नवलपरासीमा २ स्थानीय विकास अधिकारी, विजय पौडेल र प्रकाश पौडेल

0


नवलपरासी । दुई भागमा टुक्रिएको नवलपरासीमा दुई जना स्थानीय विकास अधिकारी तोकिएको छ । पूर्वी नवलपरासीका लागि विजय पौडेल र पश्चिम नवलपरासीका लागि प्रकाश पौडेललाई तोकिएको छ ।
स्थानिय विकास अधिकारी नतोकिएका कारण जिल्ला समन्वय समिति गठन हुन नसकेको नवलपरासीम स्थानीय विकास मन्त्रालयले २ जना स्थानीय विकास अधिकारी खटाएको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिं तामाङ्गका अनुसार पूर्वी नवलपरासीका लागि विजय पौडेललाई सरुवा गरेर पठाइएको छ । त्यसैगरी, पश्चिम नवलपरासीमा हाल बाजुरामा रहेका स्थानीय विकास अधिकारी प्रकाश पौडेललाई सरुवा गरेर खटाइएको छ ।
मन्त्रिपरिषदले पूर्वी नवलपरासीको सदरमुकाम नतोकेका कारण हालको सदरमुकाम परासीमा रहेको जिल्ला समन्वय समितिको कार्यालयका छुट्टाछुट्टै कोठामा रहेर दुवैले फरकफरक जिल्लाका लागि काम गर्ने भएका छन् । सरकारले सदरमुकाम नतोकेका कारण पूर्वी नवलपरासीको जिल्ला समन्वय समितिको काम पनि हालको सदरमुका (परासी) बाट हुने भएको हो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि स्थानीय विकास अधिकारी नतोकेका कारण यहा २ वटा जिल्ला समन्वय समिति गठन हुन सकेको छैन् । दुवै स्थानीय विकास अधिकारीले जिल्ला सभाको बैठकले ६ जना वा ९ जनाको जिसस गठन गर्ने टुंगो लगाएपछि जिल्ला समन्वय समितिको निर्वाचनको प्रकृया सुरु हुने भएको हो ।
संविधान अनुसार नवलपरासीलाई २ जिल्लामा विभाजन गरेर स्थानीय तहको निर्वाचन समेत २ चरणमा सम्पन्न भैसकेपनि जिससको निर्वाचन हुन सकेको छैन् । स्थानीय विकास अधिकारी तोकिएपछि जिससको निर्वाचन हुने बाटो खुलेको छ ।

Share.

Leave A Reply