नवलपुरमा डिभिजन वन कार्यालय स्थापना

0

नवलपुर , भदौ २३-

ज्ञानु पंगेनी ,

कान्छो जिल्ला नवलपुरमा डिभिजन वन कार्यालय स्थापना भएको छ । शनिबार प्रतिनिधिसभा सांसद तिलक महतले वन कार्यालयको उद्घाटन गरेका हुन् । कावासोतीको फलफूलचोक नजिकै रहेको इलाका सेक्टर वन कार्यालयसँगै डिभिजन वन कार्यालय स्थापना भएको छ । डिभिजन कार्यालयको नयाँ भवनसमेत निर्माण समपन्न भएको छ । तत्कालका लागि नवलपरासी दुवैतर्फको डिभिजन वन कार्यालयको जिम्मेवारी विजयराज सुवेदीले बहन गर्नेछन् ।

कार्यालयको उद्घाटन गर्दै सांसद महतले नवलपुरबासीले नयाँ जिल्लाका लागि गरेको संघर्ष सफल भएको बताएका थिए । नवलपुरका पहाडी क्षेत्रबाट वनका विभिन्न काम लिएर परासीसम्म धाउँदा समयको नास र आर्थिकरुपमा समेत मारमा पर्दै आएका सर्वसाधारणलाई अब राहत हुने बताए । नयाँ जिल्ला कायम गर्न तत्कालीन समयमा राजनीतिक दल र नवलपुरबासीले गरेको संघर्षको फलस्वरुप नै अहिले नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपुरबासीले सेवा सुविधाका लागि परासीसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ थियो ।

यस्तै सांसद महतले अहिले वैज्ञानिक वन व्यवस्थापनको विषयमा धेरै बहस भइरहेकाले देशलाई समृद्ध बनाउन र बनजंगल हराभरा बनाउने काममा मात्रै सीमित हुनुपर्ने बताए । नेपालको वनजंगलका काठदाउरा कुहिने, विदेशबाट अरबौंको आयात हुने परिस्थिति हुन नदिन डिभिजन कार्यालय र राष्ट्रसेवको भूमिका महत्वपूर्ण हुने भन्दै सांसद महतले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार मौलाउन नहुने टिप्पणी गरे ।

कार्यक्रममा प्रदेश सांसद रोशनबहादुर गाहा, ओमकला गौतमले समेत नवलपुरमा अब सबै कार्यालय स्थापना हुनेक्रम रहेकाले जनताले अब सिंहदरबारको अधिकार गााउँगाउँ आएको महसुस गर्ने बताएका थिए । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल समेतले शुभकामना दिएका थिए ।

Share.

Leave A Reply