नवलपुरमा विकासका सम्भावना धेरै छन – विनोद चौधरी

0


उद्यमीले दिउँसै सपना देख्न सक्छ । सपना सधैँ एउटै देख्छ, जुन सपनाले कहिलै सुत्न दिदैन

विनोद चौधरी प्रसिद्ध म्यागेजिन फोब्र्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुनुहुन्छ । फोब्र्सका अनुसार उहाँको अहिलेको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर एक खर्ब ३५ अर्ब रुपैयाँ हाराहार रहेको छ । टाटा समूहको सहकार्यमा चौधरीले एसिया, अमेरिका, अफ्रिका लगायत बिभिन्न मुलुकमा होटल सञ्जाल विस्तार गर्नुभएको छ त्यस बाहेक वाइवाइ चाउचाउलाई पनि विश्वभर फैलाउने मिसन लिएर अघि बढीरहनुभएको छ । भारतका बिभिन्न राज्यमा वाइवाइको उद्योग स्थापना गरि सक्नुभएका चौधरीले केही समय अघि युरोपमा समेत प्लान्ट लगाउनुभएको थियो । चौधरीको व्यवासायका साथसाथ समाजसेवा र अहिले राजनीतिमा पनि झुकाव बढ्दै गएको छ । चौधरी फेरी एक दशकपछि राजनीतिमा फर्किउनुभएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले चौधरीलाई समानुपातिक सभासद बनाएको थियो । २०७० सालको चुनावमा नवलपुर क्षेत्रबाट नै प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो। तर, उम्मेद्वारी भने दिनुभएन । उद्योगपति विनोद चौधरी अहिले भने नेपाली कांग्रेसमा आउनुभएको छ । चौधरीलाई आफ्नो दलमा ल्याउन कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले विशेष पहल गर्नुभएको थियो । कोइरालाको निर्वाचन क्षेत्र (नवलपुर १) मा चौधरीको उद्योग ग्राम समेत रहेको छ । चौधरी समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार हुनुहुन्छ । विनोद चौधरीसंग हामीले नवलपुरको विकास र समृद्ध देश निर्माणका सन्दर्भमा संक्षिप्त कुराकानी गरेका छाँे । प्रस्तुत छ चौधरीसंग गरिएको कुराकानीको सम्पादीत अंश ।
नवलपुर देशभरकै नवलपुर जिल्ला कसरी बन्न सक्छ ?
सुरुदेखि नै म जसरी नवलपुर जिल्लामा जोडिन आइपुगे, करिब २५ वर्ष पुरानो कुरा हो । भौगौलिक हिसावले राष्ट्रकै केन्द्रविन्दु रहेको नवलपुर क्षेत्रलाई मैले पहिले देखिनै औद्योगिक क्षेत्रको रुपमा विकास गरिनुपर्दछ भन्ने मेरो मान्यता हो । र औद्योगिक क्षेत्र मात्र नभइकन सबै चाहिने पूर्वाधारबाट सुसज्जित क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । एसियन देशका एडभान्स लेभलका इन्ड्रस्ट्रियल पार्टसंग दाज्न सकिने, एउटै थलोमा सबै सुविधा खोज्न सकिने क्षेत्रका रुपमा विकास गर्न सकियो भने यो क्षेत्र देशकै नमुना क्षेत्रको रुपमा अघि बढ्नेछ । यही मान्यताबाट मैले उद्योगग्राम पनि खडा गरेको थिएँ । तर त्यसपछि हामीले त्यसलाई व्यवस्थिति गर्दा गर्दै देश अलिकती द्वन्द्वमा फस्यो, तर कहिले पनि हामीले काम रोकेनौँ । यो म के सन्दर्भमा भनेको हो भने यदि सोच प्रष्ट छ भने इच्छाशक्ति दृढ छ भने, आफूसंग भएको स्रोतहरुलाई प्रयोग गर्न सक्ने क्षमता छ भने असम्भव देखिने काम गर्न मानिसले सक्छ । उद्यमी स्वप्नशील हुन्छ, उद्यमीले दिउँसै सपना देख्न सक्छ । सपना सधैँ एउटै देख्छ, जुन सपनाले कहिलै सुत्न दिदैन । २०६६ सालतिर यो काम गर्न खोजेकै हो । अहिले आएर सुरु गर्ने सोचमा छु ।

