दोस्रो गैँडाकोट महोत्सवबाट करिब ५० लाख नाफा

0


नाफाको करिब ७० प्रतिशत रकम भवन निर्माणमा खर्च हुने
गैँडाकोट, ३ जेष्ठ । दोस्रो गैँडाकोट महोत्सवबाट करिब ५० लाख रुपैँया नाफा भएको बिहीबार सार्वजनिक गरिएको छ । गैँडाकोट महोत्सव सम्पन्न स्थल नजिक रहेको एक होटलमा गरिएको दोस्रो गैँडाकोट महोत्सव २०७४ को आर्थिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा  महोत्सवबाट करिब ५० लाखको नाफा भएको जानकारी दिइएको छ । दोस्रो गैँडाकोट महोत्सवबाट नाफा भएको रकमले उद्योग वाणिज्य संघ गैँडाकोटले भवन निर्माण गर्ने भएको छ । उवासंघको भवन निर्माणकालगि लागि कोषमा ३५ लाख रकम छुट्याइएको आर्थिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा जानकारी दिइएको हो ।
पौष २७ देखि माघ ८ गतेसम्म नारायणी किनारमा भएको महोत्सवमा १ करोड १४ लाख १७ हजार ३ सय आम्दानी भएको उद्योग वाणिज्य संघ गँैडाकोटका प्रथम उपाध्यक्ष तथा आर्थिक उपसमितिका संयोजक एकदेव रिमालले बताउनुभयो । आम्दानी तर्फ प्रवेश टिकटबाट ३३ लाख ५० हजार, प्रायोजकहरुबाट २८ लाख, बाल उद्यानबाट करिब साढे २४ लाख, स्टलहरुबाट साढे १४ लाख, नेपाली जहाज स्टीमरबाट पौने २ लाख, गैँडाकोट नगरपालिकाबाट ३ लाख, ट्रेड प्रमोसन सेन्टरबाट डेढ लाख बराबरको आम्दानी भएको बताइएको छ ।  रिमालका अनुसार महोत्सवमा ७० लाख ३१ सय ७३ खर्च भएको छ । खर्च तर्फ स्टेशनरीमा करिब ८० हजार, तलब भत्तामा २ लाख १६ हजार, भ्रमण तथा यातायातमा ३ लाख ८७ हजार, कलाकारहरुको पारिश्रमिक खर्च १४ लाख, मायाको चिनो तथा स्मारिका प्रकाशन पौने ३ लाख, सूचना तथा प्रचारप्रसारमा करिब ६ लाख, सिसि क्यामेरा जडान करिब १ लाख १० हजार, स्टल निर्माणमा करिब साढे १० लाख, भ्रमण तथा यातायात ३ लाख, जनजातिको घर निर्माणका लागि करिब १ लाख खर्च भएको सार्वजनिकीकरण कार्यक्रममा जनाइएको छ । महोत्सवबाट आम्दानी भएको रकमबाट नेपाल सरकारलाई करिब ३ लाख बराबरको रकम राजश्व बुझाइएको समेत जानकारी दिइएको छ ।  आम्दानी र खर्चबीचको अन्तर करिब ४४ लाख जति हुन आएपनि केही रकम उठ्न बाँकी रहेका कारण महोत्सवको नाफा करिब ५० लाखको हाराहारीमा पुग्ने प्रथम उपाध्यक्ष रिमालले जानकारी दिनुभएको छ ।
उद्योग वाणिज्य संघका महासचिव छविलाल कंडेलले महोत्सव आशा गरे अनुरुपकै सम्पन्न भएको बताउनुभएको छ । महोत्सव अवधिभर करिब ७८ करोडको कारोबार भएको उहाँको दाबी थियो । करिब ४ सय स्टल रहेको गैँडाकोट महोत्सवले स्थानीय उद्योग तथा उत्पादनको बजारीकरणका लागि आशातित सहयोग पु¥याएको महासचिव कंडेलले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आर्थिक पारदर्शीताको उदाहरण उद्योग वाणिज्य संघले देखाएको र यस्तो काम सबै संघसंस्था तथा कार्यक्रमहरु सम्पन्न भए पश्चात् गर्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ गैँडाकोटका बरिष्ठ उपाध्यक्ष दीपक सापकोटाले नारायणी किनारलाई उज्यालो बनाउने ब्राण्डका रुपमा गँैडाकोट महोत्सव नियमित दुई दुई वर्षमा हुने बताउनुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्चनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, व्यववसायि प्रतिष्ठानका प्रतिनिधिहरु, महोत्सव सम्पन्न गर्न खटिएका उपसििमतिका सदस्यहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply