नवलपरासी आएर प्रधानमन्त्रीले भने चुनाव गराउनु नै मेरो जित हो, जेठ ३१ गते अर्को चुनाव हुन्छ

0

राजन खरेल

नवलपरासी, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव हुनु नै आफ्नोे जित भएको बताउनुभएको छ । कुन पार्टीले जित्छ भन्ने आफ्नो प्राथमिकता नभएको भन्दै प्रचण्डले भन्नुभयो कांग्रेसले जितेपनि एमालेले जितेपनि देशले जित्छ । बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको निर्वाचन आफुले जस्तो बनाउन खोजेको हो त्यस्तै भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । निर्वाचन जसरी सम्पन्न भयो त्यो सबैको लागी सुखद भएको दाहालको धारणा थियो । नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको शाश्वत धामको अबलोकन गदै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्बाचन जसरी सम्पन्न भयो त्यसरी नै जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।  दाहालले दोस्रो चरणको निर्वाचनमा राष्टिय जनता पार्टीको सहभागिता बनाएरै पहिलो चरणको निर्वाचन जस्तै उत्सव र व्यापक जनसहभागिताका साथ सम्पन्न गर्ने बताउनुभएको छ । दाहालले दोस्रो चरणको निर्वाचनमा सबैको सहभागिता अपरिहार्य भएको समेत धारणा राखनुभयो ।

यस्तै चितवनको रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले चुनाव कसले जित्छ भन्ने कुनै चिन्ता नभएको बताउनुभयो । चुनाव गराउनु नै आफ्नो जित भएको बताउनुभयो । दाहालले दोस्रो चरणको चुनाव गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । यसबारे छलफल गर्न आफूले आजै बैठक बोलाएको भन्दै दाहाले भने, यसलाई उत्सवको रुपमा मनाउनुपर्छ र असन्तुष्ट साथीहरु पनि आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।

दाहालले शाश्वत धाम धार्मिक केन्द्र र पर्यटन स्थल मात्र नभई नेपालको समग्र आध्यात्मिकताको केन्द्रिकरण हुने स्थल भएको बताउनुभएको छ । दाहालले नेपालमा शनातन देखि चल्दैआएका धार्मिक प्रतिष्ठान तथा एतिहासिक स्थलहरु सबै शाश्वतधाममा एकैठाउमा भएको पनि बताउनुभयो । नेपालको धार्मिक स्थलहरुको केन्द्र बिन्दु भएको हुदा सहयोगको आबश्यकता परे सहयोगको लागी सरकार सधै तत्पर रहने पनि बताउनुभयो ।

Share.

Leave A Reply