नव निर्वाचित प्रधानमन्त्रीको सपथ आज, आजै मन्त्रिमंडल गठन हुने

0

काठमाडौँ, २४ जेष्ठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ कार्यक्रम हुनेछ । सपथ लिएसँगै उहाँले पदभार सम्हाल्नु हुनेछ । देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो । संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो । सपथपछि आज नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ । आज प्रधानमन्त्रीको शपथग्रहण लगत्तै देउवाले समर्थनमा रहेका दलहरुबाट पहिलो चरणमा ५ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी गर्नुभएको छ । माओवादी केन्द्र, कांग्रेस, फोरम लोकतान्त्रिकबाट गरि ५ जनाको मन्त्रिमंडल बनाउने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य पहिलो चरणमा नै जाने बताइएको छ । माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकबाट एक–एक जना मन्त्रिपरिषद्मा सहभागि हुने कांग्रेसका नेताहरुले बताएका छन् ।

पहिलो चरणमा कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की र फर्मुलाह मन्सुर मन्त्री बन्नेछन् । महेश आचार्यलाई मन्त्री बनाउन देउवा तयार भएका छन् । तर रामचन्द्र पौडेलले आफ्नो पक्षका मन्त्रीको नाम दिएका छैनन् । श्रेष्ठलाई उप्रधानमन्त्री बनाउने तयारी छ । उपप्रधानमन्त्रीसहित उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी गरेका छन् । श्रेष्ठलाई भौतिक दिए अर्थमा महेश आचार्य वा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाउने तयारी छ । कार्कीलाई अर्थ जिम्मा दिइए आचार्यलाई सूचना तथा सञ्चारसँगै सरकारको प्रवक्ता बनाउने तयारी भएको देउवानिकट स्रोत बताउँछ ।

कांग्रेसबाट बुधबार चार मन्त्री हुँदा माओवादीबाट २, फोरम लोकतान्त्रिकबाट एक र राप्रपाबाट एक मन्त्री बनाउने तयारी छ । कांग्रेस–माओवादीको संयुक्त कार्यदल बसेर मन्त्रीको टुंगो लगाउँदै छ । मन्त्री चयनकै लागि कांग्रेस र माओवादीको पनि आन्तरिक बैठक बस्दै छ । राजपा र संघीय समाजवादी फोरम भने तत्काल सरकारमा सहभागी नहुने भएका छन् ।

मन्त्रालय टुंगिन बाँकी

कांग्रेसले अर्थ, परराष्ट्र, सञ्चार, भौतिक पूर्वाधार, सहरी विकासमा दाबी गर्दै सरकारमा मन्त्री पठाउने तयारी गरेको छ । माओवादीले गृहसहित ऊर्जा, शिक्षा, परराष्ट्रमा दाबी गरेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज केन्द्रीय कार्यालयको बैठक बसेर मन्त्रीको टुंगो लगाउने जानकारी दिए ।

माओवादीले गृह, ऊर्जा आफ्नो दलले लिने र अर्थ, संचार कांग्रेसले लिने समझदारी भए पनि अरू मन्त्रालय साटफेर गर्नुपर्ने जनाएको छ । तर, कांग्रेसले परराष्ट्र मन्त्रालय आफैँसँग राख्ने तयारी गरेको छ । परराष्ट्र आफ्नो दलले लिएर कृष्णबहादुर महरालाई पठाउने तयारी माओवादीको छ । महरा परराष्ट्र भए गृहमा जनार्दन शर्मा जानेछन् ।

माओवादीबाट कसले गरे दाबी

माओवादीबाट कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेलले दाबी गरिरहेका छन् । हरिबोल गजुरेलले पनि उपप्रधानमन्त्रीसहित सरकारमा नेतृत्व गरेर जान दाबी गरिरहेका छन् । माओवादीबाट मन्त्रीका लागि शिवकुमार मण्डल, महेन्द्र शाही, श्याम श्रेष्ठ, टेकबहादुर बस्नेत, सन्तबहादुर थारू दाबेदार छन् । त्यस्तै, अग्नि सापकोटा, शक्ति बस्नेत, रामनारायण बिडारीको पनि दाबी छ । सीता नेपाली र रेखा शर्माले पनि दाबी गरेका छन् ।

Share.

Leave A Reply