 

नवलपुर क्षेत्रको आर्थिक सामाजिक भौगोलिक क्षेत्रबाट कति सम्भाब्य भएको क्षेत्र हो ?
हो ठीक हो, सम्भाब्य क्षेत्र नै हो । २५ वर्ष अघि उद्योगग्राम स्थापना गर्दा पनि यस्तै क्षेत्रको खोजीमा थिए । त्यही भएर यो क्षेत्र रोजियो । कुनै पनि देशमा एउटा यस्तो ठाँउ हुनुपर्दछ, जुन सम्पर्कका हिसाबले पनि सहज हुनेगरी केन्द्रभागमा रहेको हुनुपर्दछ, पानी, यातायातको सञ्जाल, प्राकृतिक वातावरण, यहाँको जनशक्ति पनि अति उत्तम पाएको छु । यी कुराहरका कारण पनि नवलपुर क्षेत्र निकै सम्भावना भएको क्षेत्र हो । यो म यसै भनिरहेको छैन, मेरो जीवनको ठूलो अनूभूतिले यी सबै कुराहरु भनिरहेको हुँ । अझ यहाँका मानिसहरुमा केही गरौँ भन्ने भावना देख्छु, यो पनि नवलपुरको विकासका लागि सबै भन्दा राम्रो पक्ष हो । यस बाहेक विभिन्न प्रकारका पर्यटन क्षेत्र देखि लिएर, दुर्लभ जडिबुटी देखि लिएर, फलफुल तरकारी देखि लिएर, राम्रो जनशक्तिपनि छ, यो पुरै नवलपुर देशलाई तरकारी र फलफूल खुवाउन सक्ने क्षेत्र बन्न सक्छ । यहाँको संस्कृतिको कुरा गर्नुपर्दा, यहाँका पहाडी क्षेत्र बुलिङटार, डाँडाझेरी लगायतका क्षेत्रमा पुगेँ, त्यहाँ के देखेँ भने अहिलेको अलंकारले कुनै प्रभाव नपारेको , सुरक्षित रहेको संस्कृति त्यहाँ प्रष्ट रुपमा देख्न पाइयो । यसले पनि सांस्कृतिक र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पनि धेरै गर्न सकिन्छ बस् इच्छाशक्ति देखाउनेहरु अघि बढ्नु आवश्यक छ ।
यति धेरै सम्भाव्यता भएको क्षेत्रमा केही गर्ने तँपाईको केही प्रतिवद्धता छ ?
गैँडाकोट देखि चोरमारा दाउन्नेसम्मको क्षेत्र प्रचुर संभावना भएको क्षेत्र हो । दाउन्नेसम्म चौधरी उद्योगग्राम जस्ता धेरै उद्योग लहरै खुल्न सक्छ, तराईमा कृषि र पहाडी क्षेत्रमा पर्यटन र दुधको लागि राम्रो क्षेत्र हो यसको विकासको मोडल अघि ल्याउन कुनै समस्या नै छैन । बरु यसको विकासको मोडलले अरुलाई पनि फाइदा पुग्ने गर्दछ
अब विकास र समृद्धिको चरण हो भनेर सबैलै भनिरहेको अवस्थामा त्यसका पूर्वाधारहरु कत्तिको मजबुत पाउनुभएको छ ?
हो, अहिले भर्खरै निर्वाचन सकिएको छ, पाँच वर्षका लागि जनताको म्यान्डेट आएको छ, हामीले गर्ने काम भनेको ५ वर्षभित्रै देखिने गरी हो, यो पाँच वर्षमा गरिएको कामको फाइदा राज्यलाई ५० वर्षलाई पुग्ने हुनुपर्दछ । हावामा पुल बनाउनुको कुनै अर्थ छैन । पाँच वर्षमा के गर्न सकिन्छ । यसका लागि के कस्ता प्रोजेक्ट के कस्ता छन् ? व्यवस्थापनका हिसावले गति नसमातेको केही प्रोजेक्टहरु अध्ययन गर्ने हो । हामीले अध्ययन गरेर केही योजना पनि हामीसंग छ । यसको केही पक्षमा पनि सबैले सम्बन्धित पक्षले ध्यान पुर्याउने हो भने पनि नेपालको मुहार फेरिन्छ ।
