त्रिवेणी साहित्य परिषद्को ३०औं स्थापना दिवश एवम् काव्य वाचन कार्यक्रम सम्पन्न

0

गोविन्द रिमाल, आइतबार एक कार्यक्रमका बीच नवलपरासीको पुरानो साहित्यिक संस्था त्रिवेणी साहित्य परिषद्को ३०औं स्थापना दिवशको अवसरमा साहित्यिक विमर्श एवम् काव्यवाचन  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिब २ दर्जन स्रष्टाहरुले कविता पाठ गरेका थिए । कार्यक्रममा स्रष्टाहरुले राष्ट्रिय धान दिवशलाई परिलक्षित रचनाहरु सुनाएका थिए । स्रष्टाहरुले पछिल्लो समय सहरमा देखाउनको लागि धान दिवस मनाइरहँदा गाउँबेसीका खेतहरुमा बाँझै रहेको तथ्य प्रस्तुत गरेका थिए । असार पन्ध्र बितिसक्दा पनि तराईमा ६ प्रतिशत र पहाडमा मुस्किलले २६ प्रतिशत मात्र रोपाई हुनु दुर्भाग्य भएको बताउँदै साहित्यकार केदारनाथ खनालले मौसममा आएको प्रतिकूलतालाई विचार गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै अर्का कवि रामहरि शर्मा सराहले मन्त्री महोदयले गमलामा धान रोपेको दृश्यमा धान दिवसले चित्त बुझाएको बताउनुभयो । त्यसैगरी असारे भाकामा आफ्नो गीत सुनाउँदै लोक स्रष्टा उदयनाथ रेग्मीले सबैको ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा कर्णप्रिय आवाजकी धनी युवा प्रतिभा गुराँस ठकुरी, साहित्यकारहरु गोविन्दराज विनोदी, सरला जोशी, धर्मानन्द शर्मा पौडेल, गायत्री श्रेष्ठ, केशवराज आमोदी, कृष्णादेवी श्रेष्ठ, माधवप्रसाद चालिसे, धनपति कोइराला, लकास पौडेल, भूमिश्वर सापकोटा, इन्द्रराज पौडेल, उजिर राना मगर, बन्धुराज कोइराला लगायतले धान दिवशसँग सम्बन्धित रचना पाठ गरेका थिए । कार्यक्रम त्रिवेणी साहित्य परिषदका सचिव गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न भएको हो । उहाँले छिट्टै परिषद्ले गति लिने धारणासमेत व्यक्त गर्नुभयो । स्रष्टा रामहरि शर्माको सहजीकरण रहेको सो कार्यक्रम संस्थाका सहसचिव इन्द्रराज पौडेलको निवास गैंडाकोट ५ मा सम्पन्न भएको हो ।

Share.

Leave A Reply