परिचयपत्रबाट ऋण दिन माग

0

काठमाडौँ, २३ माघ

मुक्तकमैयाले प्राप्त गरेको परिचयपत्रलाई धितो राखी बैङ्कबाट ऋण लिन पाउने व्यवस्थाको माग गर्दै भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालको ध्यानाकर्षण गराइएको छ ।

सामुदायिक ग्रामीण विकास समाज, हेल्प सोसाइटी नेपाललगायत संस्थाले संयुक्तरुपमा उक्त समुदायका अधिकांश परिवार बेरोजगार भएकाले व्यवसाय सञ्चालन गर्न ऋण तथा रोजगारीका वैकल्पिक व्यवस्था गर्न माग गर्दै सचिवालयमार्फत ध्यानाकर्षणपत्र बुझाएको हो ।

उक्त पत्रमा पुनःस्थापना हुन बाँकी कमैयालाई चाँडो व्यवस्थापन गर्नुपर्ने, घर निर्माणका लागि काठबापत विनियोजन गरिएका रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने, उनीहरुले भोगचलन गर्दै आएका जमीनको लालपुर्जाको व्यवस्था गर्नुपर्ने, सरकारले अभिलेख सङ्कलन गर्दा छुटेका कमैयालाई पुनः दर्ता गर्नुपर्ने, प्रदेश नं २ मा विद्यमान हरुवा चरुवाजस्ता बधुवा मजदूरलाई मुक्त गर्नुपर्नेलगायत माग गरिएको छ ।

सरकारले विसं २०५७ मा कमैयालाई मुक्त घोषणा गरेकामा २७ हजार ५७० को लगत तयार गरेको थियो । विसं २०६५ मा पुनःस्थापनाको गठन आदेश आएपछि आव २०६६÷०६७ देखि व्यवस्थापनको कार्य शुरु गरेकामा करीब दुई हजार कमैयालाई पुनःस्थापना गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।- रासस

Share.

Leave A Reply