दौडले बनाएको परिचय : अल्ट्रा म्याराथन धाविका इन्दु घिमिरे

0

श्रीधर उपाध्याय
गैँडाकोट । इन्दु घिमिरे अहिले ४३ वर्षको हुनुभयो । उहाँ अझै पनि दैनिक २७÷२८ किलोमिटर दौडिनुहुन्छ । उमेर उहाँका लागि केही होइन एउटा अंक मात्रै हो । जीवनमा जोश, साहस, अठोट र आत्मविश्वास भयो भने मानिसका लागि उमेरको कुनै अर्थ नरहने उहाँको भनाइ छ ।

करिब एक दशक भयो उहाँको जीवनमा दौड सुरु भएको । छोटो समायमा पनि उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै विधागत दौड प्रतियोगितामा विजयी भइसक्नुभएको छ । गैँडाकोट ४ निवाशी इन्दुका लागि दौड आफ्नो परिचय बनेको छ, उहाँको जीवनको सफलताको बाटोको मोड पनि दौडकै कारण सिर्जना भएको थियो । राष्ट्रिय खेलकुद परिषदले इन्दुलाई अल्ट्रा म्याराथनको राष्ट्रिय खेलाडीको मान्यता समेत दिइसकेको छ ।

बाल्यकाल सामान्य अवस्थामा वितेको इन्दुका दिदीबहिनी नौ जना थिए । आफू कान्छि बहिनी माथिको भएको बताउने उहाँलाई सानै देखि छोरीले पनि छोराले जस्तै काम गरेर देखाउने सपना थियो । गैँडाकोटको नारायणी माध्यामिक विद्यालयमा उहाँले आफ्नो शिक्षा आरम्भ गर्नुभएको थियो । सानै देखि उहाँको लवाई खवाई, स्वभाव केटाको जस्तो रहेको थियो । उहाँ भन्नुहुन्छ “सानैमा अरु डोको बोकेर जंगल जान्थे, म बन्चरो बोकेर जान्थे, अरु डाली डोकोमा भर्थे तर म रुपमा चढेर स्याउला र डाली भुँइमा झार्थे” ।

सानै देखि पढाइमा रुचि राख्ने इन्दुका लागि भने शिक्षाको यात्रा भाग्यमा त्यति लामो समय लेखिएको थिएन । तत्कालिन समयमा छोरीलाई पढाएर के हुन्छ भन्ने सामाजीक वातावरण अन्य विभिन्न समस्याले उहाँ एसएलसी दिनबाट बञ्चित हुनु प¥यो । शिक्षा मात्र होइन खेलकुदमा उहाँको धेरै रुचि थियो । केही समय पछि उहाँको विवाह भयो । विवाह पछि उहाँलाई जीवनका आफ्ना सपना अब पुरा हुँदैननकी भन्ने डर लाग्यो । के गर्ने भन्ने थाहा त थिएन, तर उहाँलाई जीवनमा केही गर्नु पर्दछ भन्ने सोचले सदैव हुटहुटी बनाउने गरेको थियो । एक दिन श्रीमानसंगको सल्लाहपछि विदेश जाने सोच बन्यो । श्रीमानको भिजा लागेन । सन् २००५ तिर घरको आर्थिक हिसाबले उहाँ एक्लै इजरायल जाने निधो गर्नु भयो । इजरायलमा पुगे पछि दिन सामान्य रुपमा वितेका थिए । काम, काम, काम मात्रै थिए । शरिर मोटाउँदै गयो । अब कसरी दुब्लाउने भन्ने सोच बन्यो । दुब्लाउन दौडिन सुरु गर्नुभयो । उहाँको दौड दैनिकी बन्न थाल्यो ।

