नेपालमा सिग्नेचर पुल निर्माणको सुरुआत चितवनबाट हुने

0

चितवन, १० बैशाख । नेपालमा सिग्नेचर पुल निर्माणको सुरुआत चितवनबाट हुने भएको छ । पहिलो चरणमा ४ वटा सिग्नेचर पुल निर्माणका लागि विश्व बैंकले ४ अर्ब लगानी गर्ने भएको छ । यस्तो पुल बनाउने कामको सुरुआत चितवनको नारायणी नदीबाट हुँदैछ। भरतपुर र गैँडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर पुल बनाउन अहिले डिजाइनको काम अघि बढेको छ । यस्ता पुलहरु बनाएपछि स्थानीय क्षेत्रमा पर्यटकीय चहलपहल पनि बढ्ने भएकाले यसले आर्थिक हिसाबले पनि महत्व राख्ने विश्वास गरिएको छ । चितवनसंगै बुटवलको तिनाउ, सर्लाही र रौतहट जोड्ने बाग्मती तथा दमौलीमा सिग्नेचर पुल बनाउन डिजाइनको भइरहेको छ । सडक विभागको वैदेशिक महाशाखाले विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको छ । त्यसका लागि करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । तर सबैका लागि आर्थिक स्रोत जुटेको छैन । विश्व बैंकले सडक विभागलाई दिने १८ अर्बमध्ये ४ अर्ब रकम विभिन्न नदीहरुमा सिग्नेचर पुल बनाउन प्रयोग हुने तय भएको विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिनुभयो । कलात्मक तथा आकर्षक रुपमा बन्ने यस प्रकारका पुल राजमार्ग र त्यस आसपासका शहरी क्षेत्र नजिकका नदीमा तयार गरिनेछ । सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । बैंकले यसका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको हो ।

Share.

Leave A Reply