नवलपरासीका सामुदायिक वनहरुमा आगलागीबाट ठूलो क्षति

0

पवित्रा पराजुली
गैंडाकोट । सरसर्ती हेर्दा नवलपरासीका सामुदायिक वनहरुमा आगलागीबाट चराचुरुङगी, वन्यजन्तु, बोटबिरुवा लगायत महŒवपूर्ण जडिबुटी नष्ट भए । वनमा लडेका गोलाइ जले । वातावरण प्रदूषण भयो । प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा मानव स्वास्थ्यमा असर पुग्यो । तर वनमा लागेको आगलागीबाठ कति क्षति भयो भन्ने पूर्ण जानकारी आइसकेको छ्रैन । वनमा लागेको आगलागीको क्षतिबारे अहिल्यै यसै भन्न सकिने अवस्था छ्रैन ।
हरेक वर्ष जंगलमा आगो लाग्न नदिन सामुदायिक वनहरुले चेतनामूलक कार्यक्रमसँगै लाखौँ रुपैयाँ खर्चन्छन् । तर तिनै सामुदायिक वनमा आगो लाग्ने क्रम रोकिएको छैन । यसवर्ष पनि जंगलमा आगो लाग्यो । डढेलो नियन्त्रणका लागि सार्वजनिक तथा सामुदायिक वनले नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरेपनि प्रभावकारी हुन भने सकेको छैन । जसले गर्दा वनजंगलको क्षति तथा विनाश भएको सामुदायिक वनका प्रतिनिधिहरुले नै गुनासो गरेका छन् ।
वनजंगलमा आगलागी हुँदा वनजंगलमा मात्र नभई वरिपरि रहेका स्थानीय बासिन्दालाई समेत असर पार्ने गर्छ । कतिपय अवस्थामा नियन्त्रणका प्रयास भए तापनि आगो नियन्त्रणका प्रयासहरु प्रभावकारी रुपमा कार्यान्वयनमा आउन नसकेको जयश्री सामुदायिक वनक उपभोक्ता समूह गैंडाकोटका उपाध्यक्ष दानबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले त्यसको असर बस्तीमा मानव स्वास्थ्यमा समेत परेको बताउनुभयो ।
सामुदायिक वनमा लागेको आगलागीले धेरै व्यक्तिलाई असर गरेको शङ्खदेवी सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष काशीराम कँडेलको भनाइ छ । उहाँले आगलागी नियन्त्रणका लागि एकजना मात्र नभई सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नारायणी सामुदायिक वन गैंडाकोटको ४ सय ६१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा अहिले आगलागीले धेरै क्षति पु¥याएको नारायणी सामुदायिक वनका अध्यक्ष दीनानाथ त्रिपाठीले बताउनुभयो । उहाँले वनको विनाश हुँदा स्थानीय र वनजंगललाई मात्र नभई राष्ट्रलाई नै नोक्सान हुने बताउनुहुन्छ ।
सामुदायिक वन उपभोक्ता समूहले वनजंगलमा लाग्ने आगलागी नियन्त्रणका प्रयास नगरेका पनि होइनन् । अग्नीरेखा निर्माण, आगलागी लाग्न नदिने विषयमा सचेतना तथा प्रचार प्रसार, जनशक्ति तथा स्थानीय बासिन्दालाई परिचालन जस्ता उपाय अपनाउँदासमेत नियन्त्रण हुन नसकेको नारायणी सामूदायीक बन उपभोक्ता समूह गैंडाकोटका अध्यक्ष दिनानाथ त्रिपाठीको भनाइ छ ।
चैत्र–वैशाख महिनामा बढी सुख्खा हुने महिना भएको कारणले वनजंगलमा डढेलो तथा आगलागी बढी मात्रामा लाग्ने गर्छ । वनजंगल काठदाउराका लागि मात्र नभई स्वच्छ हावा र हरियाली मनमोहक वातावरणका लागि पनि महत्त्वपूर्ण छ । वनजंगल विनाश हुँदा पर्यावरणीय सुन्दरता लगायत अन्य क्षेत्रमा समेत असर गर्ने हुनाले डढेलो लाग्दा नियन्त्रणका सरोकारवाला र स्थानीय सक्रिय हुनु आवश्यक रहेको छ ।
वनका उपभोक्ता तथा सर्वसाधारणले हालसम्म जति क्षति भएपनि अब उप्रान्त ठूलो क्षति हुन नदिन तत्कालै वनले कदम चाल्नुपर्ने बताएका छन् । सामुदायिक वन स्थानीय महासंघ गैंडाकोटका अध्यक्ष खगराज सापकोटाले भौगोलिक विकटताका कारण पनि ठूलो क्षति भएको बताउनुभयो । उहाँले त्यसबाट यतै नै क्षति भयो भन्दा पनि आगलागीबाट भएको क्षतिलाई आंकलन गर्न नसकिने बताउनुभयो । उहाँले उपभोक्ता, वनका पदाधिकारी तथा सबैले पहल गर्नुपर्ने बताउनुभयो । दैनिक रुपमा गस्ती गरेर भएपनि त्यो क्षति कम गर्नतर्फ सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply