दिल्लीबाट १६ नेपाली महिलाको उद्धार

0


काठमाडौँ, १९ श्रावण । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आर्कषक रोजगारीका नाममा विभिन्न देशमा बेचिन लागेका १६ नेपाली महिलाको उद्धार गरेको छ । दिल्ली महिला आयोगको सहयोगमा विभिन्न देशमा घरेलु कामदारका रूपमा पठाउन भन्दै भारतको दिल्लीका विभिन्न ठाउँमा बन्धक बनाएर राखिएका ती महिलालाई उद्धार गरी सीआईबीले आ–आफ्नो घर पठाएको जनाएको छ । सीआईबीका प्रहरी उपरीक्षक एवम् प्रवक्ता कृष्णहरि शर्माले उद्धार गरेर स्वदेश ल्याइएका १६ जना महिलासँगको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला स्वेच्छाले विदेशमा आकर्षक कमाउने प्रलोभनमा परेर त्यहाँसम्म पुगेको पाइएको जानकारी दिनुभयो । सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार ती महिलामध्ये पाँच जनाबाहेक अन्य सबै जना दोस्रो, तेस्रो र पाँचौँ पटक सोही प्रक्रियाबाट रोजगारीका लागि विदेश जान लागेको पाइयो । विदेशमा आकर्षक कमाइ हुने प्रलोभनमा परेर गएका ती महिलाको उमेर २२ देखि ४६ वर्ष रहेको छ । नेपालको दलालमार्फत भारतको दलालको निगरानीमा त्यस ठाउँमा राखिएको पनि सोही अनुसन्धानका क्रममा जानकारी भएको सीआईबीले जनाएको छ । अझै केही महिला भारतको जेलमा रहेकाले उद्दारको प्रक्रिया चलिरहेको छ ।

Share.

Leave A Reply