नवलपुरमा बाबुआमा गुमाएका ७१ जना बालबालिकालाई छात्रवृति

0


प्रेम क्षेत्री
असार २५, कावासोती । वैदेशिक रोजगारीका सिलसिलामा करार अवधिभित्र मृत्यु भएका कामदारका छोराछोरीहरुलाई कावासोतीमा छात्रवृति प्रदान गरिएको छ । नवलपुरबाट वैदेशिक रोजगारीमा गएका बाबुआमा गुमाएका ७१ जना बालबालिकालाई छात्रवृति प्रदान गरिएको हो । वैदेशिक रोजगार वोर्डबाट आएको रकम कक्षा १ देखी ८ सम्म पढ्ने ६० जनालाई जनही ८ हजार र ९ देखी १२ कक्षा सम्म पढ्ने ११ जनालाई जनही १२ हजारका दरले नगद प्रदान गरिएको हो ।


बुधबार हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ कावासोतीमा भएको वैदेशिक रोजगार छात्रवृति वितरण तथा सामी समिक्षा सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपुरका उप प्रमुख शारदा विश्वकर्माले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सवै लाग्नुपर्ने बताउनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा भएका समस्या समाधान गर्न अन्यायमा परेकाहरुलाई न्याय दिलाउन सामीको भुमिका महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पोखरेलले वितरण गरिएको छात्रवृतिले अध्ययनमा सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले विदेशमा मृत्यु भएका र पुर्णरुपमा अंगभंग भएका घर परिवारका सदस्यलाई छात्रवृतिका लागि सम्पर्क गर्न आग्रह गर्नुभयो ।


सामी हेल्भेटास प्रदेश परियोजना संयोजक उमा शर्माले महिलालाई गरिने व्यवहार र लाञ्छनाले महिलालाई झन पिडा दिएको उल्लेख गर्दै सकरात्मक सोचको आवश्यक रहेको बताउनुभयो ।
परियोजना संयोजक रितुराम सोतीले सामी हिकोडेफको गतिविधि तथा उपलब्धीबारे जानकारी गराउनुभएको थियो । परियोजना अवधिमा १३३४ वटा केशहरु दर्ता भएको उहाँले बताउनुभयो । यस अवधिमा ७९६ वटा ठगीका केशहरु आएको जनाउँदै ४५४ वटा केशहरु समाधान गरिएको बताउनुभयो ।


हिकोडेफका उपाध्यक्ष कमला ठाडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा पत्रकार महसंघका अध्यक्ष होमराज रानाभाट, जिल्ला बाल सञ्जालका प्रतिनिधी नवराज पाठक लगायतले बोल्नुभएको थियो । सुचना केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले सहजिकरण गर्नुभएको सो कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख कृष्णचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply