धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न वडाले गरायो वृद्धवृद्धालाई तिर्थयात्रा

0

गैँडाकोट, १४ अषाढ । गैँडाकोट नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने सन्देश दिदै गैँडाकोट १ ले ज्येष्ठ नागरिक सम्मान एवं तिर्थयात्रा कार्यक्रम गरेको छ । गैँडाकोट नगरपालिका वाड नं. १ को आयोजना एवं धार्मिक पर्यटकीय समन्वय समिति गैँडाकोट १ संयोजनमा भएको कार्यक्रममा ८० जना भन्दा बढी ८० वर्ष नाघेका वृद्धवृद्धालाई सम्मान गरिएको छ । राधाकृष्ण मन्दिर गैँडाकोट १ को प्रागंणमा सम्मान गरिएपछि तीर्थयात्राको कार्यक्रम सुरु भएको थियो । वृद्धवृद्धालाई राधाकृष्ण मन्दिर, लक्ष्मीनृसिंह दिव्यधाम, हनुमान मन्दिर, कैलाश सन्यास आश्रम, शास्वतधाम लगायतका स्थानको तीर्थाटन गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्थानीय मठमन्दिरको प्रवर्धनको लागि गैँडाकोट १ ले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको छ । नगरप्रमुख पौडेलले नगरमा रोजगारिको सिर्जना गरी विदेशीने दोस्रो पुस्तालाई नेपाल राखी बुवाआमाको सेवा गर्न पाउने वातावरणको सिर्जना गर्न सकियो भने त्यो असलमा ज्येष्ठनागरिकको सम्मान हुने बताउनुभयो । यसका लागि पनि सरकार लागिपरेको बताउनुभयो ।


कार्यक्रमको विशिष्ट अतिथि गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले बुवाआमा, हजुरबुवा हजुरआमाहरुले सिकाउनुभएको नैतिक शिक्षा, संस्कार र संस्कृतिले आज हाम्रो समाजलाई डोर्याएका छाँै । उहाँहरुले सिकाउनुभएको जीवनपयोगी नैतिक शिक्षा र संस्कृतिलाई यस्ता सम्मानका कार्यक्रम संगसंंगै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
सम्मानित ज्येष्ठ नागरिकको तर्फबाट बोल्नुभएका निम्बार्क दर्शन केन्द्रका हरिशरण शास्त्री महाराजजीले  जेष्ठनागरिकको सम्मान कार्यक्रमले नयाँ पुस्तालाई सन्देश दिएको बताउनुभयो । उमेरले साथ नदिएको अवस्थामा मठमन्दिरको दर्शनका लागि वडाले साथ दिएकोमा प्रशंसा गर्नुभएको थियो । युगलाई, समाजलाई जीवनका महत्त्वपूर्ण समय योगदान दिएका वृद्ध बुवाआमाको सम्मान गर्नुपर्दछ भनेर जसरी वडाले कार्यक्रम अघि बढाएको छ, हेर्दा सामान्य लाग्ला तर यसले समुदायमा ठूलो सन्देश दिएको र यसको निरन्तरताका लागि हरिशरण शास्त्री महाराजजीले आग्रह गर्नुभएको थियो । वृद्धवृद्धालाई हरिनाम लेखिएको बस्त्र प्रदान गरेर सम्मान प्रकट गरिएको थियो ।
वडा सदस्य सुरेन्द्र रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा धार्मिक पर्यटकीय समन्वय समितिका उपाध्यक्ष लालमणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । पौडेलले धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि आन्तरिक रुपमा आफ्नै क्षेत्रको प्रवर्धन आफैले गर्नुपर्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मानमा यस कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रमका अध्यक्षता गर्नुभएका वडा अध्यक्ष हरिप्रसाद सापकोटाले वृद्धवुवा आमाको सम्मानका साथै नगरको धार्मिक मठहरुको प्रवर्धनका लागि तीर्थयात्रा कार्यक्रम गरिएको बताउनुभयो । नजिकका तीर्थस्थलहरु हेलामा परे भने, गैँडाकोटको समृद्धि पनि सम्भव नहुने वडा अध्यक्ष सापकोटाले बताउनुभयो । आगामी आर्थिक वर्षमा गैँडाकोट १ लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि कार्यक्रमहरु अघि बढाउने प्रतिवद्धता समेत वडा अध्यक्ष सापकोटाले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply