देवचुली नगरपालिकामा पारदर्शी छ : नगरप्रमुख श्रेष्ठ

0


४७९ योजनाहरुमध्ये ४३९ वटा सम्झौता
वित्तीय लक्ष्य जम्मा २५ प्रतिशत
गाविस हुँदा खासै विकासको अनुभूति गर्न नपाएका देवचुली नगरवासीहरुले नगरपालिका बनेपछि छिटै र ठूलाठूला विकासको सपना साँचेका थिए । नगरपालिका बनिसकेपछि भएको निर्वाचन र स्थानिय तह बनिसकेपछि समृद्ध नगरपालिका बन्ने विश्वास धेरैको छ तर नगरमा चालु आर्थिक वर्षको २ महिना मात्रै बाँकी रहँदा कूल योजनाको रकममा २५ प्रतिशतमात्रै वित्तीय लक्ष्य प्राप्त भएको छ । यसले पनि योजना सम्पादनमा ढिलाइ भएको देखिन्छ । प्रतिनिधि आएको पनि करिब २ वर्ष बितिसकेको छ । यो समयसम्म देवचुली नगरको विकास र सुशासनका लागि भएका प्रयास र आगामी ३ वर्षको योजनासँगै आर्थिक वर्षको समीक्षासहित हामीले देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उहाँसँग विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादित अंश
यहाँलाई हार्दिक स्वागत छ
धन्यवाद
देवचुली नगरपालिकाको विकास निर्माण कसरी अघि बढिरहेका छन् ?
देवचुली नगरपालिकाको विकास निर्माणका काम जसरी अघि बढ्नुपर्ने थियो त्यसरी अघि बढ्न सकेको छैन र पनि जुन ढंगले भइरहेको छ त्यो सन्तोषजनक नै रहेको छ काम अघि बढिरहेका छन् ।
देवचुली नगरपालिकाको वार्षिक कार्यप्रगतिलाई कसरी समीक्षा गर्नुहुन्छ ?
हामीहरुको पूर्वाधार विकासतर्फ नगरस्तरीय ९७ वटा योजनाहरु छन् । ३ सय ८२ वडा स्तरीय योजनाहरु रहेका छन् । यी ४ सय ७९ योजनाहरुमध्ये ४ सय ३९ वटा सम्झौता भइसकेका छन् । सम्झौता भएका योजनामध्ये २५ प्रतिशत वित्तीय लक्ष्य रहेको छ । अरु योजनाका काम भइरहेका छन्