आर्थिक हिसावले गहिरो खाडल वारीपारी रहेका समुदायलाई कसरी जोड्न सकिन्छ ?
पूर्ण रुपमा असन्तुलित समाजले कहिल्यै सुदृढ अर्थतन्त्र पनि दिदैन, विकास पनि दिदैन । हाम्रो देशमा गरिबीको रेखामुनि २१ प्रतिशत रहेका छन् सुदुरपश्चिमाञ्चलमा भने ५३ प्रतिशत गरिबीको रेखामुनि रहेका छन् । नेपालमा ८० प्रतिशत मानिसले विजुलीबत्तीको उपभोग गरिरहेको छ तर त्यहाँका मानिसले ७५ प्रतिशतले पाएका छैनन् । अछामको कुरा गर्ने हो भने छाउपडि लगायतका विभिन्न कुरितीबाट सब भन्दा पछि रहेको छ । समस्याले अर्को समस्या थप्दै जान्छ, नवलपुरकै कुरा गर्ने हो भने हाइवे क्षेत्रमा कस्तो अवस्थाछ, पहाडी क्षेत्रको अवस्था नै हे¥यो भने छर्लङ्ग छ । सामाजिक चुनौतीलाई तत्काल ध्यान दिनुपर्दछ । जो पहुँचमा पुग्न सक्छ ठीक छ जो सक्दैन उसलाई पहुँचमा पुग्न सजिलो बनाइदीनुपर्दछ । जहाँ पूर्वाधार छैन, जहाँ शिक्षा पुगेको छैन, जहाँ समाजिक विचलन छ त्यहाँ त्यहाँ टार्गेट गरेर कार्यक्रम लैजानुपर्दछ ।
विकासका लागि युवा जनशक्ति महत्वपूर्ण पक्ष हो, तर अहिले हामीकहाँ बाहिरीने प्रवृत्ती छ, यसको असर कस्तो पर्ला ?
विकासको लागि अति आवश्यक पहिलो चरण भनेकै रोजगारी हो । अवसरहरु धेरै भन्दा धेरै रचना गर्नुपर्दछ । संभावनाका क्षेत्रहरुमा लगानी भित्राइनुपर्दछ । लगानीका लागि प्रोत्साहन दिनुपर्दछ । त्यसपछि युवाहरुको बाहिरीने प्रवृत्तिको अन्त्य हुनेछ । यो जुन प्रवृत्ति बढ्दै गएको छ यसले देशको समृद्धिको अभियानमा ठूलो प्रभाव पारिरहेको छ र भोलीका दिनमा पनि ठूलो असर सिर्जना हुनेछ । बाहिर गएर धेरै ज्ञान सिकेका पनि छन्, उनिहरुको ज्ञान र आर्जन गरेको स्रोतलाई यहाँ लगानी गर्ने वातावरण सिर्जना भयो भने सबै समस्या समाधान हुन्छ र देश समृद्धिको बाटोमा लाग्नेछ ।
तँपाईले भन्नुभएको विकास मोडलमा निजीसंस्था, सहकारी र सामाजिक विकास संस्थाको भूमिकालाई कसरी प्रष्ट पार्न सकिन्छ ?
विजय परिवारभित्रका विभिन्न संस्थाहरुले यसरी राम्रो काम गरेका छन् भन्ने मलाई ज्ञात नै थिएन । तर म विजय परिवारभित्र आइसकेपछि मेरो दृष्टिकोण नै परिवर्तन भएको छ । सहकारीको माध्यमबाट पनि सामाजिक रुपान्तरणका लागि यस्तो राम्रो काम गर्न सकिदो रहेछ भन्ने महशुस भएको छ । मलाई के लाग्यो भने यस्ता संस्थाहरुलाई राज्यले नै माथि लग्नुपर्दछ, विजय जस्ता अरु विजयीसंस्थाहरु मुलुकमा आवश्यक छ भन्ने लागेको छ ।

Share.

Leave A Reply