नवलपुरमा विद्युत अवरुद्ध कायमै/आगामी मंगलवारसम्म पूर्णरुपमा सुचारु हुने

0

डोलराज रानाभाट, २० चैत्र । नवलपुर जिल्लामा अवरुद्ध विद्युत आजबाट सुचारु हुने भनिएपनि अन्तत प्राधिकरण असफल भएको छ । चट्याङले क्षती पुर्याएपछि ल्याइएको नयाँ ट्रान्सफर्मर आज राति १२ बजेबाट संचालनमा आउने र भोलिबाट केहि सहज तरिकाले विद्युत सेवा सुचारु भएपनि पूर्णरुपमा भने अवरुद्ध नहट्ने भएको छ ।

चट्याङले प्रगतिनगरमा क्षती पुर्याएको ट्रान्सफर्मर ३० मेघा भोल्टको भएको र अहिले अवरुद्ध भएका ठाउँहरुको विद्युत माग २३ मेघा भोल्ट रहेको विद्युत प्राधिकरण गैडाकोट शाखा प्रमुख सुजन रिजालले विजय एफएमलाई जानकारी दिनुभयो । तर माग २३ मेघा भोल्ट भएपनि नयाँ ल्याइएको ट्रान्सफर्मरको क्षमता जम्मा १५ मेघा भोल्टको रहेकाले अवरुद्ध विद्युत पूर्णरुपमा संचालनमा नआउने भएको हो ।

नयाँ जडित ट्रान्सफर्मरले दिने सेवापनि ८० देखि ९० प्रतिशत मात्रै रहने हुँदा अवरुद्ध विद्युत सुचारु हुन समय लाग्ने रिजालको भनाई छ । उहाँका अनुसार यदि थप माग गरिएको विद्युत भरतपुरबाट प्राप्त भएमा आगामी मंगलवार सम्ममा पूर्ण रुपमा विद्युत सेवा संचालनमा आउने छ । अहिले भरतपुरबाट १०० एम्पीयरको फिडर जडान भएको र थप २०० एम्पीएर फिडर विद्युत माग गरिएको छ ।

माग गरिएको उक्त लाईन ल्याउन थुम्सीदेखि व्रिट्रिस क्याम्पसम्मको काम भोलि सम्म सकिने र फेरि व्रिट्रिस क्याम्प देखि आँपटारीसम्मको काम सकाएर आगामी मंगवारबाट मात्रै पूर्ण क्षमतामा विद्युत संचालनमा आउने उहाँको दावी छ । अहिले काठमाण्डौ बाट आएको टोलीले नयाँ आएको ट्रान्सफर्मर जोडेको र प्राविधिक चेकजाँच सकिएको छ । अहिलेसम्म यहि ट्रान्सफर्मरवाहेक कुनैपनि समस्या नदेखिएको र नयाँ जडित ट्रान्सफर्मरलाई भोलिबाट पूर्ण क्षमतामा संचालन गरिने रिजालको भनाई छ ।

Share.

Leave A Reply