योजना सम्पादनमा ढिला भएजस्तो लाग्दैन ?
काम अघि बढिसकेका छन् । थोरै–थोरै बाँकी छन् । अधिकांश योजना सम्पन्न हुने अवस्थामा रहेका छन् । बिल भौचरका काम र रकम जान ढिला र बाँकी देखिएकाले यो रेकर्डमा नदेखिएको मात्रै हो । कामहरु धेरै अघि बढेका छन् । योजना सम्पन्न हुने अवस्थामा नै छन् । वडाका योजना उपभोक्ताबाट नै भएका छन् । बिल भौचर आउन र मिलाउन बाँकी भएकाले यस्तो देखिन गएको हो ।
आर्थिक वर्षको अन्तिममा रकम कसरी खर्च गर्ने भन्ने देखियो । आजसम्म हुन नसकेका काम अब बल्ल हुँदै छन् । असारे बजेटको प्रभावकारिता कस्तो होला ?
त्यसरी हामीले बजेट सिध्याउने काम मात्र गरेका छैनौँ । असारमा गएर भुक्तानी गर्ने गरेका छैनौं । देवचुली नगरपालिका पारदर्शी तरिकाले अघि बढेको छ मेरो नजरमा कहीँकतै नगरपालिकाले कुनै पनि दुई नम्बरी काम गरेको छैन । असारमा भुक्तानीको कुनै काम हुन्न । अब हामीले जेठ महिनामा सबै भुक्तानी गछौँ ।
यहाँको ५ वर्षे कार्यकालमध्ये २ वर्ष व्यतीत हुन लागेको छ । यो दुई वर्षमा भएका महŒवपूर्ण काम के हुन् ?
यो दुई वर्षमा हामीले पूर्वाधरतर्फ बाटो स्तरोन्नति गरेका छौं । छ मिटरदेखि १२ मिटरसम्म पर्खालसहितको बाटो विस्तार गरेका छौँ । ५० प्रतिशत कालोपत्रे बाटो स्तरोन्नतिका काम भएका छन् । अबको ५ वर्षभित्र नगरका सबै बाटो कालोपत्रे हुन्छ । सोही योजनाअनुरुप हामी अघि बढेका छौँ ।
विकास भनेको बाटो भन्दै बढी बजेट खन्याएको देखिन्छ । शिक्षा स्वास्थ्यलगायत अन्य कुरा पनि छन् बाटो कालोपत्रे गर्दैमा समृद्धि हुन्छ ?
हाम्रो देवचुली नगरपालिकामा विकास निर्माणमध्ये पूर्वाधारमात्र हाम्रो ध्यान गएको छैन । नवलपुर जिल्लामा हेर्ने हो भने शिक्षामा सबैभन्दा बढी लगानी गर्ने नगरपालिका भनेको देवचुली नगरपालिका नै हो । मेयर खाजा कार्यक्रमदेखि विभिन्न विद्यालयमा सहयोग गर्ने रकम प्रदान गर्ने गरेका छौं ।
अबको तीन वर्षका लागि नगरपालिकाको सपना के हो ?
अबको तीन वर्षको सपना भनेको नगरपालिकामा रिङरोडको अवधारणा लिएका छौं र त्यो पूरा गर्नेछौं । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको संयुक्त चक्रपथ बनाउने कुरा छ त्यसका लागि प्रदेशमा कुरा भएको छ । लिखित रुपमा नभए पनि डिपिआर गर्ने तयारी भइरहेको छ । अर्कोतर्फ खोलाको सबै डिपिआर भइसकेको छ । सोहीअनुरुप सबै ठाडो खोलाहरुलाई तटबन्धन गरी नगरवासीको जीउधनको सुरक्षामा ध्यान दिएका छौं । राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरबाट हुने क्षति रोक्न रकम विनियोजन गरेर मेस जालीको सुरुवात गरेका छौं । प्रदेशबाट पनि त्यो कामका लागि सपोर्ट हुने आश्वासन पाएका छौं ।
देवचुली नगरवासीले छुट्टै अनुभुति गर्ने तपाईंको तीनओटा प्राथमिकतामा के के पर्छन् ?
हामीले बढी खानेपानीलाई प्राथमिकतामा राखेका छौं । त्यस्तै देवचुली डाँडामा जाने पदमार्गको निर्माण गर्दैछौं र त्यहाँ खानेपानीको व्यवस्था गर्दैछौं । विभिन्न ठाउँमा बोरिङ राख्ने काम भइरहेको छ । वडा नम्बर ४ को झाँक्रेमा पानी पु¥याउने प्रयास गरेका छौं ।
विद्युतीकरणको विस्तार कार्य कसरी हुँदैछ ?
बिजुलीको कुरा गर्ने हो भने कुमसोत, कीर्तिपुर र बाह्रकोलमा लाइन पुगिसकेको छ । अब बन्दिपुरमा मात्र बाँकी छ । बन्दिपुरमा पनि बिजुली पु¥याउने कुरा भइरहेको छ । विद्युत् प्राधिकरणसँग कुराकानी भइरहेको छ ।
नगरको सिंचाइका लागि के हुँदैछ ?
नगरको सिंचाइका लागि वडा नम्बर ९ र १० मा कुलोको काम सुरुवात भइसकेको छ । बोरिङमार्फत प्रत्येक वडामा सिंचाइ पु¥याउने योजनाका साथ लागेका छौं ।
शिक्षा क्षेत्रमा धेरै लगानी गरेका छौं भन्नुभयो त्यो शिक्षाको लगानी के हो ?
विद्यालय भौतिक पूर्वाधारको विकासका लागि रकम विनियोजन गरेका छौं । दरबन्दी पु¥याउन सकिएको छैन । सामान्य समस्या समाधान गर्दै अघि बढेका छौं । बाह्रकोलको विद्यालयलाई व्यवस्थित गर्दैछौँ । बन्दिपुर र कीर्तिपुरका विद्यालयका लागि रकम विनियोजन गरेर काम गरिरहेका छौं । नगरका हरेक विद्यालयलाई आलोपालो आवश्यकता पूर्ति गर्ने गरेका छौं ।
कृषि पकेट क्षेत्र भनेर केही छ ?
हामीले त्यस्तो पकेट क्षेत्र भनेर कुनै कार्यक्रम सुरु गरेका छैनौं । स्थानीयको आकांक्षा नभएर पनि यो कार्यक्रम तय गरेका छैनौं । तर पनि पशुपालन, बाख्रापालन, माछा र तरकारीमा आत्मनिर्भर बन्न सक्छ उनीहरुलाई चेतना अभिवृद्धि गर्ने तयारीमा छौं ।
पर्यटनको प्रवद्र्धनका लागि के तयारी छ ?
पिप्रहर होम स्टे, देवचुली डाडा पर्यटक आउन सक्ने ठाउँ हुन् । होमस्टे राम्रो छ । देवचुलीसम्म जाने बाटाको प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । हामीले यसको डिपिआर तयार गरी अघि बढ्नुपर्ने हुन्छ । हामी त्यो सोचमा रहेका छौं ।
अन्त्यमा के भन्नुहुन्छ ?
हामीले सुशासनका लागि काम गरिरहेका छौं । कर्मचारी अभावमा केही समस्या छ । छिटोछरितो हुन सकेको छैन । हामीले सकेसम्म कुनैपनी सेवाग्राहीले दुःख नपाऊन् भन्ने हिसाबले प्रयास गरिरहेका छौं । प्रमुख प्रशासकीय अधिकृतको सरुवा हेरफेरले पनि हामीलाई गाह्रो भयो । अब यी अधुरा रहेका कामहरु जनताले चाहेअनुरुपका काम गर्दै अघि बढ्नेछौं । जनप्रतिनिधिहरु पनि सकारात्मक हुनुहुन्छ । देवचुली नगरपालिकाको विकास छिट्टै हुने विश्वास दिलाउन चाहन्छु ।
समय र कुराकानीका लागि तपार्इंलाई धेरै धेरै धन्यवाद छ ।
मलाई पनि यो अवसर प्रदान गर्नुभएकामा तपाईं लगायत विजय परिवारलाई मेरो र देवचुली नगरपालिकाका तर्फबाट धन्यवाद छ ।

Share.

Leave A Reply