देशभर बाढी  : २३ जनाको जीवन बगायो, ४ बेपत्ता

0

काठमाडाँै । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरिबाट २३ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।
मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता
अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् ।
बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।
इटहरीमा बालबालिकासहित ६ जनाको शव भेटियो
इटहरी उपमहानगरपालिकामा बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । राति नै बाढीले बगाएका ६ व्यक्तिको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार बाढीले बगाएर इटहरी ३ गैरीगाँउका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राईका तीन बर्षे छोरा रुपेस राई र ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको छ । घरमा बाढी पसेपछि इटहरी ४ आइतबारेका ४० बर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आपतका बेलामा एनटीसी टेलिफोन बन्द
पूर्वमा रातिदेखि नेपाल टेलिकमको सेवासमेत अवरुद्ध हुन पुगेको छ । पूर्वाञ्चलभरि टेलिकमको सञ्चार सेवा अवरुद्ध भएका कारण प्रहरीलाई सूचना संकलन गर्न र पीडितहरुको उद्धार गर्न समस्या परिरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
विराटनगर जलमग्न, विमानस्थल प्रभावित 
अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुवानमा परेको हो । विराटनगरको विमानस्थल प्रभावित भएको छ । विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पूर्ण रुपमा डुबानमा परेको छ ।
बबईको बाढीले तुलसीपुर डुबानमा, घोराहीसँग यातायात सम्पर्क बिच्छेद
दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । साथै जिल्ला सदरमुकाम घोराहीसँग तुलसीपुरको यातायात सम्पर्क बिच्छेद भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतिपुर, बाँकी गाउँ लगायतका स्थानमा बबई नदीको बाढी पसेको छ ।

 
माडी क्षेत्रका २०० घर डुबानमा, सात हात्ती उद्धारमा परिचालन
दुई दिनदेखि परेको अविरल वर्षाका कारण चितवनको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् । बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० विन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको छ । राति डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर सुरक्षित रहेको उनले जानकारी दिए । माडी नगरपालिका वडा नम्बर–१, २, ४ र ६ का पूरै तथा वडा नम्बर–३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति र्पुयाएको छ । ठूलो मात्रामा धानखेत डुबाएको स्थानीयवासीले बताएका छन् ।
वडा नम्बर–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलकाअनुसार माडी–ठोरी हुलाकीसडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि सो सडक अवरुद्ध भएको छ । त्यसैगरी, बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डांग्रे खोलाको पुलपनि बाढीले क्षति र्पुयाएपछि सो सडक पनि अवरुद्ध बनेको उनले बताए ।

Share.

Leave A Reply