सन् २००९ मा इजरायलको एउटा क्लबमा नारेयन भन्ने ५ किलो मिटरको म्याराथन प्रतियोगिता थियो । विदेशीले नै सहभागि हुन आग्रह गरेका थिए “मैले पनि त्यहाँको ५० रुपैँया तिरेर नाम दर्ता गराए । दौडमा सहभागि भए । पुरुषहरुलाई पनि पछि पार्दै रिबन पहिला मैले नै छोएँ । त्यसपछि म घर आएँ । भोली पल्ट उपहार पुरस्कार घरमै आइपुग्यो । तब मैले थाहा पाएँ म फस्ट भएछु । त्यस पछि मात्र मलाई लाग्न थाल्यो मेरो सानै देखिको इच्छा स्पोर्ट लाइफ गर्यो भने त हुँदो रैछनी । त्यसपछि मैले दौडलाई निरन्तर अघि बढाइरहेँ । पहिलो पटक विजेता भएको भोलीपल्ट ८ किलोमिटर दौडिएँ । मलाई थकानको महसुस भएन ।”

त्यसपछि उहाँ इजरायलमै रहँदा ५० भन्दा बढी म्याराथनमा सहभागि हुनुभयो, उहाँले कहिल्यै दोस्रो मेडल प्राप्त गर्नुपरेन । सदैब विजय उहाँकै पोल्टामा रहेको थियो । इजरायलमै उहाँ विभिन्न क्लबहरुमा अनुवन्धन भएर प्रशिक्षण तथा दौड प्रतियोगिताहरुमा सहभागिता जनाउनुभयो । यसपछि तेलबी म्याराथनमा भने उहाँ दोस्रो हुनुभयो । त्यतिबेला इन्दु रशियन नागरिकसंग पराजित हुनुभएको थियो । ४२ किलोमिटरको तेलवी म्याराथन पश्चात अझ बढी उहाँको आत्मविश्वास झन् बढ्दै गयो । यस पछि घिमिरेको दौड यात्रा अल्ट्रा म्याराथन तर्फ अघि बढ्यो । यो म्याराथन ८० किलोमिटरको हुने गर्दछ । सन् २०१४ मा भएको यस म्याराथनमा उहाँ पहिलो हुनुभयो । करिब ८ घण्टा ७ मिनेटमा उहाँले यो दुरी पार गर्नुभयो । यसपछि सन् २०१५ को अक्टोबरमा इजरायलमा भएको १०० किलोमिटरको सोवेव एमेक अल्ट्रा म्याराथनमा दोस्रो हुनुभयो । त्यो दौड घिमिरेले १२ घण्टा ३० मिनेटमा १०० किलोमिटर पुरा दौडेर जित्नुभएको थियो ।

यहि अल्ट्रा म्याराथन खेललाई अघि बढाउने क्रममा अप्रिल २३, २०१६ मा इटालीमा भएको त्ग्क्ऋब्ल्थ् ऋच्इक्क्क्ष्ल्न् अल्ट्रा म्याराथनमा भाग लिनुभयो । यो प्रतियोगिता बिश्वकै लामो दुरीको म्याराथन प्रतियोगिता थियो । जहाँ विश्वका ४८ देशको सहभागिता रहेको थियो ।

यस पछि नेपाल फर्के पछि काठमाडौँको गोदाबारीमा भएको म्याराथनमा एसियाको रेकर्ड राख्दै प्रथम हुनुभएको थियो । यो प्रतियोगिता नर्थफेसले गोदावारी माउण्टेन शीर्षकको प्रतियोगिता राखेको थियो ।
यस पछि घिमिरे अमेरिकाको क्यालिफोर्नियामा अगष्टको १८ तारिकमा हुने ८० किलोमिटरको खेलमा सहभागि हुन भिजा तथा अभ्यास दुबै अघि बढाउनुभएको छ । घिमिरेले बाहिरी देशमा खेलाडी र खेल लाई हेर्ने दृष्टिकोण र हाम्रो देशमा हेर्ने दृष्टिकोण आकाश पातालको फरक रहेको बताउनुभयो “त्यहाँ खेलमा राजनीति हुँदैन, तर नेपालमा खेलकुद क्षेत्रमा पनि राजनिति हुँदो रहेछ । त्यहाँ नेपाली खेलाडीको इज्जत धेरै छ, तर आफ्नै देशमा भने त्यो पाउँदिन । तर पनि जीवनमा दौडले मेरो परिचय बनाएको छ ।”

Share.

Leave A Reply