दुईसय सोलारले वडा उज्यालो बन्छ – कंडेल

0

गैँडाकोट वाड नं. ५ लाई चर्चित बजारको रुपमा विकास गर्ने सपना संगाल्नुभएका वडा अध्यक्ष नवराज कंडेलले गैँडाकोट ५ का नारायणी किनारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सपना समेत देख्नुभएको छ । रमाइला वडा अध्यक्षका रुपमा परिचित कंडेलले आफ्ना सपना राती नभएर दिउँसै देखेको बताउनुहुन्छ । गैँडाकोट ५ लाई चर्चित बजारका साथै उज्यालो वडा बनाउने योजना बनाएका कंडेलसंग थप योजनाका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ सम्पादक श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादीत अंश ।
यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद,
हिजो आजको व्यस्तता चाँहि के छ ?
व्यस्तता छ, व्यस्त भइने रहेछ ।
व्यवसायिक जीवन व्यस्त कि राजनीतिक जीवन व्यस्त हुने रहेछ ?
राजनीतिक जीवन बढी व्यस्त हुने रहेछ । व्यवसायिक क्षेत्रमा स्टाफको भर पर्दा पनि हुने । तर यस क्षेत्रमा आफै सक्रिय हुनुपर्ने रहेछ ।
वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ, चुनाव जित्न साह्रै सजिलो हुने रहेछ ?
सजिलो भन्दा पनि सामाजिक हुनुपर्ने रहेछ ।
काँग्रेसको पकड रहेको वडामा नवराजले अप्रत्याशित नतिजा पनि भन्छन मान्छेहरु ?
मान्छे एकल राजनीति भन्दा पनि सामाजिक हुनुपर्ने रहेछ । काम गर्ने बेलामा कुनै पार्टी नहेरी सबैलाई सहयोग गरियो भने जनता भोट हाल्न तत्पर हुने रहेछन् ।
राजनीतिक जीवन टिकट पाएपछि नै सुरु भयो है ?

हैन पहिले देखिनै राजनीतिमा प्रवेश गरेको हुँ ।
सक्रिय राजनीति चाँहि टिकट पाएपछि नै सुरु भयो हैन त ?
सक्रिय भन्दा पनि नशा लाग्यो राजनीतिको ।
नशाले राम्रै काम गरेछ, चुनाव सजिलै जित्नुभयो त ?
केही साथीहरुले चिढ्याउनुभयो । नवराजले दुई सय मत ल्यायो भने गैँडाकोटै छोड्छु भन्नुभयो । मलाई यो कुराले पिन्च गर्यो । हैन मैले जीवनमा राम्रै काम गरेको छु जस्तो लाग्द्थ्यो, हैन साह्रै राम्रो नराम्रो काम त गरेको थिइन । लौन जनताले मलाई कसरी हेर्दा रहेछन् जान्न मन लाग्यो अनि राजनीति र चुनावमा होमिए ।
व्यवसायमा सफलता प्राप्त गर्दै हुनुहुन्थ्यो, एक्कासी राजनीतिमा आउनुभयो किन ?
राजनीति भनेको समाज सेवा हो । हरेक व्यवसायमा लागेका सबै व्यक्तिको अन्तिम लक्ष्य भनेको समाजको सेवा नै रहेछ ।
अब व्यवसाय गर्ने रहर पुग्यो ? तृप्त हुनुभयो ?
यस्तो होइन, मलाई धेरै धनि हुनु छैन, मेरो छोरा डाक्टर भइसक्यो, छोरीको पनि विहेदान गरिसके, एकल जिन्दगी हो भन्नुको मतलब बुढाबुढी मात्रै हो, मलाई लाग्छ दुई चारवर्षपछि छोराले पाली हाल्छ ।
अब धनको धनि होइन कि मनको धनि हुन मन लाग्या हो ?
एकदम ठीक भन्नुभयो । समाजको लोकप्रिय हुन मन छ मेरो ।
अहिले वडा अध्यक्षका जति पनि काम कर्तव्य र अधिकार छन्, ती सबै वडाको विकासकष्लागि प्रयाप्त छन् ?

