देवघाटमा पार्कसहित ३० फिट अग्लो शिव मूर्तिको निर्माण सुरु

0

चितवन, कात्तिक ७


धार्मिक पर्यटकलाई लक्षित गरी पवित्र तीर्थस्थल देवघाटधाममा पार्कसहितको अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण कार्य सुरु भएको छ ।

भरतपुर महानगरपालिका–१ को सीताराम माविसँगै दुई बिघा सात धुर जग्गामा शिवमूर्ति, बाल उद्यान, उद्यान, शिव पञ्चायन मन्दिर निर्माण गरिँदै छ । नारायणी नदीबाट जल तानेर शिवको शिरबाट पाउसम्म झरेपछि कुण्ड हुँदै ११ मुखे धाराबाट झारेर स्नान गर्ने व्यवस्था गरिँदै छ ।
देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार शिव मूर्ति निर्माणको काम थालिएको छ । तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए । शिवको मूर्ति तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिसा र सिलभर (सिलौट) बाट निर्माण गरिनेछ । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार मूर्ति निर्माणका लागि मात्रै चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उनले भने, ‘धार्मिक पर्यटकलाई लक्षित गरी हामीले मूर्ति बनाउँदैछौँ ।’

प्रतिष्ठानका निवर्तमान अध्यक्ष राजेन्द्र पियाका अनुसार ४० फिट चौडा, ४० फिट लम्बाइ र नौ फिट गहिरो खाडलको छेउछेउमा शिव पञ्चायन मन्दिर र १०८ शिव लिङ्ग हुनेछन् । बीच भागबाट शिव मूर्ति निर्माण गरिनेछ । जमिनको सतहबाट ३० फिट अग्लो अष्टधातुको मूर्ति निर्माण गरिने उनले बताए ।

नारायणी नदीबाट पानी तानेर शिवको शिरबाट पाउँ (खुट्टा) हुँदै तीनवटा कुण्डमा जम्मा हुनेछ । पियाका अनुसार कुण्डबाट १०० मिटर पर पानी तानेर ११ वटा गौमुखे धाराबाट झारिने छ । ती धारामा भक्तजनले स्नान गर्न सक्नेछन् । नजिकै एउटा बाल उद्यान र अर्को सबैका लागि हुने गरी उद्यान निर्माण गरिनेछ । अत्याधुनिक ढङ्गबाट एक सय जना मानिस बस्न सक्ने क्षमताको धर्मशाला निर्माण पनि गरिने उनले जानकारी दिए।

प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार विभिन्न ठाउँमा धाञ्याञ्चल महायज्ञ लगाएर रु ५४ लाख सङ्कलन गरिएको छ । प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भएको र सङ्घीय सरकारको पर्यटन मन्त्रालयसँग अपुग रकम माग गरिएको छ । विभिन्न दाताले सहयोगका लागि चासो देखाएको उनले बताए । सबै काम सम्पन्न गर्न रु आठ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । पवित्र तीर्थस्थल देवघाट आउने भक्तजनका लागि यो पार्कसहितको शिव मूर्ति आकर्षक हुने र यसबाट यहाँको धार्मिक पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

Share.

Leave A Reply