दुर्गा भवानीको प्रसाद र मान्यजनको आशिर्वाद ग्रहण गरि आज नेपालीहरुले विजयदशमी पर्व मनाउँदै

0


गैँडाकोट, २ कार्तिक । दुर्गा भवानीको प्रसाद र मान्यजनको आशिर्वाद ग्रहण गरि आज नेपालीहरुले विजयदशमी पर्व मनाउँदैछन् । शुक्रबार बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिएको छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।
रावणमाथि राम भगवानको विजय, महिषासुर माथि देवी भगवतीको विजय भएको दिनका रुपमा विजयदशमी मनाउने धार्मिक महत्व रहेको छ । यसका साथै यस पर्वलाई असत्यमाथि सत्यको जित भएको पर्वका रुपमा मनाउने यस पर्वको ठूलो महत्व रहेको श्रीवैष्णव महिला परिषद नवलपरासी जिल्ला अध्यक्ष, श्रीवैष्णव सम्प्रदायकी प्रखर वक्ता तथा श्रीमद्भागवत बाचिका यशोदा आमाजीले बताउनुभयो ।

श्रीमद्भागवत वाचिका यशोदा आमाजीका अनुसार शिरमा जमरा र टिका ग्रहण गर्नाले आत्मिक तथा मनोवैज्ञानिक शितलता प्राप्त हुने बताउनुभयो । जमराको ग्रहण गर्ने परम्परा धार्मिक पक्षबाट मात्रै नभएर वैज्ञानिक तवरले पनि स्वास्थ्य सहयोगी रहने बताउनुभयो ।

Share.

Leave A Reply