नारायणगढमा अवैध रुपमा भित्रिदै सुनचाँदी, २ केजी सुन र ४ केजी चाँदीसहित एक पक्राउ

0


चितवन । चितवनको नारायणगढबाट २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद गरिएका सुनचाँदी र नगद बुधबार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको छ । उक्त सुनचाँदी अन्दाजी मुल्य १ करोड बराबरको रहेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भरतपुर महानगरपालिका–१ पुतली बजारमा डेरा गरि बस्दै आएका २७ वर्षीय सञ्चालक राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नारायणगढको न्यू गणेश सुनचाँदी पसलमा लुकाई राखिएको सुनचाँदी र नगद १२ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको हो । सो क्रममा सुनको जस्तो पहेंलो रंगको धुलोको डल्लो ४३१ ग्राम तौल भएको १ थान, छ सय पैंतालिस ग्राम, सात सय नब्बे मिलिग्राम तौल भएको सुनको जस्तो पहेंलो रंगको धातुको टुक्राहरू ७ थान, १ किलो लेखेको सुनको जस्तो पहेंलो रंगको धातुको बिस्कुट १ थान, चार के.जी.छ सय सत्र ग्राम, छ सय तिस मिलिग्राम चाँदीको जस्तो धातुको टुक्राहरू र नगद रू. बाह्र लाख प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएका प्रहरी निरीक्षक रोशन थापाको विशेष टोली र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको विशेष टोलीले मंगलबार सुनचाँदीसहित नगद बरामद गरेको हो ।


प्रारम्भिक अनुसन्धानबाट सो सुन र चाँदी तिब्बतसंग नाका जोडिएको रसुवाबाट अवैध रुपमा भित्र्याईएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिनुभयो । पक्राउ परेका पाटिलले केही परिमाणमा काचो सुन विक्री गरि सकेको र सो विक्रीबाट प्राप्त नगद १२ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले बताउनुभयो ।
विगत १० वर्षदेखि नारायणगढमा सुन विक्री वितरण गर्ने रिफाईनिङ गर्ने काम गर्दै आएका पाटिललाई भदौ १८ गते एक भारतीय नागरिकले सो सुन ल्याई दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अुनसन्धान पश्चात बरामद गरिएका सुनचाँदी, नगद र पक्राउ गरिएका पाटिललाई भन्सार ऐन २०७४ अनुसार विस्तृत अुनसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
चितवनमा माग अनुसार सुनचाँदी आपुर्ती नहुँदा पटक–पटक अवैध रुपमा भित्रिने गरेको गरेको छ । केही दिन अघि मात्र चितवनका सुनचाँदी व्यवसायीहरुले माग अनुसारको सुनचाँदी नपाएको भन्दै दुईदिन पसल ठप्प पारेका थिए ।

Share.

Leave A Reply