नारायणी नदी सफाइ अभियान आज दशौँ हप्तामा

0

नारायणगढ, १० बैशाख । स्थानीय युवाको सक्रियतामा फागुन ७ गतेबाट शुरु भएको नारायणी नदी सफाइ अभियान आज दशौँ हप्तामा आइपुगेको छ । यो अवधिमा यस क्षेत्रका प्रदेश सांसद, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल हुँदै आज नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठसहित नेता तथा कार्यकर्ता पनि सफाइ अभियानमा जुटेका छन् । सफाइका क्रममा श्रेष्ठले चितवनको प्रमुख शहर नारायगढ र सँगै बग्ने नारायणी नदी जिल्लाको सौन्दर्य भएको भन्दै यसलाई बचाई राख्नुपर्ने बताउनुभयो । उहाँले नदी सुन्दर बनाएर रमणीय स्थलका रुपमा विकास गर्न यो अभियान सार्थक हुने बताउनुभयो । अभियानमा सहभागी कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरेले नारायणगढ बचाउनका लागि पनि नारायणी नदी आसपास सुन्दर बनाउनुपर्ने बताउनुभयो । अभियानमा लाग्नु भएकामध्ये एक स्थानीय युवानेता रामकुमार श्रेष्ठले सरसफाइ अभियानमा सबैको सहभागिताले युवामा उत्साह थपिएको बताउनुभयो । स्वतःस्फूर्त स्थानीयवासीसहित सामाजिक कार्यमा सक्रिय वेय ग्रुप, लायन्स र लियो क्लब, उमाशंकर ट्रस्टलगायत सफाइ अभियानमा जुटेका छन् । संकलित फोहोर भरतपुर महानगरपालिकाको ट्र्याक्टरले डम्पिङ साईडमा पु¥याउने गर्दछ । देवघाटमा मानिस जलाउँदा बचेका दाउरा, फालिएका कपडा, कोइलासँगै भरतपुरका विभिन्न क्षेत्रबाट जम्मा भएको ढलको फोहोर पनि नारायणी नदीमा सिधै मिसाइँदै आएको छ । नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगर–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म आठ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको बताउनुभयो । चार ठाउँमा छुट्दै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई आठ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको बताउनुभयो ।

Share.

Leave A Reply