“देशअनुसार स्त्रीको यौनप्रवृत्ति”

0


(पूर्वीय यौनशिक्षा-११)

 

यौनशिक्षा प्रदान गर्ने सन्दर्भमा कामसूत्रकार वात्स्यायनले विभिन्न देशका स्त्रीको यौनप्रवृत्ति वा व्यवहारको समेत चर्चा गरेका छन् । ‘देशसात्म्याच्च योषित उपचरेत्’ (कामसूत्र २।५।२१) अर्थात् विभिन्न देशका स्त्रीसँग तत् तत् देशको रीतिअनुसार यौनव्यवहार गर्नुपर्छ । आर्यहरू रहने गङ्गा, जमुना र सिन्धु प्रदेशका स्त्रीहरू प्रेम व्यवहार प्रदर्शन गर्ने क्रममा चुम्बन, नखच्छेदन र दन्तच्छेदनजस्ता विधिहरूलाई मन पराउँदैनन् । त्यसैगरी बाल्हीक र उज्जैन प्रदेशका स्त्रीहरूले पनि चुम्बनादि क्रियाहरूलाई रुचाउँदैनन् ।

 

मालव र आभीर्य प्रदेशका स्त्रीहरूले आलिङ्गन, चुम्बन, नखच्छेदन, दन्तच्छेदन र चुस्ने प्रक्रियालाई धेरै महत्त्व दिन्छन् तर दन्तच्छेदन र नखच्छेदनद्वारा खत बनाउन चाहँदैनन् । उनीहरूलाई सम्भोगको सन्तुष्टि बढ्ता जोडले दिइने धक्काद्वारा प्राप्त हुन्छ । सिन्धु र सतलज नदीको मध्यवर्ती मैदानमा बस्ने स्त्रीहरू औपरिष्टक विधि अर्थात् मुखमैथुन गर्न बढ्ता मन पराउँछन् । लाटदेश र पश्चिमी घाटहरूमा बसोवास गर्ने स्त्रीहरू अत्यधिक कामवासनाले युक्त हुन्छन् र उनीहरूले सम्भोगका समयमा बिस्तारै आवाज निकाल्छन् ।

 

कोशल र स्त्रीको राज्य भनेर चिनिने मणिपुरका स्त्रीहरू कडा मैथुन गर्न चाहन्छन् । त्यसैले मणिपुरका खसिया जातका स्त्रीहरूले पाँचवटासम्म पति राख्ने गरेको पाइन्छ । उनीहरूले आफ्नो योनिमा कडा धक्का लगाउन रुचाउँछन् । पुरुषको लिङ्गद्वारा उनीहरूको कामवासना शान्त नहुने भएकाले उनीहरू काठ आदिको कृत्रिम लिङ्ग बनाएर आफ्नो कामेच्छा पूर्ति गर्न प्रवृत्त हुन्छन् । आन्ध्र प्रदेशमा रहने स्त्रीहरूको स्वभाव त कोमल हुन्छ तर उनीहरू स्वच्छ र पवित्र हुँदैनन् किनकि उनीहरू सम्भोगसँग अत्यन्त प्रेम गर्छन् र व्यभिचारिणी (वेश्या)को जस्तो आचरण गर्न मन पराउँछन् ।

महाराष्ट्रका स्त्रीहरू ६४ वटै कलासँग प्रेम गर्छन् । उनीहरू अश्लील र कठोर शब्दको प्रयोग गर्न तथा जोरसँग मैथुन गर्न रुचाउँछन् । पञ्जाबका स्त्रीहरूको रुचि पनि महाराष्ट्रका स्त्रीहरूको जस्तै हुन्छ तर उनीहरूले एकान्त मन पराउँछन् । पञ्जाबका स्त्रीहरूले महाराष्ट्रका स्त्रीहरूले जस्तै धेरै व्यक्तिका सामु ६४ वटै आसनको प्रयोग गर्दैनन् । द्रविड अर्थात् तामिलनाडु प्रदेशका स्त्रीहरूमा मैथुन गर्नुभन्दा पहिलादेखि नै बिस्तारै बिस्तारै रज बग्न थाल्दछ ।

वानवासिक अर्थात् कोंकण प्रदेशका स्त्रीहरूमा कामवासनाको मध्यम वेग हुन्छ । उनीहरू आलिङ्गन, चुम्बन आदिका समर्थक भए पनि आपूmले त्यसलाई प्रकट गर्न चाहँदैनन् । पुरुषका बाङ्गाटिङ्गा अङ्गहरूको हाँसो उडाउन चाहने कोंकण प्रदेशका स्त्रीहरूले गाउँले, अश्लील र कठोर पुरुषसँग यौनसंसर्ग गर्न रुचाउँदैनन् । बङ्गालका स्त्रीहरू मीठो वचन बोल्छन् । उनीहरूका अङ्ग कोमल हुन्छन् र उनीहरूले आफ्ना पतिसँग बढ्ता प्रेम गर्न चाहन्छन् ।

