देवघाटको विकासका लागि एक करोड विनियोजन, गैँडाकोट हर्दी हुँदै देवघाट जोड्ने सडक निमार्णका लागि पचास लाख

0

चितवन । हिन्दूहरुको पवित्र धार्मिर्क क्षेत्र देवघाटको संरक्षण र पूर्वाधार विकासका लागि सरकारले एक करोड रूपैयाँ विनियोजन गरेको छ ।देवघाटमा रहेको पुरातात्विक संरचना पवित्र गलेश्वर आश्रमको संरक्षणका लागि सरकारले ५० लाख रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै सडक संरचना विस्तारका लागि थप ५० लाख रूपैयाँ विनियोजन भएको छ ।
देवघाटका गलेश्वर आश्रम तथा मन्दिरलाई तनहुं तर्फ त्रिशूली नदीले कटान गरी धरापमा परेपछि देवघाट क्षेत्र विकास समितिले सरकारलाई बजेट माग गरेको थियो । सोहीअनुरुप नदी कटान रोकथामका लागि वन मन्त्रालयले पचास लाख रूपैयाँ विनियोजन गरेको हो ।
विनियोजित पचास लाख रूपैयाँ जिल्ला वन कार्यालय तनहुँमार्फत खर्च हुने छ । जिल्ला वन कार्यालयका संरक्षणकर्ता तथा इञ्जिनियरको निगरानीमा कटानक्षेत्रमा तटबन्ध निर्माण गरिने छ । वनमन्त्री शंकर भण्डारीले नदी कटान संरक्षणका लागि वजेट विनियोजन गरिदिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
त्यस्तै, गैँडाकोट हर्दी हुँदै देवघाट जोड्ने सडक निमार्णका लागि सरकारले पचास लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । योसँगै तनहुँ नवलपरासी र चितवनको सीमामा रहेको देवघाटधाम पुग्न सहज हुनेछ ।
यसैबीच समितिले भरतपुर आँपटारी देवघाट सडक विस्तार र स्तारोन्नतिका लागि उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई ध्यानाकर्षणपत्र बुझाएको छ । देवघाटको विकास, सडकको स्तरनोन्नति र ढल निमार्णका लागि स्थानीय विकास मन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको पौडेलले जानकारी दिए । चितवन पोष्टबाट

Share.

Leave A Reply