दलित आयोगको पदाधिकारी नियुक्तिमा ढिलाइ

0

काठमाडौँ, ९ चैत । विभिन्न राजनीतिक दलका नेताहरुले लामो समयदेखि पदाधिकारीविहीन रहेको राष्ट्रिय दलित आयोगमा छिटो पदाधिकारी नियुक्ति गर्नुपर्ने माग गर्नुभएको छ ।

आयोगद्वारा यहाँ आयोजित ‘राष्ट्रिय दलित आयोगको भावी कार्यदिशा’ विषयक दुई दिने कार्यशाला गोष्ठीको समापनमा विभिन्न दलमा आबद्ध दलित नेताले एक वर्षदेखि आयोग पदाधिकारीविहीन हुँदा सिङ्गो दलित समुदायमा नकारात्मक प्रभाव परेको भन्दै चाँडो नियुक्त गर्नुपर्ने माग गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तिलक परियारले सरकारले अन्य संवैधानिक आयोगका अध्यक्ष नियुक्ति गरेपनि दलित आयोगमा अहिलेसम्म अध्यक्ष नियुक्ति गर्न नसकेको गुनासो गर्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद मानबहादुर विश्वकर्माले उपेक्षित, उत्पीडित दलित वर्ग विकास समिति र वादी समुदाय उत्थान विकास समितिलगायत दलित समुदायको मुक्तिका लागि स्थापना गरिएका कुनै पनि समिति खारेज गर्न नहुने बताउनुभयो ।

काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं सांसद लक्ष्मी परियारले सरकारले दलित आयोगलाई पहिलो प्राथमिकतामा राखेर पदाधिकारी नियुक्ति गर्नुको सट्टा ढिलाइ गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । पूर्वसांसद पर्शुराम रम्तेलले पछिल्लोपटक जातीय विभेद तथा छुवाछूतका घटना बढ्दै गएकाले सरकारले पदाधिकारी नियुक्ति गर्न ढिलाइ गर्नु दुःखको विषय हो भन्नुभयो ।

सांसद पार्वती विशुङ्खेले दलित आयोगका पदाधिकारी नियुक्त हुन नसक्दा सिङ्गो दलित समुदाय सेवा लिनबाट बञ्चित हुने गरेको बताउनुभयो । दलित समुदायका अगुवा पद्मलाल विश्वकर्मा, डा बुद्धि नेपाली विराट र रणबहादुर रम्तेललगायतका दलितमाथिको उत्पीडन तथा जातीय भेदभावप्रति सरकार गम्भीर नभएको गुनासो गर्नुभयो ।-रासस

Share.

Leave A Reply