पति विदेश गएपछि पत्नीको कर्तव्य

0


डा. मतिप्रसाद ढकाल

पति विदेश गएपछि पत्नीले आफ्ना सौभाग्यसूचक आभूषणहरूलाई धारण गर्दै भगवान्को पूजा गर्नुपर्छ, पतिको कुशलताका समाचारहरूको ख्याल गर्नुपर्छ र विधिपूर्वक गृहस्थीको पालन गर्नुपर्छ । पतिको अनुपस्थितिमा सासूको नजिकै सुत्नुपर्छ र सासूको आज्ञा पालन गर्नुपर्छ । पति विदेश जाँदा उसले जे काम गर्न आज्ञा दिएको थियो ती सबै कामहरू गर्नुपर्छ र अधूरा कामलाई पूरा गर्नाका साथै बिग्रिएका सामानको मर्मत गर्नुपर्छ ।

पति विदेश गएपछि पत्नीले दैनिक नियमहरूको विधिपूर्वक पालन गर्नुपर्छ । आवश्यकतालाई विचार गरेर मात्र धन खर्च गर्नुपर्छ । पतिले आरम्भ गरेका काम वा योजनालाई पूरा गर्न दत्तचित्त हुनुपर्छ । विवाह, न्वारन आदि खुसीका अवसरमा तथा मृत्यु आदि आपत्तिका समयमा बाहेक माइत जान हुँदैन र माइत जाने वेलामा पतिको विश्वासपात्र व्यक्तिलाई साथमै लिएर जानुपर्छ तर माइतामा धेरै समय बस्नु हुँदैन । माइतमा रहँदा पनि वेषभूषामा परिवर्तन गर्नु हुँदैन ।

व्यापार व्यवसाय गर्दै गरेको पति विदेश गएका खण्डमा पत्नीले आफ्ना विश्वस्त, इमानदार र आज्ञाकारी सेवकहरूको सहायता लिएर व्यापार बढाउनुपर्छ र खर्चलाई आफ्नो शक्तिअनुसार कम गर्नुपर्छ । जब पति विदेशबाट फर्किन्छ तब पत्नी जेजस्तो वेषभूषामा छ त्यही अवस्थामा पतिका सामु जानुपर्छ र उसको उचित सत्कार गर्नुपर्छ ।

धर्ममर्थं तथा कामं लभते स्थानमेव च ।
निःसपत्नं च भर्तारं नार्यः सद्वृत्तमाश्रिताः ।।
(कामसूत्र ४।१।४३)
अर्थात् जुन स्त्रीहरू आचारविचारले युक्त हुन्छन् उनीहरूलाई धर्म, अर्थ, काम र उच्च स्थान पनि प्राप्त हुन्छ भने त्यस्ता स्त्रीको पति पनि एकपत्नीव्रत हुने भएकाले उसका उपपत्नीहरू हुँदैनन् । पति विदेशमा गएका अवस्थामा पत्नीको आचारविचारमा ह्रास आउँदै जाँदा वर्तमानमा क्रमशः दाम्पत्यजीवनको मात्र होइन बच्चाबच्चीको समेत बिचल्ली हुँदै जान थालेको हाम्रो समाजलाई यस्ता विकृतिबाट मुक्त गर्नका लागि पत्नी स्वयंले आफ्ना आचारविचार र व्यवहारमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।
(गैंडाकोट–१, विकासचोक, प्राज्ञिक मार्ग, नवलपुर)

Share.

Leave A Reply