परदेशी आउन ढिला भएपछि बिस दिनदेखि किरिया चल्दै

0

प्रेम क्षेत्री, मध्यविन्दु । हिन्दु परम्परामा मृत्यु भएको १३ दिनमा काज किरिया सक्ने चलन छ । तर नवलपरासीको मध्यविन्दु–१ (साविक कोल्हुवा–३)का जीवनप्रकाश थारुके घरमा किरिया बस्न थालेको २० दिन भइसक्यो ।
जीवनका बुबा विकाराम थारुको स्वास्थ्य ठिकै थियो । घरमा खेतीपाती गर्दै आएका उनी बिरामी पर्न थाले । प्रेसर बढ्दै जाँदा प्यारालाइसिस भयो । मलेसिया रहेका जीवनले फोन मार्फत बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी पाइरहेका थिए । उपचारका लागि पैसा पनि पठाउने गर्थे । तर उपचार लागेन । २००८ माघ २८ गते जन्मिएका विकाराम थारुको गएको फागुन २५ गते ६५ वर्षको उमेरमा निधन भयो । उपचार गरेर बाबुलाई निको बनाउने जीवनको धोको थियो । तर त्यो धोको पूरा हुन सकेन । साढे चार वर्ष अघि मलेसिया गएका जीवनप्रकाश थारुले अन्तिम समयमा बुबाको मुख हेर्न पनि पाएनन् । गएको साउनमा खेतीपाती सकेर मलेसिया गएका जीवनले छुट्टि मिलाएर आउन पाएनन् । उतै भिसा थपेर बसिरहेका थिए ।
विकारामको निधन भएपछि किरिया बस्ने कुरामा गाउँमा ठूलै छलफल भयो । विकरामका एकमात्र छोरा जीवन मलेसियामा थिए । घरमा छोरा नभएपछि मृतक विकारामका माहिला भाइ सुकराम थारु किरिया बसे । त्यसबेलाका कुरा सम्झँदै विकारामका भान्जा योगेन्द्र थारुले भने “समाजको रीतिरिवाज संस्कार मान्नै प¥यो ।”
मलेसियाको जोरबान युपिनमा मोडल टिम्बर कम्पनीमा काम गर्ने जीवन बुबाको मृत्युको खबरले बेचैन थिए । किरिया बस्न घर फर्कने निधो गरेका उनलाई भनेको बेला कम्पनीले छुट्टि दिएन । काममा जीवनको मन जान छाड्यो । त्यसपछि कम्पनीका साथीहरुले बिदा दिनुपर्ने भनेर कम्पनीमा दबाव दिन थाले । अन्ततः उनी बुबाको मृत्यु भएको १२ औं दिनका दिन घर आइपुगे ।
साढे चारवर्षसम्म बाबुआमा, श्रीमती, छोराछोरीको मुख देख्न नपाएका उनको आगमनले घरमा खुसी छाउनु पर्नेमा रुवाबासी चल्यो । जीवन गएको ८ दिनदेखि बुबाको किरिया बसिरहेका छन् । आमा सुमित्रा मर्दनियाले भनिन् “सोमबार २० दिन भयो किरिया बसेको । घर नै उराठलाग्दो बनेको छ ।” किरियापुत्रीलाई कुरेर बसेका भान्जा योगेन्द्र थारुले समयमा नै किरिया बस्न नपाउने धेरै नेपालीको बिडम्वना रहेको सुनाए ।
लेबी बापत १६ सय काट्ने नै भएपनि जीवन आफैं आतेजाते टिकट काटेर बिदा मिलाएर आएका हुन् । फर्केर नआउने हो कि भनेर ३५ सय रिंगिट मलेसियन कम्पनीले नै राखेको छ । “नियम नै त्यस्तै बनाएको छ । यस्तो बेला फर्कन नेपालीलाई बहुतै गाह्रो ।” किरिया बसिरहेका जीवनले सुनाए । दुई महिनाको छुट्टिमा नेपाल आएका उनले फेरि मलेसिया फर्कनैपर्ने बाध्यता रहेको बताए ।
विदेशमा रहेका धेरै नेपालीको जीवनको जस्तै बाध्यता छ । भनेके बेला छुट्टि नपाउँदा किरिया बस्ने मिति सार्नुपर्छ । परदेशीलाई त गाह्रो छँदैछ, समयमै चोखिने काम गर्न नपाउँदा घरमा बस्नेहरुको पीडा पनि लम्बिएको छ ।

Share.

Leave A Reply