‘देशसात्म्यात् प्रकृतिसात्म्यं बलीय इति सुवर्णनाभः । तत्र देश्या उपचाराः’ (पूर्ववत्, २।५।३५) अर्थात् कामशास्त्री सुवर्णनाभका अनुसार देशको रीतिभन्दा आफ्नो रुचि नै बलवान् हुने भएकाले जुन स्त्री वा पुरुषलाई आफ्नो देशको रीति मन पर्दैन उनीहरूले त्यसलाई छाडिदिनुपर्छ । ‘कालयोगाच्च देशाद्देशान्तरमुपचार–वेष–लीलाश्चानुगच्छति, तच्च विद्यात्’ (पूर्ववत्, २।५।३६) अर्थात् जसरी समय व्यतीत हुँदै जान्छ त्यसरी नै समयअनुसार नै यौनव्यवहार, वेषभूषा, प्रेमलीला आदि सबै परिवर्तन हुँदै जान्छन् । त्यसैले यहाँ उल्लेख गरिएका यौनशिक्षासम्बन्धी विधिहरूलाई सबै समयमा एकै किसिमले प्रयोग गर्नुपर्छ भनेर बुझ्नु हुँदैन अपितु तिनको सत्यता र व्यावहारिक पक्षलाई विशेष ख्याल गर्नुपर्छ ।

‘उपगूहनादिषु च रागवर्धनं पूर्वं पूर्वं विचित्रमुत्तरमुत्तरं च’ (पूर्ववत्, २।५।३७) अर्थात् आलिङ्गन, चुम्बन, नखच्छेदन, दन्तच्छेदन, प्रहरण, आवाज निकाल्नु आदि अघिल्ला विधिका तुलनामा पछिल्ला विधिले अधिक मात्रामा राग उत्पन्न गर्दछन् । आलिङ्गनभन्दा चुम्बन, चुम्बनभन्दा नखच्छेदन आदि बढ्ता कामोत्तेजना उत्पन्न गराउन समर्थ हुन्छन् । यदि स्त्री नखच्छेदन, दन्तच्छेदन आदि गर्न चाहन्न भने उसले पुरुषलाई त्यसो गर्नबाट रोक्नुपर्छ तर पुरुषले नखच्छेदन आदि गर्न रुचाउँदैन भने स्त्रीले पुरुषलाई दुई गुना बढ्ता वेगले नखच्छेदन आदि गर्नुपर्छ—
वार्यमाणश्च पुरुषो यत् कुर्यात् तदनुक्षतम् ।
अमृष्यमाला द्विगुणं तदेव प्रतियोजयेत् ।।
(पूर्ववत्, २।५।३८)

पुरुषले नखच्छेदन आदि गर्न नचाहेका खण्डमा स्त्रीले क्रुद्ध हुँदै आफूलाई प्रेमयुद्धमा प्रवृत्त गराएर विन्दुको बदलामा माला र मालाको बदलामा अभ्रखण्डक दन्तच्छेदन गर्न अग्रसर हुनुपर्छ । पुरुषका बालहरू पक्रेर आलिङ्गन गर्दै एकदम कडा तरिकाले ओठहरूमा चुम्बन गर्नुपर्छ जसबाट पुरुष अत्यन्त कामोत्तेजित भएर स्त्रीका अङ्गलाई नखच्छेदन गर्न प्रवृत्त हुन सकोस् । पुरुषका छातीमा बसेर स्त्रीले पुरुषको मुखलाई माथि उठाई गर्धनका नजिकमा मणिमाला चिह्न अंकित हुने गरी दन्तच्छेदन गर्नुपर्छ ।

स्त्री–पुरुषका बीचमा रातका समयमा भएको प्रेमयुद्धपश्चात् उज्यालो भएपछि पुरुषले स्त्रीलाई दन्तच्छेदन र नखच्छेदनद्वारा भएका आफ्ना खतलाई देखाउँदै ‘यिनलाई मैले कसरी लुकाऊँ ?’ भनेर सोध्यो भने स्त्रीले मन्द मन्दरूपमा मुस्कुराउँदै ‘तिमीले नै पहिला प्रेमयुद्धमा प्रवृत गराएका थियौ, अब त्यसको फल चाख’ भनेर उत्तर दिनुपर्छ । साथै स्त्रीले कृत्रिम क्रोध प्रदर्शित गर्दै आफ्ना कोमल अङ्गमा दन्तच्छेदनद्वारा पुरुषले बनाएका खतलाई देखाउँदै ‘तिमीसँग यसको बदला लिनेछु’ भन्नुपर्छ । यस किसिमको प्रेमयुद्ध वास्तविक नभएर कृत्रिम वा देखावटी हुनुपर्छ । ‘परस्परानुकूल्येन तदेवं लज्जमानयोः, संवत्सरशतेनापि प्रीतिर्न परिहीयते’ (पूर्ववत्, २।५।४४) अर्थात् यस किसिमले जुन स्त्री र पुरुष एकआपसमा लजाउँदै प्रेम गर्छन्, त्यस्ता स्त्री र पुरुषको प्रेमसम्बन्ध एक सय वर्षसम्म पनि टुट्न सक्तैन । तसर्थ देशाचारलाई बुझ्दै पति र पत्नीले एकअर्काको मनोभावनालाई बढ्ता महत्त्व दिएर राख्ने यौनसम्बन्धले नै परिवारलाई मात्र होइन समाज, देश र विश्वलाई समेत स्वस्थ बनाउँछ ।
(गैंडाकोट–१, विकासचोक, नवलपुर)

Share.

Leave A Reply