नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य, आरिफ र दीपेन्द्रको अर्धशतक

0

भदौ १६

आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

३० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो ।
ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।

सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे ।

४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने र नेपालले ३० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो ।

Share.

Leave A Reply