पहिले वडा अध्यक्ष स्थापित मात्रै हुन्थ्यो, अहिले वडा अध्यक्षलाई धेरै अधिकार दिएको छ, यो भन्दा बढी अधिकार दिइयो भने पनि बिग्रिन्छकी जस्तो लाग्छ मलाई । यसलाई प्रयोग गरेर हेरौँ पहिले यो पनि काफि छ जस्तो लाग्छ मलाई ।
अधिकारमध्ये के चाँही राम्रा छन् जस्ता लाग्छ ?
राम्रो नराम्रो भन्दा पनि महशुसको कुरा हो । कर्मचारी हुँदा स्थानीयका समस्या कम बुझिन्थे, उनिहरु यहाँका हुँदैनथे । जनप्रतिनिधिले त जनतालाई राम्रो संग बुझेको हुन्छ चिनेको हुन्छ । तसर्थ सिफारिस गर्नुपर्ने जति पनि अधिकार प्रत्यायोजन गरिएको छ यसले गाउँलेलाई धेरै सजिलो बनाएको छ ।

गाउँलेलाई सहजता मात्रै होइन्, उनिहरुले वडामा धेरै समस्या भएको बताएका छन् । बाटो घाटो केही ठाँउमा छैनन् भएका पनि विग्रीएका छन्, भन्ने वडाबासीको यहाँलाई प्रश्न छ ।
मेरो पहिलो प्राथमिकता भनेकै बाटो बनाउने, भएका बाटोका स्तरउन्नती गर्ने हो । आफ्नै जनश्रमदान र नगरको सहयोगमा निर्माधिन बाटोहरुको समेत स्तरोन्नती गर्नुपर्ने पनि छ । पहिलो प्राथमिकता भनेको बाटो पिचहो । आगामी वर्ष बाटो पिच हुन्छ । ढलनिकास पनि गराउँछु, जसले ढल निकास नबनाई बाटो पिच गर्ने योजना ल्याउनुहुन्छ, हामी सहयोग गर्दैनौँ । बाटोकष्लाग िढल निकासको योजना पनि साथमा ल्याउन वडाबासीसंग आग्रह समेत गर्दछु ।
दुव्यर्सनीको समेत समस्या भएको वडाबासीको कुरा छ । यो समस्या कसरी हल गर्ने ?
मैले केही दिन अघि टोलसुधार समितिका साथीहरुलाई भेलामा बोलाएको थिएँ । टोल सुधार गर्ने टोलसुधार समितिको काम हो । प्रहरी प्रशासनको साथ र मेरो सहयोग चाहियो भने हामी तत्पर छौँ । टोलसुधार समितिका सदस्यहरुले पहल गर्न यसमा मेरो अनुरोध पनि छ ।
वडा भेलाले वडाको विकासका लागि के के योजना ल्यायो ?
-भौतिक पूर्वाधारको विकास गरी आगामी ५ वर्षमा वडालाई सुविधा सम्पन्न वडा बनाउने ।
-वडालाई वातावरणमैत्री वडा बनाउने ।

