देवीभक्तको कृति देवीलाई अर्पण

0


गैँडाकोट, २६ माघ । बरिष्ठ विद्वान प्राध्यापक देवीभक्त ढकालको “धार्मिक पर्यटन ः धर्म पर्यटन र स्वास्थ्यको त्रिवेणी” नामक पुस्तकको शनिबार कालिकार्पण गरिएको छ । मौलाकालिका भगवती माताको चरणमा पुस्तक अर्पण गरी पुस्तक सार्वजनिक गरिएको हो ।
मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, मूल गुरु क्षेत्रप्रसाद अधिकारीले कालिका माताको चरणमा अर्पण गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयको पूर्व प्राध्यापक समेत रहनुभएका ढकालले नवलपरासीमा उच्च शिक्षाको सुरुवात गर्नुभएको थियो । ३१ वर्ष अघि नवलपरासीको कुमारवर्ती क्याम्पसमा उच्च शिक्षा सुरु गर्नुभएका ढकालले यस क्षेत्रको धार्मिक क्षेत्रहरुलाई नजिकबाट नियाल्नुभएको थियो ।
धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना, मौलाकालिकाको भूमिका लगायतका विषयवस्तु समेटेर पुस्तकको रचना गरिएको कृतिका लेखक देवीभक्त ढकालले बताउनुभयो । पुस्तक कालिकार्पण कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले कृतिमाथि समिक्षा गर्नुभएको थियो । चितवन साहित्य परिषदका उपाध्यक्ष जगन्नाथ पण्डितले प्राध्यापक दामोदर रिजालको समिक्षालाई बाचन गर्नुभएको थियो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिरको गरिमालाई पुस्तकले झन् बढवा दिएको बताउनुभयो ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको आयोजनामा भएको कार्यक्रमको सह आयोजक त्रिवेणी साहित्य परिषद रहेको थियो । कार्यक्रममा इन्द्रराज पौडेल, रामहरी शर्मा सराह लगायतको उपस्थिति रहेको थियो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष काशिनाथ सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा कालिकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।

Share.

Leave A Reply