नेपाल फर्मा तथा हेल्थ एक्स्पो फागुनमा

0

काठमाडौँ, ८ माघ

साताँै संस्करणको ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ अगामी फागुन १७ देखि १९ गतेसम्म चितवनस्थित नारायणगढमा आयोजना गरिने भएको छ ।

औषधि उत्पादनका क्षेत्रमा भित्रिएका नवीनतम् प्रविधि तथा नेपाली औषधि उद्योगका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने ध्येयले नेपाल औषधि उत्पादन सङ्घद्वारा आयोजना गरिने सो प्रदर्शनीमा करीब दुई सय प्रदर्शनी कक्ष रहनेछन् ।

प्रदर्शनीमा भारत र चीन, ३० बहुराष्ट्रिय कम्पनीका १२० तथा दश अस्पतालले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीमा पछिल्लो समय विकसित देशमा औषधि उत्पादनमा प्रयोग प्रविधि, प्रयोगशाला तथा उपकरण आकर्षण रहनेछन् ।

नेपालमा हाल ५३ वटा औषधि उत्पादन उद्योग रहेका छन् । ती उद्योगबाट करीब २८० भन्दा बढी प्रकारका औषधि वार्षिक रुपमा रु २० अर्बभन्दा माथिको उत्पादन हुने गर्दछ । नेपाल औषधि उत्पादनमा पछिल्लो समय आत्मनिर्भरको बाटोमा अगाडि बढिरेहको सङ्घले जनाएकोे छ ।

भन्सार विभागको गत वर्षको तथ्याङ्कअनुसार रु २५ अर्ब बराबरको औषधि विदेशबाट आयात भएको थियो । अर्कोतर्फ नेपालमा हाल ३५ वटा कलेजमा औषधि उत्पादनसम्बन्धी (फर्मासिस्ट)को अध्ययन अध्यापन हुने गरेको छ ।

यस पटकको प्रदर्शनीमा मरणोपरान्त अङ्गदानका लागि सामाजिक अभियान सञ्चालन गरिने र एक हजारले अङ्ग दान गर्ने अपेक्षा आयोजकले राखेको छ । यसका लागि सङ्घले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य गरेको छ । मस्तिष्क मृत्यु भएपछि पनि मुटु, फोक्सो, सानोआन्द्रा, कलेजो, अग्नाशय, मिर्गौला, आँखालगायत अङ्ग निश्चित समयभित्र उपयोगमा ल्याउन सकिन्छ । यसका लागि अङ्गदानसम्बन्धी ऐन तथा नियमावली कार्यान्वयनमा आइसकेको छ ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दीपक दाहालले नेपाली औषधि उद्योगबाट विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको कुशल उत्पादन प्रविधिबाट उत्पादन भइराखेका जानकारी दिँदै सरकारले केही सुविधा दिए नेपाल औषधिमा आत्मनिर्भर हुने बताउनुभयो ।

सङ्घका महासचिव उज्वलराज पाण्डेले औषधि आयातलाई क्रमशः विस्थापन गर्दै स्वदेशी उद्योगबाट आत्मनिर्भर हुने नीति सरकारले लिनुपर्नेमा जोड दिनुभयो । मेला संयोजक नारायणबहादुर क्षेत्रीले प्रदर्शनीले नेपाली औषधि उद्योगलाई थप प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीमा करीब ५० हजारले अवलोकन गर्ने विश्वास गरिएको छ । – रासस

Share.

Leave A Reply