– उज्यालो वडा बनाउने
– बालमैत्री वडा बनाउने
– वडालाई तरकारीमा आत्मनिर्भर बनाउने
– युवालाई आयआर्जनतर्फ उन्मुख गराउने
– गरिब, विपन्न, दलितका विद्यार्थीलाई निशुल्क शिक्षा
-दैनिक प्रशासनिक काम गर्न आचारसंहिता बनाउने
-स्वास्थ्य एवं स्वयंसेविका कार्यक्रम संचालन गर्ने
सुविधासम्पन्न र भौतिक पूर्वाधारको बिकास वडामा कसरी गर्ने ?
पहिलो चरणमा भत्केका बाटोघाटो बनाउने काम गर्नेछौँ, जुन जनतको जनश्रमदानबाट बनेका छन् । ग्राभेल छैन भने ग्राभेल गरिने छ । जहाँ बत्ति पुगेको छैन त्यहाँ बत्ति पुर्याउने काम हाम्रो प्राथमिकतामा परेका छन् । यस्तो कुशुमनगरको रिंगरोड पनि हाम्रै कार्यकालमा पुरा गराउने सोच राखेका छौँ । राधाकृष्ण मन्दीरको माथिल्लो भवन छ त्यसलाई दिवा बृद्धाश्रमको रुपमा विकास गरिने छ । कुशुमनगरमा स्नान घाटको निर्माण तत्काल गर्ने काममा परेका छन् ।
अहिले तत्काल स्तरोन्नती गर्नै पर्ने बाटो चाँही कुन छ ?
गैँडाकोट नगरपालिका पछाडि पशुपति टोलमा बाटो मर्मत गर्नै पर्ने छ । यस्तै पतनादेवी मार्गको विवाद मिलाएर यस पटक त्यसमा काम गर्ने सोच बनाएका छौँ ।
उज्यालो वडा चाँहि कसरी बनाउने योजना हो ?
स्थानीय तवरबाट र नगरसरकारको सहयोगबाट यो योजना अघि बढाउने सोच छ । गैँडाकोट नगरपालिकाको पहलमा चीन सरकारबाट पाँचसयवटा सोलारहरु फेरी भित्रिन लागेको छ भन्ने मैले सुनेको छु । नागरिक स्तरबाट पैसा उठाउनसक्षम वडाको रुपमा पनि गैँडाकोट ५ लाई हेरेको छु । मुख्यराजमार्गलाई छोइएका सडकहरुमा सोलारको पहिलो प्राथमिकतामा पर्ने हुन्छ ।
खर्च कति लाग्ला उज्यालो वडा बनाउन ?
ठ्याक्कै हिसाब त गरेका छैनौँ । तर जनस्तरबाट एउटा सोलारबत्तिका लागि रु १५ हजार उठाउन पर्दछ बाँकी नगरपालिकामा आएको अनुदानले सहयोग गर्ने कुरा रहन्छ ।
उज्यालो वडा बनाउन कति सोलार चाहिन्छ ?
गैँडाकोट ५ लाई उज्यालो वडा बनाउन करिब दुई सय सोलार जडान गर्न सकियो भने काफि हुन्छ जस्तो लाग्छ ।
बालमैत्री वडा बनाउन केके कुरामा सुधार गर्नुपर्दछ ?
यो बालमैत्री वडा बनाउन धेरै चुनौती पनि छ । समग्रमा भन्दा बच्चाहरुका लागि बालउद्यान टोलटोलम बनाउने योजना छ । आफ्नो वडा भित्रका सबै विद्यालहरुलाई पनि बालमैत्री बनाउनुआवश्यक छ । सजिलो के छ भने अब उहाँहरुले पनि चासो देखाउनुभएको छ । यसकालगि सबैको साथ र सहयोग चाहिन्छ । अब अनुगमनका लागि अब हामी छौँ । पहिले पो नवराजले भनेको कसैले सुन्दैनथ्यो, अहिले त सबै वडाबासीको नवराज हो, सबैले बालमैत्री बनाउने कुरामा सहयोग गर्नुहुन्छ भन्ने विश्वास गरेको छु ।
तरकारीमा आत्मनिर्भर वडा बनाउन सकिएला ?
सकिन्छ, व्यवसाय गर्ने भनेका होइनौँ, आफ्नो किचनकालागि आफै उत्पादन गर्ने सोच बनाएकालाई सहयोग गछौँ । उहाँहरुलाई राम्रो विऊ, मल अनुदानमा उपलब्ध गराउने सन्दर्भमा यस कार्यक्रमको सहयोग रहन्छ । जसले राम्रो करेसाबारी बनाउनुहुन्छ उहाँहरुलाई पुरस्कार समेत दिनेछौँ । अर्को आर्थिक वर्षबाट यो कार्यक्रम सुरु हुने छ ।
वडाको विकासका लागि तँपाईको आफ्नो व्यक्तिगत सपना छैन ? वडाको विकासकालागी गर्नै मन लागेको कुरा चाहिँ के छ ?
मेले देखेको सपना, गैँडाकोट नगरपालिकामा कुनै चर्चित बजार नै छैन, नारायणगढ बजारमा भर परिरहेका छौँ । हाइवे धेरै समेटेको वडा पनि हो । यहाँका मानिसहरु सक्षम पनि छन् । यस वडालाई चर्चित र व्यवस्थति बजार बनाउने सोच छ । हेटौँडाका मान्छेले भनुन न आज गैँडाकोटको बजार जाने हो । सानो चर्चित सिटी बनाउन सकिन्छ कि भनेर सधैँ दिमागमा खेलीरहेको छ । अर्को नारायणी छेउको बाटोमा रिंगरोड बनाएर खाली जग्गामा होटल रिसोर्ट खोल्न सकिन्छ । टुरिजमका लागि पनि वाड नं. ५ को विकास गर्न सकिन्छ जस्तो लाग्छ । यो राती देखेको सपना होइन, दिँउसो देखेको सपना हो । अहिले पनि मेयरसाब संग यही विषयमा कुरा गरिरहन्छु । दाताहरु ल्याएर भएपनि यो गर्न सकिन्छ भन्ने अध्ययनले पाएको छु । गैँडाकोट ५ मा चर्चित बजार बनाउने मेरो सपना छ ।
वडा कार्यालय नहुँदा केही समस्या परेको छ ?
गैँडाकोट नगरपालिकाको कार्यालय वाड नं. ५ मै पर्ने भएकाले अहिले नगरापालिकाको कार्यालयभित्रै बाट कामकाज सुरु भएको छ । नजिक भएकाले मेरो वडाका वडाबासीलाई खासै समस्या परेको भेटेको छैन ।
समय र विचारका लागि धन्यवाद,
वडाका समस्या समाधान अनि योजनाकाविषयमा कुराकानी गर्ने अवसर दिनुभयो, यसका लागि विजय एफ एम र विजयखबरलाई धन्यवाद ।

Share.

Leave A Reply