नवलपरासीमा पौने सात करोडको दूध उत्पादन

0

प्रेम क्षेत्री

नवलपरासी । जिल्लामा वार्षिक ६ करोड ८४ लाख ९ हजार १ सय २० रुपैँया बराबरको दूध उत्पादन हुने गरेको पशु सेवा कार्यालयको तथ्याङ्क रहेको छ । जिल्लाका तराई, भित्री मधेश र पहाडी क्षेत्रमा वार्षिक ६८ हजार ४ सय ९ मेट्रिक टन दूध उत्पादन हुने गरेको पशु सेवा कार्यालय नवलपरासीका प्रमुख शिव आचार्यले बताउनुभयो ।
आचार्यका अनुसार मासिक ५७ लाख ७ सय ६० रुपैयाँ बराबरको दूध उत्पादन हुने गरेको छ । किसानले तराई मधेसमा व्यावसायिक भैंसी पालन गरेर दूध उत्पादन गरेका छन् भने भित्री मधेसको नवलपुर क्षेत्रमा व्यावसायिक जर्सी गाई पालन हुँदै आएको कार्यालयले जनाएको छ । नेपाल सरकारले तोकेको लक्ष्यभन्दा नवलपरासीले बढी दूध उत्पादन गर्न सफल भएको उहाँले बताउनुभयो । गैंडाकोटदेखि चोरमारासम्मको राजमार्ग दायाँबायाँ १० किलोमिटरसम्म पशुपालनका लागि उत्कृष्ट स्थल भएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी मुकुन्दपुरमा दूधको उत्पादन हुने गरेको तक्ष्याङ्क छ । पशु सेवा केन्द्र रजहरका प्रमुख पशु विकास अधिकृत धनेश्वर खनालले नवलपुर क्षेत्रको पशु सेवा केन्द्र रजहरको क्षेत्रभित्र दैनिक २० हजार लिटर दूध उत्पादन हुदै आएको बताउनुभयो । उहाँले यो क्षेत्रमा अत्यधिक गाईपालन रहेका बताउनुभयो । ५० वटा भन्दा बढी गाई पाल्ने ७ वटा फर्म रहेको बताउनुभयो । २० वटासम्म गाई पाल्ने १ सय किसान, २० वटा भन्दा मुनि २ सय किसान र ५ वटा गाई पाल्ने ९० प्रतिशत कृषक रहेको बताउनुभयो । पशु सेवा केन्द्र रजहरको क्षेत्रभित्र ७ वटा दुग्ध उत्पादक सहकारी संस्थाले दूधको कारोबार गर्दै आएका छन् । यसरी दूध संकलन तथा बिक्री वितरण गर्ने सहकारीमा गैंडाकोट एकीकृत, शिवशक्ति, नवज्योति मकुन्दसेन, अमर बहुउद्देश्यीय, अमरापुरी बहुउद्देश्यीय र जन उत्थान दुग्ध उत्पादक सहकारी रहेका छन् ।
पशुपालन व्यवसाय राम्रो भएकाले दूधको उत्पादन उल्लेखनीय भएको हो । जिल्ला पशु सेवा कार्यालय नवलपरासीका अनुसार यहाँको दूध नेपालका मुख्य बजार काठमाडौं, पोखरा र नारायणगढ बढी जाने गरेको छ । दूध उत्पादन बढाउन हरियो घाँस उत्पादनमा किसानलाई प्रोत्साहन गर्नका लागि बीउहरु उपलब्ध गराएको छ भने विभिन्न अनुदान पनि दिने गरेको छ । नवलपरासीले मुलुकको दूध उत्पादनमा ठुलै हिस्सा ओगटेको कार्यालयको भनाइ छ । दाना मात्र खुवाउने पशुभन्दा हरियो घाँस खुवाउने पशुबाट दुध राम्रो उत्पादन हुने गरेको छ । दाना र परालका भरमा रहेका पशुहरुमा बाँजोपन बढी देखिएको पशु चिकित्सकहरु बताउँछन् । पशु सेवा कार्यालय नवलपरासीका प्रमुख शिव आचार्यले गुणस्तरीय दूध उत्पादन प्रमुख चुनौतीका रुपमा देखा परेको छ । उहाँले हरियो घाँसमा आधारित पशुपालन भयो भने दूध उत्पादनको लागत घट्ने बताउनुभयो ।

Share.

Leave A Reply