अनियमितता, धाँधली, डर त्रास देखाइ मतदातालाई प्रभावित बनाउन खोजिएको छ भने त्यस्ता विषयमा बढी मध्यनजर गर्न सुझाब दिनुभएको छ ।

Share.

Leave A Reply